बडिखेल चिनाउँदै स्थानीय

पशुपतिमा आउने पर्यटकलाई प्याकेज टुर बनाएर भ्रमणमा ल्याउने योजना
प्रशान्त माली

ललितपुर — उपत्यकाभित्र गोदावरी आकर्षक गन्तव्य हो । गोदावरी क्षेत्रमै पर्छ बडिखेल । पर्यटकीय गन्तव्यस्थल भए पनि ओझेलमा परेको भन्दै प्रवद्र्धन गर्न बडिखेलवासी जुटेका छन् ।

स्थानीयले तपेश्वर महादेव विकास तथा संरक्षण समिति बनाएर धार्मिक महा–महोत्सव आयोजना गर्न खटिएका हुन् । यहाँको पूर्वी डाँडामा तपेश्वर महादेवको ध्यानस्थल र पुरातात्त्विक महत्त्वका पोखरी छन् ।

एकै ठाउँमा वनदेवी, तपेश्वरलगायत ४ वटा गुफा र परम्परागत मौरी घर यहाँको विशेषता हो । कुनै गुफाबाट कतै तातो कतै चिसो हावाको बहाव आउँछ भन्दा प्रायलाई अचम्म लाग्न सक्छ । यहाँँका स्थानीयले यसलाई दैवी शक्ति महादेवको श्वासप्रश्वास प्रक्रियाको रूपमा लिन्छन् । बाँस (प्याङ) बाट डाला, नाङ्लो बुन्ने छुट्टै भाषा बोल्ने पहरी जातिको गुजुमुज्ज बस्ती यहाँको मुख्य आकर्षण हो ।

बडिखेल पस्मा टोलका ५६ वर्षीय चन्दबहादुर पहरी बाँसको गेट बनाउन छाली काटेर मिलाउँदै गरेको अवस्थामा भेटिए । उनी गेट बनाउन खटेको चार दिन बित्यो । भन्छन्, ‘पहिला महादेवको ध्यानस्थलबाट झरना झथ्र्यो । अहिले डाँडाको पोखरी सुकेकाले बन्द छ । पोखरीलाई जीवन्त दिन सकेमा फेरि पहिलेकै अवस्थामा ल्याउन सकिन्छ ।’

चमस टोलका ३५ वर्षीय राधाकृष्ण, सोम, लक्ष्मण र विजय गेटको छानो राख्न तारले बाँस कस्दै थिए । उनीहरूले गेट बनाउने जिम्मा लिएका हुन् । उनीहरू जस्तै गाउँका अन्य युवा कोही सिढी बनाउन त कोही बाटो खोल्न सरसफाइमा जुटेका छन् ।

तपेश्वर महादेव धार्मिक महा–महोत्सवका सहसंयोजक सन्तकुमार नगरकोटी भन्छन्, ‘एउटा गुफाभित्र महादेव तपस्यामा विलीन भएर बसेको शिला अझै पनि देख्न सकिन्छ । कतिपय गुफा कुन प्रयोजनका लागि बनाइएको भन्ने अध्ययन अनुसन्धानकै विषय छ ।’ उनले महोत्सवले धार्मिक पर्यटक वृद्धि हुने विश्वास व्यक्त गरे । ‘पशुपतिमा आउने पर्यटकलाई प्याकेज टुर बनाएर यहाँ भ्रमणमा ल्याउने योजना छ,’ उनले भने ।

पर्यटकीय गन्तव्य स्थल बनाउन सांसद कोषबाट ५० लाख रुपैयाँ बजेट परेको छ । गोदावरी नगरपालिकाबाट पनि ५ लाख
छुट्याएको छ । नगरपालिकाले सांसद कोषको बजेटमध्ये १० लाखबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन र बाँकी ४० लाखबाट महादेव मन्दिर, भक्तजनका लागि दर्शन गर्न सिढी, पिकनिक स्पट बनाउने योजना बनाएको छ । महादेवको शिला कोडु खोलाबाट एक किमि माथि डाँडामा पर्छ ।

गोदावरी नगरपालिका–४ का वडाध्यक्ष मुकुन्दबहादुर पहरीले ललित घुम्ती सडकबाट ७ सय ५० मिटर लामो सिँढी बनाउने लक्ष्य रहेको बताए । ‘यसका लागि सम्झौता भइसकेको छ,’ उनले भने, ‘डीपीआर तयार भइसकेपछि सार्वजनिक सुनुवाइ गरेर कार्यान्वयनमा ल्याउनेछौं ।’ उनले महादेव र गुफा अवस्थित वनलाई धार्मिक वनका रूपमा विकास गर्ने योजना रहेको बताए । ‘यसका लागि नगरपालिकाबाट आवश्यक बजेटछुट्याउन पहल गरिनेछ,’ उनले भने ।

तपेश्वर महादेव स्थलबाट साढे ६ किमि पूर्वमा कुना खोला पर्छ । त्यहाँबाट महादेव स्थलमा ट्यांकी निर्माण गरी भक्तजन र बस्तीमा पानी वितरण गर्न ऊर्जा मन्त्रालयबाट २० लाख बजेट परेको उनको भनाइ छ । ‘पानी ल्याउन विद्युत् लाइन विस्तार गर्न लगनखेल विद्युत् प्राधिकरणबाट ठेक्कापट्टा भइसकेको छ,’ उनले भने ।

बडिखेलमा पर्यटकका लागि अर्को आकर्षण भनेको बाँसबाट चोया उत्पादन गरी सरसामान उत्पादन गर्ने कलाको अवलोकन हो । यहाँ बाँसका सरसामान निर्माण गरी बेचेर गुजारा गर्ने २ सय परिवार छन् । उनीहरूसँग बाँसबाट नाङ्ला, डाला मात्र नभई प्याक, डस्टबिन, फूलदानी, ब्याच,फ्रेम, चाल्ना, पेन बक्स, घडी, गमला,मसला राख्ने भाडा, टोपीलगायत वस्तु बनाउने सीप पनि छ ।

माझ टोलका ७५ वर्षीय शंकर पहरी भन्छन्, ‘यो पहरीको पुख्र्यौली पेसा हो । कुनै बेला यी सामान क्यानडा, फ्रान्सलगायत युरोपेली मुलुकमा समेत निर्यात हुन्थ्यो । अहिले स्वदेशमै बिक्री हुन छाडेका छन् ।’ उनले यसको संरक्षण गर्न नगरपालिकाले छुट्टै नीति नै तर्जुमा गर्न जरुरी रहेको बताए । ‘पोलिथिनको नाङ्लो, डोको बजारमा आएपछि पेसा झन् संकटमा पर्दै गयो,’ उनले भने, ‘त्यसमाथि बाँस, नाङ्लो बाँध्ने नाइलनको डोरीको मूल्य प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको छ ।’

उनले घरसम्म आएर खरिद गर्ने ग्राहक पनि कम हुँदै गएको बताए । ‘होटल, लज व्यवसायीले पनि सामान किन्न छाडेका छन्,’ उनले भने, ‘यसले युवा पुस्ता निराश हुँदै गएका छन् ।’ बडिखेलबाट फुल्चोकी र लेले मनकामना हाइकिङ गर्ने उपयुक्त मार्ग छ । महोसत्व माघ २७ देखि फागुन ६ सम्म ९ दिन चल्दै छ ।

प्रकाशित : माघ २४, २०७५ ०८:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेलम्चीमा परामर्शदाताले टेरेन

कान्तिपुर संवाददाता

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दुई खोलाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बुझाउन सरकारले दिएको निर्देशनलाई परामर्शदाताले अटेर गरेको छ । 

खानेपानी तथा सरसफाइ मन्त्रालयले तोकेको समयसीमा बित्दासमेत परामर्शदाता कम्पनी इप्सीले डीपीआर बुझाएको छैन । सन् २०१८ को डिसेम्बरसम्म प्रतिवेदन बुझाउन म्याद दिए पनि हालसम्म नबुझाएको मन्त्रालयले जनाएको छ ।

‘विभिन्न विज्ञ र एसियाली विकास बैंक (एडीबी) ले प्रतिवेदनमा केही विषय सच्याएर ल्याउन सुझाव दिएका थिए । दुई महिनाभन्दा बढी भइसक्यो, कुनै प्रतिक्रिया आएको छैन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘चाँडो ल्याए ठेक्का प्रक्रिया अघि बढाउन सजिलो हुन्थ्यो, ताकेता गर्दासमेत बुझाएको छैन ।’

आयोजनाले पहिलोपटक २०१७ को डिसेम्बरसम्म बुझाउन परामर्शदातालाई म्याद दिएको थियो । परामर्शदाताले मौसमका कारण आयोजनास्थलमा जान नसकेको जानकारी गरेपछि मन्त्रालयले पुन: २०१८ को जनवरीसम्मको म्याद थपेको थियो । यसरी पटक–पटक ढिलो गरी बुझाएको प्रतिवेदनमाथि मन्त्रालयका प्रतिनिधि, विज्ञ र एडीबीका प्रतिनिधिले करिब डेढ महिनाअघि ललितपुरको गोदावरीमा बृहत् छलफल आयोजना गरी चाँडो बुझाउन परामर्शदातालाई सुझाएको थियो । नर्वे, क्यानडा, भारतलगायतका मुलुकबाट विज्ञ मगाएर मन्त्रालयले छलफल गरेको थियो ।

मेलम्चीको अम्बाथान (हेडवक्र्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क अम्बाथानमा ल्याएर मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी कुल ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ ।

छलफलका क्रममा सचिव गजेन्द्रकुमार ठाकुरले याङ्ग्री र लार्केबाट मेलम्चीसम्म पानी ल्याउने सुरुङ बनाउन तीन महिनाभित्र ग्लोबल टेन्डर गर्ने बताएका थिए । तर हालसम्म प्रतिवेदन नबुझाएको भन्दै आयोजनाले ठेक्का आह्वानमा ढिलाइ हुने जनाएको छ । माघ अन्तिमसम्ममा ठेक्का आह्वान गर्ने मन्त्रालयको तयारी थियो । ‘ग्लोबल टेन्डर गर्ने तयारी थियो, डीपीआर नै आएको छैन,’ ती अधिकारीले भने, ‘अब ढिलो हुन्छ ।’

सिन्धुपाल्चोकको याङग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी ल्याउनका लागि सुरुङ निर्माणको तयारी भइसकेको आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताए ।

मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । सडकको ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको भन्दै उनले परामर्शदाताले प्रतिवेदन बुझाउनेबित्तिकै टेन्डरआह्वान गरिने उनले बताए ।

प्रकाशित : माघ २४, २०७५ ०८:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT