हराए हिटी

कर्मचारी सञ्चयकोषले व्यापारिक प्रयोजनका लागि बहुउद्देश्यीय कम्प्लेक्स (मल) बनाएपछि नै त्यसको पछाडि रहेको सुन्धारामा पानी सुक्यो ।
शिल्पा कर्ण

काठमाडौँ — प्राचीन कान्तिपुर नगरीभित्रका थुप्रै टोलका नाममा ‘हिटी’ जोडिन्छ । जस्तै मरुहिटी, गा:हिटी, ठहिटी, भोटाहिटी अदि । नेपालभाषामा हिटी भन्नाले धारा भन्ने अर्थ लाग्छ । धारा जोडिएका अन्य स्थान पनि छन्, राजधानीमा ।

नक्सालको भाटभटेनीस्थित ढुंगेधारा । अव्यवस्थित संरचनाले यहाँ पानी सुक्दै गएको छ । तस्बिर : शिल्पा/कान्तिपुर

जस्तै सुन्धारा, तीनधारा, गुर्जुधारा आदि । तर अचेल ‘हिटी’ र ‘धारा’ केवल नाममा सीमित बने । ती स्थानका विशेषताका रूपमा रहेका पानीका मुहान कतै सुके, कतै छोपिए, कतै हराए ।

काठमाडौं महानगरपालिका वडा नं. २० मा पानी नआए पनि चारवटा पुराना सार्वजनिक धारा छन् । एउटामा थोरै पानी आउँछ, बाँकी तीनवटै सुकेका छन् । उमेरले ५५ नाघिसकेका वडाध्यक्ष राजेन्द्र मानन्धरलाई कोहिटीमा ठूलो पानी आउने गरेको सम्झना छ ।

विस्तारै कम हुँदै गयो, हुँदाहुँदा पुरियो नै । ‘भग्नावशेष मात्र थियो, सबै मिलेर सरसफाइ र मर्मत सम्भार गर्‍यौं । पानी त अहिले पनि आउँदैन । मूल कहाँ छ, थाहा छैन,’ वडाध्यक्ष मानन्धरले भने । उनकै वडामा अर्को यस्तै धारा थियो । पाकोमा रहेको उक्त ढुंगेधारा कहिले मन्दिरको स्वामित्वमा ल्याइयो, अहिले एक व्यक्ति त्यहीँको जमिनमुनिबाट पानी झिकेर बेचिरहेका छन् ।

डेढ वर्षअघि जनप्रतिनिधिका रूपमा निर्वाचित भइआएपछि उनले ती व्यक्तिले सार्वजनिक जग्गा मिचेको ठहरसहित कारबाही गर्ने निर्णय गरे । पुरानो ढुंगेधारासँगै ती व्यक्तिको घर थियो । त्यो जग्गा आफ्नो घरको क्षेत्रभित्र पारेर पानी बेच्ने गरिरहेका थिए । उनको व्यवसायलाई अनधिकृत भन्दै ट्यांकी, पाइपलगायतका सामग्री वडाले जफत गर्‍यो । ‘तर उल्टै अब लुटपाटको मुद्दा लाग्यो । अब मन्दिर, ढुंगेधारा सबै उनको घरभित्रै छ,’ मानन्धरले भने । अर्को एक भीमसेनको सुन्धारा, अर्थात सुनको जलप लगाइएको धाराबाट पनि पानी आउन छोडिसकेको छ ।

वडा नं. १ मा तीनधारा भन्ने ठाउँ छ । सेतो मच्छिन्द्रनाथको जात्राका क्रममा खटलाई तीनधारामा पनि लगिन्छ । तर त्यहाँ पनि अब धारा भने छैन । उमेरले ७५ पुग्न लागेका वडाध्यक्ष भरतलाल श्रेष्ठ भन्छन्, ‘महेन्द्र सालिक नजिक त्यहाँ तीनधारा पाठशालासँगै धारा पनि थियो । अहिले फोहोर छ, सबैले त्यहीँ फोहोर फाल्ने भएर छोपिएको छ । तर मूल नभएर होला, पानी रसाउँदैन ।’ सोही वडामा अन्य दुईवटा पुराना ढुंगेधारा छन् । नक्सालस्थित भाटभटेनी मन्दिर नजिकको धारामा मात्र पानी आउँछ, अन्यमा आउँदैन ।

‘यहाँ चैतदेखि जेठसम्म सुक्छ । तर फेरि वर्षात् सुरु हुनेबित्तिकैदेखि ठूलै पानी आउँछ ।’ स्थानीय त्यहाँ नुहाउने, लुगा धुने गर्छन् । त्यहाँको पानी खान मिल्ने मन्दिरका पुजारीले बताए । उक्त वडाकै हात्तीसारमा पनि ढुंगेधारा छ भन्ने सुने पनि वडाका तर्फबाट केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले भने, ‘मान्छेको कम्पाउन्डभित्र पर्छ, त्यसलाई अब सार्वजनिक भन्नै मिल्दैन । अरू ठाउँमा पनि छन्, तर धारा नै छैन ।’

खुसिबु बस्दै आएका पन्नारत्न महर्जनले वरपर थुप्रै ढुंगेधारा देखेर हुर्किए । तर अहिले ती भेटिँदैनन् । ७२ वर्षीय महर्जनका अनुसार उनले सुनेको थँहिटी, बँजाहिटी, निपुरहिटी लगायतका केहीमा पानी सुकिसक्यो, केही धारा नै हराइसके । ‘क्षेत्रपाटीको पूर्वतिरको चोक जाने बाटोमा एउटा बौद्ध स्तूप छ,’ महर्जन दाबी गर्छन्, ‘त्यो थँहिटीमाथि बनाइएको हो । पहिले त्यहाँ पनि ढुंगेधारा थियो ।’

मरुहिटीको उत्तरतिर बँजाहिटी छ । महर्जनका अनुसार महाँकालको पछाडि अहिलेको सैनिक मञ्चतिर पनि पहिले हिटी थियो । ‘भोटाहिटीमा सबवे खन्दा त्यहाँ पानी निस्किएको थियो । पानीको स्रोत वा कुलोझैं संरचना भेटिएको थियो । तर त्यो कुराको वास्ता भएन, निर्माण कार्य चलिरह्यो,’ महर्जनले भने । पानीको जोहो पुर्खाले कसरी गर्थे भन्ने अध्ययन हुनुपर्ने उनी बताउँछन् । ‘केहीले तान्त्रिक विधिबाट राज पुरोहितले मात्र पानी ल्याउन सक्थे भन्थे । हिटीमा पानी ल्याउन सबैले सक्दैनथे,’ महर्जनले भने ।

श्रेष्ठको भनाइमा कर्मचारी सञ्चयकोषले व्यापारिक प्रयोजनका लागि बहुउद्देश्यीय कम्प्लेक्स (मल) बनाएपछि नै त्यसको पछाडि रहेको सुन्धारामा पानी सुक्यो । उनको अनुभवमा अव्यवस्थित संरचना निर्माणले गर्दा पानीका मूल सुकेका हुन् । वडा नं. २० का अध्यक्ष मानन्धर पनि श्रेष्ठका कुरामा सहमत छन् । उनी भन्छन्, ‘पहिले घर निकै कम हुन्थे, हरियाली बढी थियो । अहिले हरियाली कतै छैन, जताततै कंक्रिट संरचना मात्र छन् । पानीको स्रोत नै नभएपछि ढुंगेधारामा पानी नआउनु स्वाभाविक हो ।’

संस्कृतिका अध्येता पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार उपत्यकाका ढुंगेधारा लिच्छविकालबाट अस्तित्वमा आए भने केही मध्यकालमा निर्माण भएका देखिन्छन् । श्रेष्ठका अनुसार मूलको पानी प्रयोग गर्न, विशेषगरी खानेपानी उपलब्धताका लागि ढुंगेधारा प्रयोग हुन्थे । मध्यकालीन सहरी समाजको अभिन्न अंगका रूपमा रहेका ढुंगेधाराले तत्कालीन सामाजिक, सांस्कृतिक परिवेशबारे बोल्छन् ।

‘नेपाल मण्डलभित्र नभई नहुने संरचना थियो ढुंगेधारा । सहरी शोभाका लागि मात्र नभई सामाजिक प्रतिष्ठा र गौरवका लागि पनि विभिन्न किसिमका ढुंगेधारा निर्माण गरिन्थे,’ श्रेष्ठले ढुंगेधाराको महत्त्वबारे भने, ‘दैनिक खानेपानीको आवश्यकता पूर्तिका लागि टोलटोलमा ढुंगेधारा निर्माण गरिएका हुन्थे । चाडपर्व र जात्रमा पनि फरक फरक ढुंगेधारा प्रयोग हुन्थ्यो ।’

भक्तपुरस्थित ९ वटा पूर्वतर्फ फर्केका ढुंगेधाराको उदाहरण दिँदै उनले पानीको स्रोत मासिएकाले ढुंगेधारा मासिएको बताए । भक्तपुरस्थित उक्त धारामा झन्डै ५० वर्षअघिसम्म जनैपूर्णिमाका दिन क्वाँटी खाएर, ९ जोर वस्त्र लगाएर स्नान गर्ने चलन थियो, श्रेष्ठले बाल्यकाल सम्झिए । उनी भन्छन्, ‘अहिले न धारामा पानी छ, न वरपर नुहाउने मान्छे । पानीसँगै मोक्ष प्राप्त गर्ने मान्छे र संस्कृति पनि सुक्यो ।’

यहाँका ढुंगेधारा सुक्नुको मुख्य कारण स्रोत सुक्नु भन्ने धारणा छ उनको । उनले आफूले गरेको अध्ययनअनुसार त्यस्ता धाराका तीन स्रोत हुन्थे । एउटा जमिनमुनिको पानी र अर्को राजकुलो । त्यसैगरी पोखरीका पानी पनि त्यस्ता धाराका स्रोत हुन्थे ।
पानी व्यवस्थापनका लागि भक्तपुरको रानीपोखरी लगायतका पौराणिक पोखरीमा बढी भएको पानी निकासका लागि धारा हुन्थ्यो । कलात्मक बुट्टा कुँदिएका यस्ता धाराले वर्षातमा पोखरीको पानीलाई निकास दिन्थे ।

यस्ता पानीले लुगा धुनदेखि खेतमा सिँचाइसम्म हुन्थ्यो । राजकुलोबाट धारासम्म ल्याइएको पानीलाई पनि धाराबाट ल्याई सर्वसाधारणले प्रयोग गर्थे । राजधानीको भित्री भागमा भने विशेषगरी मूलको पानी ढुंगेधाराबाट आउँथे । मूलको पानी मान्छेले खान प्रयोग गर्ने गरेको श्रेष्ठ बताउँछन् । ‘पहिले पानी व्यक्तिगत हुँदैनथ्यो, सार्वजनिक हुन्थ्यो । ढुंगेधाराको पानी सबैले उपभोग गर्न पाउँथे । अहिले पो ट्यांकीको पानीमा व्यक्तिको स्वामित्व हुन्छ,’ श्रेष्ठले भने ।

जल तथा ऊर्जा आयोगका सह–सचिव माधव बेलबासे मध्यकालीन समयमा कान्तिपुर सहर र त्यसका लागि पानीको आपूर्तिको व्यवस्थालाई उत्कृष्ट नमुना भन्छन् । योजनाबद्ध र वैज्ञानिक पानी व्यवस्थापन प्रणालीलाई अहिले चरम सहरीकरणले बिगारेको उनको भनाइ छ ।

‘हामीले नयाँ सहर विकास गर्‍यौं । तर अहिले पनि यो सहरलाई पर्याप्त पानीको व्यवस्था गर्न सकेका छैनौं,’ उनले थपे, ‘तर पहिले योजनाबद्ध सहरका रूपमा विकसित भएको स्थान हो यो । सिँचाइ, खानेपानी र अन्य प्रयोजनका लागि कसरी, कहाँबाट पानीको व्यवस्था गर्ने भन्ने योजना बनाइएको थियो ।’ अहिले कंक्रिट प्रयोगले जमिनले पानी सोस्न नसक्ने अवस्था भएकाले जमिनमुनिको पानी निकै कम भइसकेको छ । सँगै प्रदूषण पनि निकै बढेको छ । बेलबासे भन्छन्, ‘ती ढुंगेधारा पुनर्जीवित भए पनि पानी पहिले जत्तिको स्वच्छ हुँदैन ।’

अहिले ती ढुंगेधारा संरक्षण अभावमा सहरीकरणका बीच हराइरेका छन् । खुसिबुका महर्जन जनप्रतिनिधि आइसकेको अवस्थामा अब ती ढुंगेधारा ब्युँताउन ढिला गर्न नहुने धारणा राख्छन् । उनी भन्छन्, ‘पहिले धारा वरपर खुला क्षेत्र हुन्थ्यो, हरियाली हुन्थ्यो । फेरि पानी निकाल्न खोज्ने हो भने मुहान नै संरक्षण गर्नुपर्छ । तर त्यो केवल स्थानीय सरकारले गर्ने होइन, केन्द्रीय सरकाले पनि भूमिका निर्वाह गर्नुपर्छ ।’

दीर्घकालीन योजना ल्याएर यहाँको जनसंख्या कम गरेपछि मात्र अव्यवस्थित संरचना हटाउने र पानीको मूल खोज्ने गर्नुपर्छ, उनी सुझाव दिन्छन् । रैथानेको अस्तित्वसँग जोडिएका ढुंगेधारा, हिटी मासिए, परम्परा र संस्कृति पनि मासिने उनको भनाइ छ ।

जलस्रोतविद् बेलबासे यस्ता हिटीलाई ‘स्मारक’ का रूपमा अथ्र्याउँछन् । तर अब यस्ता हिटीलाई पुनर्जीवित गर्नु निकै कठिन हुने उनले बताए । ‘यो मौलिकता हो, सहरको सुन्दरता हो । पानीको उपलब्धतालाई पनि सहज बनाउनेछ । केहीलाई अहिले पनि जीवन दिन सकिन्छ । त्यसका लागि निकै अध्ययन जरुरी छ,’ उनले भने । त्यस्ता हिटीमा आउने पानीको स्रोत धेरैजसोमा राजकुलो हुन्थ्यो । तर अहिले राजकुलो अस्तित्वमा छैन । ‘असम्भव छैन, काम चाहिँ धेरै गर्नुपर्ने हुन्छ,’ उनले भने ।

प्रकाशित : माघ २४, २०७५ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भक्तपुर अस्पताल नयाँ स्वरूपमा

कान्तिपुर संवाददाता

भक्तपुर — मुलुककै दोस्रो जेठो अस्पताल भक्तपुर अस्पतालले नयाँ स्वरूप पाउने भएको छ । वीर अस्पतालपछिको दोस्रो ११४ वर्ष पुरानो भूकम्पले क्षतिग्रस्त भक्तपुर अस्पतालको भवन रेक्ट्रोफिटिङ गर्ने तथा सुविधायुक्त डिपार्टमेन्टसहितको नयाँ भवन थपिने भएको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, बेलायती विकास नियोग (डीएफआईडी) लन्डनका महानिर्देशक रिचार्ड क्लार्कलगायतले अस्पतालको रेक्ट्रोफिटिङ तथा नयाँ भवन निर्माणबारे औपचारिकघोषणा गरेका छन् ।

डीएफएआईडीको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको स्वास्थ्य क्षेत्र कार्यक्रम (एनएचएसएसपी) अन्तर्गत अस्पताल भवन संरचनाहरू रेक्ट्रोफिटिङ गर्ने कार्यक्रम छ । रेक्ट्रोफिटिङअन्तर्गत भूकम्पीय प्रबलीकरण स्वास्थ्योपचारका लागि उपयोगी हुने गरी स्तरोन्नति र खानेपानी, ढल, फोहोर, भित्री हावाको गुणस्तर व्यवस्थापनलगायत समावेश गरेको जनाएको छ ।

नयाँ भवनमा सुविधा सम्पन्न प्रसूति वार्ड, आईसीयू सेवा सञ्चालन, ओपीडी सेवा र पार्किङ व्यवस्थापन गर्ने अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया कक्ष, ओपीडी कक्ष, भान्सा घर, शौचालय, शव गृह तथा पोस्टमार्टम कक्ष, पार्किङ लगायतको भौतिक संरचना निर्माण हुनेसमेत जनाएको छ । अस्पतालको सहजीकरणमा दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण तथा रेक्ट्रोफिटिङ प्रक्रिया थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटाले बताइन् ।

कुल २० करोड ३४ लाख २५ हजार ५ सयमा नयाँ र मौजुदा भवन रेक्ट्रोफिटिङका लागि १२ करोड ४१ लाख ८४ हजार ३ सय रुपैयाँ गरी ३२ करोड ७६ लाख ९ हजार ८ सय रुपैयाँ बजेट विनियोजन भएकोसमेत जनाइएको छ ।

अस्पतालमा बढ्दो बिरामीको चापलाई नवनिर्मित भवनले राहत प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । पुरानो र भूकम्पका कारण आंशिक क्षति पुगेको पानी चुहिने अस्पतालमै सेवा दिन बाध्य भएको अस्पताल विकास समिति अध्यक्ष मिलन सुवालले बताए । ‘श्री चन्द्रलोक डिस्पेन्सरी’ को नामबाट १९६१ मा स्थापित १५ शय्याको अस्पताल हाल २०६० देखि ७५ शय्या सञ्चालित छ ।

दिन प्रतिदिन बिरामीको चाप बढ्दै गएकाले अस्पताल प्रशासनले ७५ शय्यालाई थप गरी १ सय २५ शय्या पुर्‍याउन माग गरेको छ । अस्पतालमा दरबन्दी नहुँदा आईसीयू सञ्चालन गर्न नसकेको उल्लेख गर्दै सरकारले डाक्टर र कर्मचारीको दरबन्दी थप गर्नुपर्ने उनले बताए । अस्पतालमा डिपार्टमेन्टको व्यवस्था छैन ।

अस्पतालको नयाँ भवनसँगै आईसीयू सञ्चालन गर्ने लक्ष्य लिएको मेडिकल सुपरिटेन्डेन्ट डा.देवकोटाले बताइन् । अस्पतालको स्तरवृद्धि गर्ने, पार्किङ व्यवस्थापन, बगैंचा निर्माण, एक्सरे, प्रोटेबल यूएसजी, ल्याबक्रोस्कोपी, इन्डेस्कोपीलगायत सेवा सञ्चालन गर्ने लक्ष्य रहेको उनले बताइन् । अपांगमैत्री नयाँ भवनमा लिफ्ट जडान गरी मौजुदा भवनहरूमा समेत आवागमनमा सहजता ल्याउने गरी डिजाइन गरिएको छ ।

प्रकाशित : माघ २४, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT