कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

५१ औं हप्तासम्म निरन्तर सफाइ

कान्तिपुर संवाददाता

भक्तपुर — हनुमन्ते सफाइ अभियानले ५१ औं हप्तासम्म निरन्तरता पाएकोमा शनिबार वाकाथुन तथा झन्डोत्तोलन गरेको छ । हनुमन्ते सरसफाइ अभियानको ५१ औं हप्ताको अवसरमा शनिबार वाकाथुन गरिएको हो ।

५१ औं हप्तासम्म निरन्तर सफाइ

मध्यपुरथिमि स्थित नयाँथिमिदेखि निर्माणाधीन हनुमन्ते करिडोर हुँदै सल्लाघारी करिब ३ किलोमिटर वाकाथुन गरेको छ ।


वाकाथुनमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका व्यक्तित्वहरू, शिक्षक, विद्यार्थीलगायतको उपस्थिति थियो ।


हनुमन्ते सरसफाइको नाममा समग्र भक्तपुर सरसफाइ अभियानलाई नेतृत्व गरेको भन्दै दाहालले अभियन्ताहरूको प्रशंसा गरेका छन् । ‘हनुमन्ते सरसफाइको नाममा भक्तपुर समृद्धिको अभियानमा अघि बढेको छ,’ उनले भने, ‘यो अभियानले भक्तपुरको मात्र नभई मुलुकलाई सभ्यता सिकाएको छ ।’


कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रतिनिधिसभा सदस्य महेश बस्नेतलगायतले हनुमन्ते खोलालाई नुहाउन योग्य बनाउने बताएका छन् । सफाइ अभियानले सकरात्मक सन्देश दिँदै आएको भन्दै अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत सल्लाघारीमा राष्ट्रिय झन्डा प्रतिस्थापन गरेको छ ।


हनुमन्ते सरसफाइ अभियान २०७४ फागुन २९ मा देखि प्रत्येक शनिबार सरसफाइ गरिँदै आएको छ । आगामी सातादेखि हरेक बुधबार सफाइ अभियान थालिने सफाइ अभियानका संयोजक सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले बताए । हालसम्म एक हजार ६० टन फोहोर संकलन भएको र ३७ हजार अभियन्ता सहभागी भएको उनले बताए ।


हनुमन्तेसँगै मनोहरा खोलादेखि साँगासम्म अरनिको राजमार्ग सफाइ अभियानले निरन्तरता पाएको छ । अभियानमा सडक, बस्ती, टोल, चोक सफाइ गर्ने, लागूऔषध दुव्र्यसनी, विभिन्न प्रकारका विकृति तथा विसंगतिका बारेमा अनुगमन समेत गर्ने समेत थापाले बताए ।


हनुमन्ते नदी सफाइ अभियान र अरनिको राजमार्ग सफाइ अभियानको तेस्रो चरणलाई श्रम शिविरको रूपमा विकास गर्दै आएको सफाइ अभियन्ता एवं प्रतिनिधिसभा सदस्य बस्नेतले बताए ।


अभियानलाई प्रभावकारी बनाउन सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा स्थानीय बासिन्दा, संघसंस्था, विद्यालय, समूह, होटल व्यवसायी, जनप्रतिनिधि, सरोकारवाला निकायका पदाधिकारी लगायतलाई सहभागिता गराउँदै आएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?