कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

आज शिवरात्री : पशुपतिमा ३ बजेदेखि चारै ढोका खुला

दीपेन्द्र विष्ट

काठमाडौँ — पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा देश/विदेशबाट आउने साधुसन्त, भक्तजनका लागि खाने, बस्नेलगायतको व्यवस्था मिलाएकाे र दर्शनका लागि बिहान ३ बजेबाट मन्दिरका चारवटै ढोका खुला गरिएकाे जनाएकाे छ ।

आज शिवरात्री : पशुपतिमा ३ बजेदेखि चारै ढोका खुला

यस पटक चार हजारभन्दा बढी साधुसन्त पशुपतिनाथ दर्शनका लागि आएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए । विगत वर्षभन्दा यस वर्ष भक्तजनको उल्लेख्य उपस्थिति रहने उनले बताए । ‘सोमबार पनि परेको छ,’ उनले भने, ‘चहलपहल पनि बढी छ ।’

नागाबाबा, अधोरीलगायतका बाबालाई मन्दिरभित्र, राम मन्दिर, श्लेष्मान्तक वन जाने बाटोमा बस्ने व्यवस्था मिलाएको उनले बताए । कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरी लाइन व्यवस्थापन गरेको छ ।

विजया एकादशीका दिन राष्ट्रप्रमुखबाट संकल्प गराएपछि पर्व सुरु भएको मानिन्छ । सोही दिनबाट साधु सन्तलाई खाने बस्ने र ध्वनीका लागि दाउराको समेत व्यवास्था गरिन्छ । बुधबार साधुहरूको स्तर हेरी ३ सय ५१ देखि १ हजार ७ सय ५१ सम्म दक्षिणा दिएर बिदा गर्ने कार्यालयले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक/एक लाइन, जयबागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तीसपुतली, गौशाला तथा एयरपोर्ट–गौशाला भएर पिंगलास्थान सुमार्गी भवन अगाडि चार शिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरी बाहिरी रूपमा तीन स्थानबाट दर्शनका लागि लाइन राख्ने तयारी गरिएको उनले बताए ।

दर्शनार्थीले उपस्थिति हेरेर तिलगंगा राम मन्दिरतर्फबाट समेत एक लाइन राख्न सकिनेछ । शिवरात्रिका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षालगायत सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउटसमेतका गरी ५ हजार स्वयंसेवक परिचालन गरिने, डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिनेछ ।

कोषले भक्तजनको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुका साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाइ, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचारप्रसारका लागि ८ वटा उपमिति गठन गरेको उनले बताए । दर्शनलाई सहज हुने गरी कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राम मन्दिरलगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाइने भएको छ । सवारी पार्किङका लागि तिलगंगा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त, ट्राफिक प्रहरी प्रभाग, गौशाला, सिफल, गुह्येश्वरी पारि गरी ५ स्थान तोकिएको छ ।

त्यसैगरी पशुपति मन्दिर आसपास गौशाला, मित्रपार्क क्षेत्रको बाटो प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । शिवरात्रिका दिन पशुपति मन्दिर आसपासमा भक्तजनको अत्यधिक भीड हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तले बताए ।

चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, तिलगंगा, गौरीघाटलगायतका क्षेत्रबाट गौशालातर्फको बाटोमा सवारीसाधन चलाउन निषेध गरिएको हो । ज्ञानेश्वर–कालोपुल भएर आउने सवारीसाधन सिफलचौरमा पार्किङ गरिनेछ । तीनकुने–सिनामंगल भएर आउने सवारीसाधन तिलगंगामा पार्किङ गरिनेछ ।

सवारीसाधनका रुटहरू

पुरानो बसपार्क–भद्रकाली–सिंहदरबार–माइतीघर–नयाँबानेश्र–तीनकुने–सिनामंगल हुँदै पुनः त्यही रुटमा फिर्ता हुनेछन् । पुरानो बसपार्क–भद्रकाली–नागस्थान–जमल–लाजिम्पाट–नारायणगोपालचोक–चावहिल–बौद्ध–जोरपाटी–साँखु हुँदै जमलसम्म त्यसपछि महेन्द्र सालिक–तीनधारा पाठशाला हुँदै पुरानो बसपार्कका फिर्ता हुनेछन् । कालोपुल–कपन चल्ने सवारीसाधन खानी विभाग–लाजिम्पाट–महाराजगन्ज हुँदै चल्नेछन् ।

प्रकाशित : फाल्गुन २०, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?