कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सचेत छैनन् पैदलयात्री पनि

शिल्पा कर्ण

काठमाडौँ — कोटेश्वरमा बिहान ७ बज्न लाग्दा थोरै मात्र गाडी चलेका थिए । तीनकुनेतर्फ गइरहेका गाडीका बीचबाट एक महिला हातमा ठूलो झोला र पछाडि पनि झोला भिरेर सडक पार गर्न लागिन् । जडीबुटीतर्फ जानेपट्टि गाडी आइपुगेकाले हतारमा रहेकी ऊनले जेब्राक्रस ख्याल गरिनन् ।

सचेत छैनन् पैदलयात्री पनि

हुन त खिइएर मेटिनै लागेको जेब्रात्रस सडकमा ध्यान दिएर हेरे मात्र देखिन्छ । हुत्तिएर आएका मिनीबस, मोटरसाइकलले झन्डै हानुँला झैं गरेर गए । धन्न उनलाई केही भएन ।

दिउँसो कोटेश्वर चोकबाट बालकुमारी जाने सडकमा रहेको आकाशे पुलमुनिबाट धेरै पैदलयात्री बाटो काटिरहेका थिए । उनीहरूकै सहजता र सुरक्षाका लागि बनाइएको आकाशे पुलबाट बाटो काट्नुको साट्टो मुनिबाट हिंडिरहेका थिए । आकाशे पुलमा भने धेरैजसो फोटो खिच्ने, खिचाउने, उभिएर वरपर हेरिरहेका मान्छे थिए ।

यस्तैमा बीच सडकबाटै बच्चा पछाडि बोकेर सडकको अर्को छेउ पुगिन् एक चिया बेच्ने महिला । किन आकाशे पुलको प्रयोग नगरेको भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘माथिबाट त्यत्रो घुमेर जानुपर्छ, धेरैबेर लाग्छ ।’ फेरि फर्किने बेला पनि उनको बाटो त्यही थियो । पुल प्रयोग गर्दा ९० सेकेन्डसम्म लाग्छ । तलैबाट जाँदा त्यो भन्दा कम समय लाग्ने उनको भनाइ थियो । यसरी जथाभावी बाटो काट्नेहरू सधैं र सबै मान्छे भाग्यमानी हुँदैनन् ।

तथ्यांकअनुसार सडक दुर्घटनामा मृत्यु हुनेमा ४० प्रतिशत पैदलयाक्रु नै हुने गरेका छन् । सडक इन्जिनियर आशिष गजुरेलको कार शुत्रबार सामान्य क्षति भयो । उनले चलाइरहेको कारलाई पछाडिबाट अर्को सार्वजनिक सवारीले ठक्कर दियो । तीनकुनेमा ट्राफिक प्रहरीले गाडीलाई जान इशारा गरे पनि बीचैमा एक हूल पैदलयात्री आए । उनले झट्टै गाडी रोके, पछाडिको गाडीले उनको गाडीलाई छोयो । ‘गाडी सामान्य क्षति भयो, खासै ठूलो होइन । त्यहाँ मैले गाडी नरोकेको भए मानवीय क्षति हुने थियो,’ गजुरेलले भने ।

उनको भनाइमा सडक सबैका लागि हुनुपर्छ । सडकमा सबैभन्दा जोखिमयुक्त समूह भनेको पैदलयात्रु र साइकल चालक नै हुन् । त्यसैले उनीहरूले थप सावधानी अपनाउनुपर्छ । पैदलयात्रीमा ट्राफिक नियमको ज्ञान निकै कम देखिन्छ । ‘यहाँ देशैभरिका मान्छे आउँछन् । राजधानीका मान्छेले त पालना गर्दैनन् भने टाढाबाट आउने मान्छेलाई ट्राफिक नियम र सडकमा कसरी सुरक्षित हुने भन्ने ज्ञान हुने भएन,’ गजुरेलले भने ।

वीर अस्पतालसहितका स्वास्थ्य संस्थामा विशेष गरेर देशैभरिका मान्छे आएका हुन्छन् । त्यस्तै स्थानमा पैदलयात्रीले नियम मिच्ने गरेको सडकमा खटिएका ट्राफिक प्रहरी बताउँछन् । सडक पार गर्ने सन्दर्भमा मात्र होइन, अन्य तथ्यमा पनि पैदलयात्रीले ध्यान पुर्‍याउनुपर्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक वसन्त पन्तले इयरफोन लगाएर सडकमा हिँड्नु, फुटपाथ नियमको पालना नगर्नु, फुटपाथ नभएको स्थानमा दायाँबाट हिँड्नुपर्नेमा बायाँतर्फ हिँड्नु जस्ता कार्यले पैदलयात्रुलाई दुर्घटनाको जोखिम हुने बताए ।

टीकाथली–कलंकी रुटमा गाडी चलाउने एक चालक भन्छन्, ‘तोकिएको ठाउँबाट बाटो काट्दैनन् । जथाभावी हात दिएर गाडी रोक्न खोज्छन् ।’ थापाथलीबाट जावलाखेल रुटमा चलाउने चालकले पैदलयात्रुको लापरबाहीका कारण आफूहरूलाई क्षति भइरहेको बताए । उनले भने, ‘झन्डै ५/६ महिनाअघि मान्छे बचाउन खोज्दा गाडी मोड्नेबित्तिकै अर्को गाडीसँग ठोक्कियो । मैले जरिवाना र क्षतिपूर्ति तिर्नुपर्‍यो, बीच बाटोबाट सडक पार गर्ने ती यात्रुलाई कुनै कारबाही भएन । मुख्य दोष त उसैको हो ।’

पैदलयात्रुले जथाभावी बाटो काटिरहेको दृश्य राजधानीका लागि सामान्य भइसक्यो । राजधानीबाहिरबाट आएकालाई जेब्राक्रससम्बन्धी ज्ञान हुन्न । पढे, लेखेका, शिक्षितझैं देखिने जमात पनि ट्राफिक नियम मिच्दै हिँडिरहेका हुन्छन् । यसैगरी बस रोक्न, चढ्न तथा ओर्लिन विभिन्न स्थान बनाइएका छन् । गाडी पनि जथाभावी रोकिन्छ भने यात्रुले पनि आफूलाई पायक पर्ने ठाउँमा रोक्न लगाउँछन् । ‘पिक आवरमा’ जडीबुटीबाट कोटेश्वर चोकसम्म सामान्यतया आधा दर्जन प्रहरी खटिएका हुन्छन् ।

जडीबुटीमा गाडी रोक्न नपाइने भए पनि यात्रु त्यहीँको पेट्रोल पम्पमा गाडी रोकेर चढ्छन् । त्यसैगरी थापाथली बस स्टपबाट अर्को रोक्न मिल्ने स्थान त्रिपुरेश्वर हो । त्यसबीचमा समेत परिचालकलाई गाडी रोक्न यात्रु नै दबाब दिइरहेका हुन्छन् ।

‘दुर्घटनामा मृत्यु हुने धेरैजसो घटनामा पैदलयात्रुको गल्ती पनि हुन्छ । जहाँतहाँबाट हात देखाएर गाडी रोक्दै सडक पार गर्छन् । आफूले सुरक्षित भएर हिँड्नुपर्छ भन्ने मनमा नराखेर हिँड्दा कैयौंको मृत्यु भएको छ,’ पन्तले भने । महाशाखाको तथ्यांकअनुसार चक्रपथभित्र ३ सयभन्दा बढी स्थानमा जेब्राक्रस छन् । ‘केही मेटिइसकेका छन्, हामीले सडक विभागलाई बनाइदिन भनेका छौं,’ पन्तले भने, ‘भएको ठाउँमा पनि आकाशे पुल र जेब्राक्रस प्रयोग गरिदिनुपर्‍यो । यसले पैदलयात्रुलाई नै सुरक्षा दिन्छ ।’

राति हिँड्दा चम्किलो लुगा लगाउन उनी सुझाव दिन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउनदेखि असोज अन्तिमसम्म ५२ हजार ७ सयभन्दा बढी पैदलयात्रुलाई सुरक्षित हुन कसरी सडकमा हिँड्नेसम्बन्धी सचेतना कक्षा दियो । प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम ल्याएको थियो । यसरी नियम मिच्ने पैदलयात्रीले समेत आधादेखि दुई घण्टासम्म सचेतना कक्षा लिनुपर्थ्यो । त्यो पनि प्रभावकारी हुन सकेन, अहिले पनि अधिकांश पैदलयात्रु ट्राफिक नियम पालना गर्दैनन् ।

त्यसअघि गतवर्ष एक महिना यस्तै सचेतना कक्षा चलाएपश्चात जेठ १६ देखि जेठ अन्तिमसम्म पैदलयात्रुलाई पनि सवारीधनीझैं ट्राफिक नियम मिचे जरिवाना गरिन थालियो । लामो समयदेखि सवारी चालकले यस किसिमको कारबाहीका लागि माग गरिरहेका थिए । त्यस समयमा १२ हजार ३ सय ८८ जनाबाट २/२ सय रुपैयाँ जरिवाना लिइएको ट्राफिक प्रहरीको तथ्यांक छ । त्यो समयमा पैदलयात्रुलाई जरिवाना गर्न सुरु गरेको साता दिनमा पैदलयात्रुबाट हुने आधाजसो ट्राफिक नियम उल्लंघन घटेको फिल्डमा खटिएका ट्राफिक प्रहरीको अनुभव छ ।

यो कार्यक्रमले निरन्तरता पाएन । निमुखाबाट पैसा लिएको र सडकमा पूर्वाधार नभए पनि शुल्क उठाएको भन्दै ट्राफिक प्रहरीको आलोचना भएपछि सरकारकै दबाबमा यो कार्यक्रम बन्द भयो । ‘काठमाडौं महानगरपालिकाबाट अधिकार प्रत्यायोजन भएपछि यो नियम ल्याएका थियौं । फेरि पनि हामीलाई अधिकार दिइयो भने हामी जरिवाना गर्न तयार छौं,’ पन्तले भने ।

ट्राफिक नियमको पालना गराउन ट्राफिक प्रहरीको संख्या थप्ने कुरा हास्यास्पद रहेको सडक इन्जिनियर गजुरेलको धारणा छ । उनको भनाइमा ट्राफिक व्यवस्थापनमा उन्नत प्रविधिको प्रयोग बढिरहेका बेला राजधानीमा ट्राफिक प्रहरीले हात हल्लाउँदै ट्राफिक नियन्त्रण गर्न सक्छ भन्ने सोच्नु गलत हुन्छ ।

उनले भने, ‘प्रहरीलाई केवल कारबाही गर्ने भूमिकामा राख्नुपर्छ, प्रविधिबाट ट्राफिक नियन्त्रण गर्न सक्नुपर्छ । ट्राफिक नियमसम्बन्धी सचेतना बढाउन सडक सुरक्षामा कार्यरत गैरसरकारी संस्थासँग समन्वय गरी व्यापक रूपमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन २०, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?