कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'बोक्सी उतार्न’ यातना दिने पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — तीन महिनाकी सुत्केरी थिइन् ३५ वर्षीया रश्मी उपरकोटी । काठमाडौंको भीमसेनस्थान बस्दै आएकी रश्मी फागुन १३ गते आफ्नो गाउँ दोलखाको मालु गाउँपालिका जाने तयारीमा थिइन् ।

अघिल्लो रात उनी नजिकै आफन्तको घरमा बस्न गइन् । त्यही बेला उनको छोरा बिरामी भयो । उनी आत्तिइन् । छोरालाई के भयो कसो भयो भन्ने डरै डरमा उनलाई काम छुटेजस्तो भयो । आफन्तीले रश्मीलाई झारफुक गर्ने भन्दै नजिकै रहेको कविता श्रेष्ठको डेरामा पुर्‍याए ।


विराटनगर–१२ घर भई भीमसेनस्थानमा डेरा गरी बस्ने ४५ वर्षीया कविताले राति ९ बजे झारफुक थालिन् । कविताको परिचय माताका रूपमा छ । वर्षौंदेखि उनले आफूलाई ग्रहदशा हेर्ने, भूतप्रेत र मसान मन्साउने माताका रूपमा चिनाउँदै आएकी छन् । उनले रश्मीलाई ‘बोक्सी’ चढेको र बोक्सी नउतारेसम्म नाबालकलाई खाइदिने खतरा बढ्ने बताइन् ।


कथित माता कवितालाई आफन्तले कसरी हुन्छ उपचार गर्नुपर्ने बताएपछि यातनाको शृंखला सुरु भयो । यो घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी परिसर काठमाडौंका अनुसार तातो पन्यू तताएर रश्मीको शरीरको संवेदनशील भागमा डामिएको छ । प्रहरीका अनुसार रश्मीको ढाड, छाती, पाखुरामा पन्यूका दर्जनौं डाम छन् । रश्मीको कपाल भुत्ल्याइएको छ । आफन्तको सहयोगमा कविताले उनलाई रातभर उचाल्ने र थचार्ने गर्दै यातना दिएको देखिन्छ । प्रहरीका अनुसार बिहान ४ बजेतिर रश्मी हलचल गर्न नसक्ने भएपछि मात्रै कथित माता कविता र आफन्तले बोक्सी उत्रेको भन्दै यातना दिन रोकेका थिए ।


घटना भोलिपल्ट अन्य आफन्तले थाहा पाएका थिए । प्रहरी स्रोतका अनुसार यातनाको घटना लुकाउन र मिलापत्र गर्न उनीहरूबीच छलफल भएको थियो तर पैसा दिने विषयमा कुरा मिलेन । घटनाको पर्सिपल्ट रश्मी प्रहरी परिसर काठमाडौंमा जाहेरी दरखास्त लिएर पुगेकी थिइन् ।


परिसरका डीएसपी होविन्द्र बोगटीले काठमाडौंमै यस्तो अन्धविश्वास र बोक्सी उतार्ने नाममा यो हदसम्मको यातनाको घटना सुन्दा चकित भएको बताए । जाहेरीलगत्तै प्रहरीको तीन छुट्टाछुट्टै टोली काठमाडौं उपत्यकामा परिचालित भएको थियो । प्रहरीले कवितालाई १५ गते कोटेश्वरस्थित आफन्तको घरबाट पक्राउ गरेको थियो ।


जाहेरी दर्तालगत्तै प्रहरीकै सक्रियतामा रश्मीलाई वीर अस्पतालमा उपचार गर्न पठाइएको थियो । प्रहरीका अनुसार रश्मीको शरीरमा कुटपिटको नीलडाम र तातो पन्यूले डाम्दाको चोट गहिरो छ ।


प्रहरी बयानमा कविताले आफूले वर्षौंदेखि धामीझाँक्रीको काम गर्दै आएको र चिनजानकै आधारमा मानिस आफूकहाँ उपचारका लागि आउने गरेको बताएकी छन् । उनले आफूले बोक्सी उतार्ने शिक्षा लिएको दाबी गर्दै रश्मीको उपचार गरेको दाबी गरेकी थिइन् । प्रहरीले कवितामाथि फौजदारी आचारसंहिताको दफा ७२ को बोक्सीको आरोपमा गरिने नियन्त्रण तथा कुटपिटसम्बन्धी दफाअनुसार कारबाही गर्ने तयारी थालेको छ ।


यो दफामा यस्तो अभियोग प्रमाणित भए दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना, उपचार र क्षतिपूर्ति वा दुवै हुन सक्ने व्यवस्था छ ।



प्रकाशित : फाल्गुन २२, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?