कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा भिन्न होली

भक्तपुर — फागुन शुक्ल अष्टमी (बिहीबार) देखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली भिन्न रूपमा सुरु भएको छ । 

दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिरको पाटीमा गुन्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव (प्रेमको प्रतीक) का रूपमा भीमसेनलाई पुज्दै होली मनाइन्छ । मध्यकाल करिब हजार वर्ष पहिलेदेखि भीमसेन मन्दिरमा काठबाट बनेको भीमसेनको लिंग र द्रौपतीको योनिको प्रतीक रातो कपडालाई जुधाएर एक सातासम्म होली पर्व मनाइने परम्परा रहेको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

भीमसेन गुठीका गायजूहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्लो वानला ल्यासे, बिस्युवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनुभएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाइने परम्परा छ । संगीतमा रमाउँदै प्रेमपर्व अर्थात् वसन्तको आगमनको सूचकका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म भीमसेनको लिंग र द्रौपतीको योनिलाई पूजा गरी होली पर्व मनाउने परम्परा रहेको श्रेष्ठले बताउँछन् ।


काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीका दिन दुईजनाले काँधमा बोकेर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर परिसरमा पूजा गरी साँझ भीमसेन मन्दिरको पाटीमा झुन्ड्याइन्छ । नेवार परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने गरिन्छ । चीर स्वायगू अर्थात् लिंग घुमाएपछि फागु सुरु हुन्छ । घुमाएको लिंगलाई स्थानीयले पूजा गर्ने र दान दक्षिणा दिने परम्परा छ । भीमसेनको लिंग पूजा गरे सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास छ ।

प्रकाशित : चैत्र १, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?