कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिस्केट जात्रा व्यवस्थित गरिँदै

भक्तपुर — बिस्केट जात्रालाई शान्तिपूर्ण र मर्यादित बनाउन रथ मर्मतलगायत तयारी थालिएको छ । त्यसका लागि भक्तपुर नगरप्रमुख सुनील प्रजापतीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन भएको छ ।

जात्रा सञ्चालन तथा व्यवस्थापन कार्यदलको सदस्यहरूमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठ, गुठी संस्थान कार्यालय प्रमुख हरिप्रसाद सुवेदी, नेपाल विद्युत् प्राधिकरण भक्तपुर केन्द्र प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, दूरसञ्चार प्रमुख वीरेन्द्र श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी लिमिटेड प्रमुख सुरेन्द्र हिमालयलगायत छन् ।


नगरपालिकाले आयोजना गरेको सरोकारवालाको भेलाले कार्यदल गठन गरेको हो । उक्त भेलाले जात्रालाई मर्यादित बनाउन माइकिङ, सूचना प्रवाह, पर्चा पम्प्लेट प्रकाशित गर्ने निर्णय गरेको छ ।


नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने, जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायहरूले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन लागि पर्ने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बन्धित संस्थाहरूले समयमै शान्तिपूर्ण र व्यवस्थित रूपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाहरूले जात्रा सञ्चालन हुने क्षेत्रहरूमा आ(आफ्नो तार तथा लठ्ठाहरू व्यवस्थित गर्ने र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यालय कलेज तथा स्थानीय बासिन्दाले र्‍याली तथा सभा गर्ने निर्णय गरेको नगरप्रमुख प्रजापतीले बताए ।


सीसी क्यामेरा जडान

जात्रा नजिकिँदै गर्दा भक्तपुर नगरपालिका र प्रहरीको समन्वयमा सीसी क्यामेरा जडान गर्ने महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी हिमालयकुमार श्रेष्ठले बताए ।


नयाँ वर्षको आगमनसँगै ८ रात ९ दिन मनाइने प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा व्यवस्थित गर्न खोज्दाखोज्दै पनि माथिल्लो र तल्लो भेकका बासिन्दाबीच रथ तान्ने क्रममा ढुंगा हानाहान गर्ने, हतियार प्रयोग गर्ने गतिविधि रोक्न नगरपालिकाको समन्वयमा ४१ वटा सीसी क्यामेरा जडान गर्ने तयारी भएको प्रहरीले जनाएको छ । गतवर्ष जडान गरेको १९ सीसी क्यामेरा मर्मत र यस वर्ष २२ वटा नयाँ जडान गर्ने महानगरीय प्रहरी दरबार क्षेत्र प्रभागका इन्चार्ज सई नारायण चौहानले बताए ।


जात्राको रुट क्वने (तल्लो) टोल टौमढी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोल क्वाछें, साकोठा, सुकुलढोका, गोल्मढी, इनाचो, दत्तात्रयलगायत स्थानमा सीसी क्यामेरा जडान गर्ने प्रहरीले जनाएको छ । गतवर्ष रथ तान्ने क्रममा ढुंगा हान्ने, हतियार देखाउने, होहल्ला गर्नेलाई सीसी क्यामेराको सहयोगमा कारबाही गरेको र यस वर्ष पनि सोही प्रक्रियाबाट कारबाही गर्न सीसी क्यामेरा जडानको तयारी गरेको एसपी श्रेष्ठले बताए ।


नगरका मुख्य तथा सम्पदा क्षेत्रमा भने सीसी क्यामेरा पहिले नै जडान भइसकेका छन् । भैरवको रथ तौमढीबाट तल्लो भेगकाले नासमना हुँदै वंशगोपालसम्म र माथिल्लो भेकका बासिन्दाले तौमढीबाट सुकुलढोका हुँदै दत्तात्रयसम्म लैजाने चलन छ ।


रथ मर्मत सुरु

आठ रात नौ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी सुरु भएको छ । गुठी संस्थानले जात्राको तयारी सुरु गरेको संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए । जात्राको मुख्य आकर्षक भैरवनाथ र भद्रकालीको रथ निर्माण कार्य सुरु भएको छ । तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्रा आगामी २७ गतेबाट सुरु हुन्छ ।


काठैकाठले प्यागोडा शैलीमा निर्माण करिब ३५ फिट अग्लो तीनतले भैरवनाथ र भद्रकालीको रथ चैत्र २५ मर्मत गरिसक्ने रथ बनाउने नाइके प्रेमलाल शिल्पकारहरूले बताए । दक्ष कालीगढको अभावमा नयाँ रथ निर्माण गर्न सम्भव नभएको र पुरानै रथ मर्मत गरी जात्रा सञ्चालन गरिने गुठी संस्थान भक्तपुरले जनाएको छ ।


‘पर्याप्त कालीगढको अभाव छ, जनशक्ति नहुँदा नयाँ रथ निर्माण गर्न सकिने अवस्था छैन,’ गुठी संस्थान कार्यालय प्रमुख सुवेदीले भने, ‘पुरानै रथ/पांग्रा मर्मत गरे पुग्छ ।’ नयाँ रथ निर्माणका लागि पर्याप्त समय पनि नभएको उनले बताए ।

प्रकाशित : चैत्र ५, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?