टुंगियो मदनोत्सव

कान्तिपुर संवाददाता

भक्तपुर — फागुन शुक्ल अष्टमीदेखि सुरु भएको फागु अर्थात् भक्तपुरको प्रेमिल होली पर्व सम्पन्न भएको छ । भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको ऐतिहासिक भीमसेन मन्दिरको पाटीमा गुन्जने नेवारी भाषाको गीतसँगै मदनोत्सव (प्रेमको प्रतीक) का रूपमा भीमसेनलाई पुज्दै मनाइएको परम्परागत होली बुधबार साँझ सिद्धिएको छ ।

भीमसेन मन्दिरमा झुन्ड्याएको लिंगो बुधबार अर्थात् फागु पूर्णिमाको साँझ बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती, च्याम्हासिंह हुँदै ब्रह्मायणी मन्दिरमा लगेर ब्रह्मायणी नदीमा पखालेर पुनः च्यामासिंह हुँदै, तचपाल स्थित भीमसेन मन्दिरमा ल्याएर थन्क्याएपछि फागु पर्व समापन भएको स्थानीय बताउँछन् ।

Citizen


मध्यकाल करिब एक हजार वर्ष पहिलेदेखि सांस्कृतिक एवं ऐतिहासिक भीमसेन मन्दिरमा भीमसेनको लिंगो (काठबाट बनेको) र द्रौपतीको योनिको प्रतीक रातो कपडालाई जुधाएर फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म एक साता होली पर्व मनाइने परम्परा रहेको संस्कृति एवं इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

भीमसेन गुठीका गायजुहरूले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’–अर्थात ‘भीमसेनको लिंगले मन लोभिएकी, भाग्नु नपर्ने गरी हेर्न आउनुभएकी’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होली पर्व मनाइने परम्परा छ ।

संगीतमा रमाउँदै प्रेमपर्व अर्थात् वसन्तको आगमनको सूचकको रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म भीमसेनको लिंग र द्रौपतीकोयोनिलाई पूजा गरी होली पर्व मनाउने परम्परा रहेको श्रेष्ठले बताए । काठबाट निर्मित भीमसेनको लिंगलाई फागुन शुक्ल अष्टमीको दिन गत आइतबार दुई जनाले काँधमा बोकेर भक्तपुर नगरको इनाचो, बाचुटोल, जेंला, जगाती,ब्रह्मायणी, च्यामासिंह हुँदै, तचपाल स्थित दत्तात्रय मन्दिर परिसरमा पूजा गरी साँझ भीमसेन मन्दिरको पाटीमा झुन्ड्याइएको थियो ।

नेवारी परम्पराअनुसार यसलाई चीरस्वायगू भनिने गरिन्छ । चीरस्वायगू अर्थात् लिंग घुमाएपछि फागु सुरु हुने परम्परा छ । घुमाएको लिंगलाई स्थानीयले पूजा गर्ने, ढोग्ने र दान दक्षिणा दिने परम्परा छ । भीमसेनको लिंगलाई पूजा गरे सुख, शान्ति र समृद्धि बढ्ने जनविश्वास रहेको छ ।

नगरपरिक्रमापश्चात् भीमसेन मन्दिरमा ल्याइएको लिंग र योनि आकारको रातो कपडासमेत भीमसेन मन्दिरमा झुन्ड्याइने प्रचलन छ । झुन्ड्याएको लिंग हल्लाउँदा योनि आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिको रूपमा नलिई सांस्कृतिक पहिचानको रूपमा भीमसेन र द्रौपतीको यौन समागमको रूपमा संरक्षण गरिँदै आएको श्रेष्ठले बताए ।

फागुन शुक्ल अष्टमीदेखि फागुपूर्णिमासम्म पूजा एवं दर्शन गर्न दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहनेहोली पर्व भक्तपुरमा भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतविद्हरू बताउँछन् ।

चीरस्वायगू अर्थात् लिंग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठीभोज गर्नेसमेत प्रचलन रहेको स्थानीय बासिन्दा बताउँछन् । यसका साथै बुधबार बिहानैदेखि साँझसम्म एकआपसमा रङ लगाई र पानी
छ्यापाछ्याप गरी हर्षोलासका साथ होली पर्व मनाएको छ ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

भरलाग्दा छैनन् सडक

टीकाप्रसाद भट्ट

रामेछाप — बिनासर्भे डोजर अप्रेटरको भरमा खोलिएका रामेछापका ग्रामीण सडक भरलाग्दा छैनन् । ग्रेड नमिलाई खनिएका साँघुरो सडकमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

रामेछापका अधिकांश सडक प्राविधिक अध्ययनबिना डोजर अप्रेटरको भरमा खनिएका छन् । पकरवासको धुलाम्मे उकालो सडक गुड्दै गएको एक निजी सवारीसाधन । तस्बिर : टीकाप्रसाद/कान्तिपुर

‘जति विकास गरेका भए पनि सुरक्षित सडक बनाउन सकिएको छैन,’ मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले भने, ‘प्राविधिक नलगाई खनिएका सडक कति सुरक्षित होलान् ? । उनले ग्रामीण क्षेत्रका कतिपय सडक ३० देखि ४० प्रतिशतसम्म ग्रेड (उकालो) भएको खुलाए । त्यति मात्र हैन, प्राविधिक पक्षलाई ध्यान नदिई खनिएका कैयौं सडकले पुस्तौंदेखि बसोबास रहेका घर जोखिममा परेका छन् । सडकको पानीलाई व्यवस्थित नबनाउँदा केही गाउँमा पहिरो जोखिम छ । बस्नेत भन्छन्, ‘सडक त सुरक्षित भएनन् नै, विधिबमोजिमको काम नहुँदा बस्ती पनि जोखिममा पुगे ।’

चाँडो सडक सुविधा पुग्ने गरी खनिएका त्यस्ता सडकहरूमध्ये केही सुधारका क्रममा छन् । लाखौं रुपैयाँ खर्चेर पहिले निर्माण भएका सडकलाई छोडेर अन्यत्रबाट फेरि सडक खन्नु पनि कानुनी र वातावरणका हिसाबले ठीक हैन । डडुवाका यमबहादुर घिसिङले भने, ‘दोहोरो खर्चभन्दा पनि पहिले नै विचार गरेर सडक खन्दा सबै प्रकारका जोखिम कम हुन्थे, तर त्यसो भएको छैन, हरेक स्थानमा पहिले सडक खोलियो, पछि त्यसले भएन भन्दै अर्को खोल्ने काम पनि हुँदै गयो ।’ घिसिङले थपे, ‘यसले एकातिर खर्च धेरै लाग्यो भने अर्कोतिर पहाड नै कुरूप हुने गरी छियाछिया देखियो ।’

सडक खोलेपछि साँघुरै किन नहोस्, यात्रुबाहक बस सञ्चालन गर्न स्थानीयले दबाब दिने गरेका छन् । साँघुरो र उकालो सडकमा जबरजस्ती यात्रुवाहक बस सञ्चालन गर्दा विगतमा कैयौं स्थानमा दुर्घटना भएका छन् । च्यास्कु, सैपु, दोरम्बा, भीरपानी, राकाथुम, गोठगाउँ, सुकाजोर, रामेछापजस्ता स्थानमा बस दुर्घटनामा दर्जनौंले ज्यान गुमाएका छन् भने केही स्थानमा दुर्घटनाको सन्निकट पुगेर बचेका छन् ।

‘सडकै साँघुरो छ, जबरजस्ती गर्‍यो भने चढ्छ, नत्र पछाडि सर्दै बजारिने डर हुन्छ,’ सवारी चालक जीवन श्रेष्ठले भने, ‘सडक असजिलो छ भन्दा कसैले चासो दिँदैनन्, मान्छेलाई ज्यान माया मारेर भए पनि सुविधा बढी चाहिएको छ ।’ श्रेष्ठका अनुसार धुलेसडकमा थोरै पानी पर्ना साथै सवारीसाधन चलाउन सकिँदैन । उकालोमा चिप्लो भएपछि कसरी सवारी चलाउनु ? श्रेष्ठ प्रश्न गर्छन्, ‘बाटो फराकिलो भए पनि एकहद जाउँ भन्नु । धेरै स्थानमा त्यस्तो सजिलो सडकै छैन । पानी पर्‍यो कि जहाँको त्यही वस्नुपर्ने बाध्यता छ ।’

स्विस सरकारको सहयोगमा रामेछापमा सञ्चालित स्थानीय सडक सुधार कार्यक्रममा विगत २ वर्षअघि जिल्लाका अधिकांश सडकको सुधार गरेको थियो । हिउँद याममा मर्मतसम्भार गरिएका सडकमा वर्षामा सवारी सञ्चालन गर्न सहज भएको थियो । तर ऊक्त कार्यत्रम बाहिरिएपछि ग्रामीण सडक पहिलेकै अवस्थामा पुगे ।

अहिले स्थानीय सरकारले केही सडकलाई मर्मतमा चासो राखे पनि अधिकांश भगवान् भरोसामा चलेका छन् । जिल्लाका साविकका ५५ वटै गाविसमा सडक सञ्जाल विस्तार भएको छ । गुम्देलको उत्तरी हिमाली सीमा लाहाछेवरमा समेत सडक पुगेको छ । सडक चारैतिर पुगे पनि वर्षायाममा सहज यातायात सञ्चालन हुने सडक विरलै छन् ।

जिल्ला सदरमुकाम जोड्ने र मन्थलीदेखि रामेछाप पुग्ने सडकबाहेक अरु सबै सडक कच्ची छन् । प्रदेश सरकारले जिल्लामा यसै वर्ष स्थापना गरेको पूर्वाधार विकास कार्यालयले महत्त्वपूर्ण केही सडकको सुदृढीकरणका लागि बोलपत्र आहान गरेकोले अबको २ वर्षपछि केही थप सडकमा यातायात सहज बन्ने उक्त कार्यालयका प्रमुख जयराम श्रेष्ठ बताउँछन् । ‘हामीले २ वर्षभित्र जिल्लाका मेरुदण्ड सडकहरूको स्तरवृद्धि गर्ने योजनाका साथ काम अघि बढाएका छौं,’ श्रेष्ठले भने ।

प्रकाशित : चैत्र ७, २०७५ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT