कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

काठमाडौं बढार्दै ब्रुमर : यस्ता छन् विशेषता

टेकुबाट सुरु भई चक्रपथभित्र पाँचवटा रुटमा सञ्चालन हुने
साँझ ८ देखि बिहान ४ बजेसम्म सफाइ
विद्या राई

काठमाडौँ — महानगरले इटालीबाट खरिद गरेको पाँचवटा ब्रुमर (यान्त्रिक कुचो) को शुभारम्भ गरेको छ  । धूलो र धूवाँमुक्त सहर बनाउनका लागि ल्याएका ब्रुमरलाई महानगरले सभागृहमा मंगलबार एक कार्यक्रम गरेर औपचारिक शुभारम्भ गरेको हो  ।

काठमाडौं बढार्दै ब्रुमर : यस्ता छन् विशेषता

यी ब्रमुर राति चल्नेछन् । ब्रुमरहरू युरो ४ मापदण्डका हुन् । इन्जिन क्षमता १०७ किलोवाट छ । डिजेलबाट सञ्चालन हुने ब्रुमरका अगाडि एक, पछाडिपट्टि दायाँ–बायाँ दुई र बीचमा एक गरेर चार वटा ब्रस छन् । ब्रुमरमा पाँच सय लिटर पानी र ४.६८ घनमिटर धूलो भण्डारण क्षमता छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार स्क्वायर मिटर प्रतिघण्टा छ । ब्रसले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ । सफाइ गर्ने क्रममा अधिकतम गति १० किलोमिटर प्रतिघण्टा छ । यी ब्रुमरले धूलो टिपेपछि पानी पनि छर्किन मिल्छ ।


पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो परेको थियो । यसबाहेक स्प्रेयर्स पार्टको भन्सार शुल्क २६ लाख १६ हजार ८ सय ६१ रुपैयाँ परेको थियो । कोलकातादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख छ । खरिद तथा ढुवानी प्रतिगोटा २ करोड १५ लाख १७ हजार ३६ रुपैयाँ परेको छ । खरिद गरेर ल्याएको इटालीकै कम्पनीले आगामी तीन वर्षसम्म महानगरले तोकेको रुटमा सञ्चालन र सर्भिसिङ गर्नेछ । तीनवर्षे अप्रेटिङ खर्च ८१ लाख ९० हजार अनुमान गरेको छ । ब्रुमरमा इन्धनको खर्च भने महानगरले व्यहोर्नेछ ।


महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ब्रुमर टेकुबाट सुरु भएर चक्रपथभित्र पाँचवटा रुटमा सञ्चालन हुनेछन् । टेकुबाट सुरु भएर कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपास, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तीनकुने, एयरपोर्ट, पुतलीसडक, सिंहदरबार, हात्तीसार, दरबारमार्ग, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, सिनांगल, वसन्तपुर, मध्यबानेश्वर, भद्रकालीलगायत क्षेत्रका सडकमा प्रयोग गरिनेछन् । बेलुकी आठदेखि बिहान चार बजेसम्म प्रतिदिन ८ घण्टाका दरले ब्रुमर प्रयोग हुनेछन् । पाँच वटा ब्रुमरले प्रतिदिन ४० घण्टा सफाइ गर्नेछन् । मंगलबार भने दिउँसैदेखि प्रयोगमा ल्याएको छ । महानगरका मातहतमा आठ मिटरभन्दा कम चौडाइ भएका सडक पर्छन् । एक हजार किलोमिटर यस्ता सडक महानगरका जिम्मेवारी पर्छन् । ब्रुमरले तीन मिटरको चौडाइमा पनि सफा गर्न सक्नेछन् ।


शुभारम्भ कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले लामो समयको प्रयासपछि ब्रुमर भित्र्याउन सकेकोमा खुसी व्यक्त गरेका छन् । बढदो सहरीकरण तथा अस्तव्यस्त काठमाडौं महानगर सफाइका लागि जनप्रतिनिधिहरूले ५० प्रतिशत समय खर्चनुपर्ने बताए । महानगरले ल्याएका ब्रुमरलाई नमुना परीक्षणका प्रयोगमा ल्याएको छ । राम्रो नतिजा ल्याए थप गर्दै जाने मेयर विद्यासुन्दर शाक्यले बताए । ‘दुइटा ब्रुमर चाँडै थप्ने योजनामा छौं,’ उनले भने ।

ब्रुमरले मात्रै सहर सफाइ नहुने भन्दै नागरिकहरू पनि सचेत हुनुपर्ने उपमेयर हरिप्रभा खड्गीले जोड दिइन् । ‘बहालवाला त आज आउँछ, भोलि जान्छ, पर्सि अर्को आउँछ, घरबेटीले सरसफाइमा ध्यान दिनुपर्‍यो, महानगरले यसको कडाइका साथ लागू गर्नेछ ।’ ब्रुमर ल्याए पनि महानगरमा धूवाँधूलो कम गर्न मेलम्ची आयोजना, सडक आयोजना तथा पूर्वाधार विकास कार्यहरू चुनौतीका रूपमा रहेका भन्दै सबैले आफ्ना तहतप्कामा रहेर जिम्मेवारी पूरा गर्नुपर्ने महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताए ।


महानगरले दुई वर्षअघि नै ब्रुमरको अवधारणा ल्याएको थियो । ‘युगअनुसारको प्रविधिको प्रयोग गर्नुपर्छ भन्ने अवधारणाअनुसार ब्रुमर ल्याउने योजना बनाएका थियौं,’ पूर्व प्रमुख प्रशासकीय अधिकृत ईश्वरराज पौडेल बताए । उनी हुँदा बनेको योजनाले सार्थकता पाउन तीनजना प्रमुख प्रशासकीय अधिकृत फेरिए । महानगरमा जनप्रतिनिधि आएपछि झनै चासोको विषय बनेको थियो । जनप्रतिनिधि आएको झन्डै दुई वर्ष हुन लाग्दा महानगरले ब्रुमर भित्र्याएको हो । यसअघि प्राविधिक अध्ययन तथा टेन्डर प्रक्रियामा प्राविधिक समस्याले गर्दा खरिद र ढुवानी प्रक्रिया लम्बिएको मेयर शाक्यले बताए ।

काठमाडौंका सडक सफा गर्न उपयुक्त हुने खालका भनिएका ब्रुमर किन्न सडक विभाग र थापाथली इन्जिनियरिङ क्याम्पसको मेकानिकल विभागले प्राविधिक अध्ययन गरेका थिए । ब्रुमर र जेट मेसिन खरिदलाई काठमाडौं धूवाँधूलोमुक्त, हराभरा, वातावरणमैत्री, स्वच्छ र सफा सहर बनाउने कार्यक्रमअन्तर्गत चासोका रूपमा हेरिएको थियो । धूलो पखाल्न प्रयोग हुने पाँचवटा जेट मेसिन ५ महिनाअघि ल्याइसकिएको छ । ती मेसिनको खरिदमा ४ करोड रुपैयाँ खर्चिएको थियो । हाल महानगरसँग जेट मेसिन ७ वटा र ब्रुमर पाँच वटा भए । सडक विभागसँग दुइटा ब्रुमर छन् । सबैले समन्वय र सहकार्य गरेर काठमाडौंलाई सफा र स्वच्छ बनाउने महानगरले बताएको छ ।

यसैगरी, चीनले अनुदान दिने भनिएका ब्रुमर पनि ल्याउने तयारी गरिरहेको छ । प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा गएका बेला चीनको छेङदु नगरले ब्रुमर दिने प्रतिबद्धता जनाएको थियो । उक्त नगर एसोसिएसनका कार्यकारी उपाध्यक्ष जियाङ बिनले वातावरण व्यवस्थापन विभागका तत्कालीन प्रमुख हरिबहादर कुँवरलाई २०७५ साउनमा चाबी हस्तान्तरण गरेका थिए । प्राविधिक प्रक्रिया मिलाउन समय लागेकाले केही ढिला भइरहेको प्रवक्ता डंगोलले बताए ।

महानगरलाई प्राप्त हुन लागेका यी ब्रुमर पनि युरो मापदण्ड ४ का हुन् । सडक बढार्नुअघि पानी छम्केर धूलो नउड्ने बनाएपछि धूलो र कसिंगर संकलन गर्न सकिन्छ । इटालीबाट ल्याइएका ५, चिनियाँ अनुदानका २ र हाल रहेको एक गरी काठमाडौं महानगरसँग ८ वटा ब्रुमर हुनेछन् । महानगरको ब्रुमर पुरानो भएका कारण सञ्चालनमा छैन ।

प्रकाशित : चैत्र १३, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?