कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘गुफा पुगेपछि मन आनन्द’

ललितपुर — सिँढी बिछ्याइएको बाटो । लालीगुराँसले भरिएको वन, जमानेमान्द्रो बुटी, सुनगाभा । यस्ता मनमोहक दृश्यले डेढ घण्टा उकालो चढेको पर्यटकले भेउसमेत पाउँदैनन् । ललितपुर दक्षिण भेग भारदेउस्थित गुप्तेश्वर गुफामा नयाँ वर्षको दिन दर्शनार्थीहरूको घुइँचो लाग्यो । लगनखेलबाट २५ किमि दक्षिणमा र भारदेउको फेदबाट ८ किमि डाँडामा पर्छ । 

प्याङगाउँका रमेश महर्जन पाँच वर्षदेखि निरन्तर यहाँ पुग्ने गरेका छन् । भन्छन्, ‘यहाँ देवताको पूजा गर्न पाइयो । रमाइलो गर्न पनि पाइयो ।’ उनले गुफामा छिरेर भगवान्को दर्शन गरेपछि मन आनन्द हुने गरेको बताए । डाँडाको टुप्पोमा करिब एक सय जना अट्ने समथर चौर छ । त्यहाँ एउटा पुरानो ठूलो रूख छ । रूखको फेदमा मान्छे छिर्न मिल्ने प्वाल छ ।


यही प्वाल नै गुप्तेश्वर महादेव मन्दिर रहेको गुफाको प्रवेशद्वार हो । गुप्तेश्वर महादेव मन्दिरका पुजारी कृष्ण नगरकोटी भन्छन्, ‘भस्मेश्वर राक्षसले लखेटेपछि महादेव भागेर यही गुफामा गुप्तबास बसेका थिए । यही बसेर ध्यान पनि गरे ।’ गुफाभित्र गणेशको शिर, गाईको थुनजस्ता अनौठा आकृति देख्न सकिन्छ । करिब ५० मिटर भित्र छिरेपछि गुप्तेश्वर महादेवको मन्दिर पुगिन्छ ।


गुफाभित्र धर्म ढोका रहेको र पाप गर्नेहरू उक्त ढोकाबाट भित्र प्रवेश गर्न सक्दैनन् भन्ने जनविश्वास छ । महादेवको दर्शन गर्न आएका कतिपय त्यो ढोकामा अड्कने गरेको पुजारी बताउँछ । ‘विविध आकर्षण र धार्मिक महत्त्वका कारण टाढादेखि भक्तजन यहाँ आउने गर्छन्,’ पुजारीले भने ।


गुफा कोन्ज्योसोम गाउँपालिका ५ मा पर्छ । गुफामा पुग्न भारदेउ पौवा चौर हुँदै पूर्वी दिशातर्फ जंगलको बाटो लाग्नुपर्छ । डाँडामा पुगेपछि अक्सिजन नपुग्ला भन्ने चिन्ता हुँदैन । महाभारत शृंखलाको घनाजंगलको बीचमा चट्टानी पहरोले बनेको गुफा आसपास करिब २० देखि ९ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम पाइन्छ ।


यहाँ नयाँ वर्षका दिनबाहेक वैशाख पूर्णिमा र माघेसंक्रान्तिमा पनि मेला लाग्ने गर्छ । चापागाउँ टाहाखेलकी हीरामाया महर्जन गुप्तेश्वर प्रत्येक वर्ष पुग्ने गर्छिन् । गुफा पुगेर फर्किंदै गरेकी उनले महादेवको दर्शनपछि मन हलुका हुने गरेको बताइन् । ‘त्यसैले प्रत्येक वर्ष यहाँ आउने गरेको छु,’ उनले भनिन् । यहाँ हिन्दु र बौद्ध धर्मभिक्षु, लामा तथा झाँक्री अन्तर्ध्यान र दैवीशत्ति प्राप्ति गर्ने आकांक्षामा पूजा तथा दर्शन गर्न आउने गर्छन् ।


विष्णुका दस अवतारमध्ये एक अवतार बुद्ध हो । ‘त्यसैले बौद्ध धर्मावलम्बीले पनि महादेवलाई बुद्धकै रूप मान्छन्,’ पुजारी नगरकोटी भन्छन्, ‘मन्दिरप्रति हिन्दु र बुद्ध धर्मवलम्बीको समान आस्था पाइन्छ ।’ कोन्ज्योसोम गाउँपालिका ५ का वडाध्यक्ष सुवीन्द्र वल भन्छन्, ‘भारदेउको विकास गर्न मन्दिरको संरक्षण प्रवर्द्धन गर्न आवश्यक छ ।’ उनले दक्षिण दुर्गम पहाडी भेगमा परेको मन्दिर भएकाले हुनुपर्ने प्रचारप्रसार पनि नभएको बताए । ‘विकासका योजना बनाइसकेका छौं,’ उनले भने, ‘पर्यटनलाई मुख्य आधार बनाएका छौं ।’


गुफाबाहेक भारदेउमा धार्मिक, पौराणिक मन्दिर, पौवा, गुम्बास्थल छन् । यो हाइकिङमा रुचाउने पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य स्थल पनि हो । गुफाको फेदीमा बगेको नौ खण्डेखोलामा स्नान गरी महादेवको पूजा गरेमा दशा संकटबाट मुक्त

मिल्ने जनविश्वास छ ।


त्यस्तै दक्षिण भेगको गोटीखेलस्थित वैतर्णीधाममा पनि नयाँ वर्षको उपलक्ष्यमा मेला भर्नेको भीड लागेको छ । धरानको बराह, गुल्मीको रिडी र मुस्तानको मुक्तिनाथजस्तो पुरातात्त्विक महत्त्वको तीर्थस्थल गोटीखेलको त्रिवेणी वैतर्णीधाम र घडघडा नदी हुन् ।

प्रकाशित : वैशाख २, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?