नयाँ वर्ष जात्रामय

कान्तिपुर संवाददाता

भक्तपुर — नयाँ वर्षको अवसरमा जिल्ला जात्रामय बनेको छ । मध्यपुर थिमिमा प्रसिद्ध बिस्का जात्राको रौनक छ । अन्य ठाउँमा पनि जात्रा चलिरहेको छ ।

भक्तपुर नगरपालिका भेलुखेलस्थित चैत मसान्तका दिन उभ्याइएको लिंगो ढालिँदै । तस्बिर : लीला श्रेष्ठ/कान्तिपुर

बिस्काको पाँचौं दिन अर्थात् नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अघिल्लो दिन उभ्याइएको लिंगो ढालिएको छ । चैत मसान्तको दिन राति भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिंगो दिनभर पूजाआजा गरी आइतबार साँझ ढालिएको हो ।

Citizen

तान्त्रिक विधिपूर्वक दसकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठवटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिंगोको कोखामा झुन्ड्याइएका दुईवटा ध्वजालाई
वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केट (बिस्का) को लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नास हन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीयको भनाइ छ ।

अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नागनागिनाको प्रतीकस्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गःहिटी पुर्‍याएको छ ।

जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वस्थित उभ्याइएको ज्याठा गणेशको ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राकोपहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।

नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरीआठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ ।

विक्रम संवतअनुसार सौर्य मासको आधारमा मनाइने बिस्केट जात्रा बिःसित अर्थात् नागनागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको बताइन्छ भने विश्व केतुको पछिल्लो रूपान्तरणका रूपमा समेत विश्वनाथ एवं भैरवनाथ तथा शिवशक्तिको प्रतीकका रूपमा जात्रा मनाउने प्रचलन रहेको इतिहास एवं संस्कृतिकर्मीहरू बताउँछन् । बिस्केटलाई सहकालको देवताको प्रतीकका रूपमा समेत लिइने इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

त्यसैगरी, सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको संगमस्थल चरखण्डी मन्दिरमा आइतबार स्नान गरी जात्रा मनाएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मन्दिर परिसरमा शरीरमा बत्ती बाल्ने प्रचलन छ । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास छ ।

चरखण्डी मन्दिरमा आइतबार बिहान सबेरैदेखि तीनवटा खटसहितको खटजात्रा मनाइएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ । सूर्यविनायक नगरपालिकाका चित्रपुर, ललितपुरको टीकाथलीस्थित गुप्तेश्वर महादेव, चाँगुनारायण नगरपालिका सुडाललगायत स्थानहरूमा खटसहितको जात्रा मनाएको छ ।

त्यस्तै, मध्यपुर थिमि विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराहीलगायतको जात्रा मनाएको जनाएको छ । बिस्काकै अवसरमा सोमबार बिहान मध्यपुर थिमिमा ३२ खटसहित सिन्दुरजात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ ।

प्रकाशित : वैशाख २, २०७६ ०७:४८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘गुफा पुगेपछि मन आनन्द’

कान्तिपुर संवाददाता

ललितपुर — सिँढी बिछ्याइएको बाटो । लालीगुराँसले भरिएको वन, जमानेमान्द्रो बुटी, सुनगाभा । यस्ता मनमोहक दृश्यले डेढ घण्टा उकालो चढेको पर्यटकले भेउसमेत पाउँदैनन् । ललितपुर दक्षिण भेग भारदेउस्थित गुप्तेश्वर गुफामा नयाँ वर्षको दिन दर्शनार्थीहरूको घुइँचो लाग्यो । लगनखेलबाट २५ किमि दक्षिणमा र भारदेउको फेदबाट ८ किमि डाँडामा पर्छ । 

प्याङगाउँका रमेश महर्जन पाँच वर्षदेखि निरन्तर यहाँ पुग्ने गरेका छन् । भन्छन्, ‘यहाँ देवताको पूजा गर्न पाइयो । रमाइलो गर्न पनि पाइयो ।’ उनले गुफामा छिरेर भगवान्को दर्शन गरेपछि मन आनन्द हुने गरेको बताए । डाँडाको टुप्पोमा करिब एक सय जना अट्ने समथर चौर छ । त्यहाँ एउटा पुरानो ठूलो रूख छ । रूखको फेदमा मान्छे छिर्न मिल्ने प्वाल छ ।

यही प्वाल नै गुप्तेश्वर महादेव मन्दिर रहेको गुफाको प्रवेशद्वार हो । गुप्तेश्वर महादेव मन्दिरका पुजारी कृष्ण नगरकोटी भन्छन्, ‘भस्मेश्वर राक्षसले लखेटेपछि महादेव भागेर यही गुफामा गुप्तबास बसेका थिए । यही बसेर ध्यान पनि गरे ।’ गुफाभित्र गणेशको शिर, गाईको थुनजस्ता अनौठा आकृति देख्न सकिन्छ । करिब ५० मिटर भित्र छिरेपछि गुप्तेश्वर महादेवको मन्दिर पुगिन्छ ।

गुफाभित्र धर्म ढोका रहेको र पाप गर्नेहरू उक्त ढोकाबाट भित्र प्रवेश गर्न सक्दैनन् भन्ने जनविश्वास छ । महादेवको दर्शन गर्न आएका कतिपय त्यो ढोकामा अड्कने गरेको पुजारी बताउँछ । ‘विविध आकर्षण र धार्मिक महत्त्वका कारण टाढादेखि भक्तजन यहाँ आउने गर्छन्,’ पुजारीले भने ।

गुफा कोन्ज्योसोम गाउँपालिका ५ मा पर्छ । गुफामा पुग्न भारदेउ पौवा चौर हुँदै पूर्वी दिशातर्फ जंगलको बाटो लाग्नुपर्छ । डाँडामा पुगेपछि अक्सिजन नपुग्ला भन्ने चिन्ता हुँदैन । महाभारत शृंखलाको घनाजंगलको बीचमा चट्टानी पहरोले बनेको गुफा आसपास करिब २० देखि ९ डिग्री सेन्टिग्रेडसम्मको तापक्रम पाइन्छ ।

यहाँ नयाँ वर्षका दिनबाहेक वैशाख पूर्णिमा र माघेसंक्रान्तिमा पनि मेला लाग्ने गर्छ । चापागाउँ टाहाखेलकी हीरामाया महर्जन गुप्तेश्वर प्रत्येक वर्ष पुग्ने गर्छिन् । गुफा पुगेर फर्किंदै गरेकी उनले महादेवको दर्शनपछि मन हलुका हुने गरेको बताइन् । ‘त्यसैले प्रत्येक वर्ष यहाँ आउने गरेको छु,’ उनले भनिन् । यहाँ हिन्दु र बौद्ध धर्मभिक्षु, लामा तथा झाँक्री अन्तर्ध्यान र दैवीशत्ति प्राप्ति गर्ने आकांक्षामा पूजा तथा दर्शन गर्न आउने गर्छन् ।

विष्णुका दस अवतारमध्ये एक अवतार बुद्ध हो । ‘त्यसैले बौद्ध धर्मावलम्बीले पनि महादेवलाई बुद्धकै रूप मान्छन्,’ पुजारी नगरकोटी भन्छन्, ‘मन्दिरप्रति हिन्दु र बुद्ध धर्मवलम्बीको समान आस्था पाइन्छ ।’ कोन्ज्योसोम गाउँपालिका ५ का वडाध्यक्ष सुवीन्द्र वल भन्छन्, ‘भारदेउको विकास गर्न मन्दिरको संरक्षण प्रवर्द्धन गर्न आवश्यक छ ।’ उनले दक्षिण दुर्गम पहाडी भेगमा परेको मन्दिर भएकाले हुनुपर्ने प्रचारप्रसार पनि नभएको बताए । ‘विकासका योजना बनाइसकेका छौं,’ उनले भने, ‘पर्यटनलाई मुख्य आधार बनाएका छौं ।’

गुफाबाहेक भारदेउमा धार्मिक, पौराणिक मन्दिर, पौवा, गुम्बास्थल छन् । यो हाइकिङमा रुचाउने पर्यटकका लागि पनि उत्कृष्ट गन्तव्य स्थल पनि हो । गुफाको फेदीमा बगेको नौ खण्डेखोलामा स्नान गरी महादेवको पूजा गरेमा दशा संकटबाट मुक्त
मिल्ने जनविश्वास छ ।

त्यस्तै दक्षिण भेगको गोटीखेलस्थित वैतर्णीधाममा पनि नयाँ वर्षको उपलक्ष्यमा मेला भर्नेको भीड लागेको छ । धरानको बराह, गुल्मीको रिडी र मुस्तानको मुक्तिनाथजस्तो पुरातात्त्विक महत्त्वको तीर्थस्थल गोटीखेलको त्रिवेणी वैतर्णीधाम र घडघडा नदी हुन् ।

प्रकाशित : वैशाख २, २०७६ ०७:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT