कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाटीलाई सहयोग जुट्दै

ललितपुर — भूकम्पले क्षतिग्रस्त खोकनास्थित बांज पाटी पुनर्निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ । स्थानीय बासिन्दा यसै आर्थिक वर्षभित्र पाटी बनाउने योजना छन् । पाटी नहुदाँ उनीहरूलाई संस्कृति संरक्षणमा समस्या परेको छ । नेपाल भाषामा बांजको अर्थ बाजागाजा हुन्छ ।

पाटी रुद्रायणी देवीको आरती, सांस्कृतिक नृत्य तथा जात्रापर्वमा बाजागाजा बजाउन प्रयोग हुन्छ  । पाटी पुनर्निर्माण गर्न ललितपुर महानगरले १५ लाख र सनराइज बैंकले १० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।


उनीहरू आफैंले थप १ लाख ५० हजार ८ सय ७६ रुपैयाँ जुटाएका छन् । ‘भूकम्पले भत्काएपछि पाटीमा बाजा बजाउन बाधा पुग्दै आइरहेको थियो । अब कात्तिक महिनाभर साँझ र गुँला महिनाभर बिहान दाफा भजन गाउन पनि सहज हुने भयो,’ रुद्रायणी गुठीका वैदार बेखनर महर्जनले भने । पाटी निर्माणसँगै ज्येष्ठ नागरिकलाई दिउँसो आराम गर्ने ठाउँ पनि हुने उनले बताए ।


पाटी रुद्रायणी मन्दिरअगाडि छ । खोकनाबासी रुद्रायणी देवीलाई इष्ट देवताका रूपमा पुज्छन् । यहाँ मुख्य तः गुठी, सिं गुठी र रुद्रायणी गुठी छन् । पुरातत्त्व विभागले १७ वर्षअघि खोकनालाई विश्व सम्पदामा सूचीकृत गर्न प्रतिवेदन तयार गर्दा रुद्रायणी मन्दिर, उक्त पाटी, बस्ती र तेल समेटेको थियो । मौलिक शैलीमा पुनर्निर्माण हुने पाटीले अब पनि सूचीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने वैदार महर्जन बताउँछन् । ‘पाटीसँग सम्बन्धित गतिविधि, रहनसहन, परम्परा र रीतिरिवाज १५ औं शताब्दीको जीवित

संग्रहालयजस्तै हुन्,’ उनले भने ।


ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले पर्यटक आकर्षित गर्न यहाँका सम्पदा, कला संस्कृति संरक्षणका लागि विशेष कार्यक्रम ल्याउने बताए । ‘ऐतिहासिक महत्त्वको खोकना पर्यटकीय दृष्टिले धेरै सम्भावना बोकेको सहर हो,’ उनले भने, ‘खोकना पुनर्निर्माणमा सनराइज बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको काममा निरन्तरता दिन अनुरोध छ ।’ ललितपुर महानगर–२१ वडाध्यक्ष रवीन्द्र महर्जनले क्षतिग्रस्त सम्पदा मौलिक शैलीमा पुनर्निर्माण गर्नु चुनौतीपूर्ण भएको बताए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?