बाजा संरक्षण गर्न माग

कान्तिपुर संवाददाता

ललितपुर — कपाली समाज ललितपुरले लोपन्मुख बन्दै गएको सनही, नौमती बाजा संरक्षण गर्न ललितपुर महानगरपालिकाको ध्यानआर्कषण गराएको छ ।

कपाली समुदायको पुर्ख्यौली बाजा बजाउने पाटनभरिमा एक जना मात्र बाँकी रहेको भन्दै महानगरमा ध्यानाकार्षण पत्र दर्ता भएको हो । समाजका जिल्ला सचिव राजु कपाली भन्छन्, ‘लोपन्मुख बन्दै गएको बाजा संरक्षण प्रवर्द्धन गर्न तत्काल ३ महिनाको तालिम दिनआवश्यक देखिन्छ । महानगरले बाजासंरक्षण गर्न चासो दिनुपर्‍यो ।’

पाटनमा सनई नौमती बाजा बजाउन जान्ने दुपा टोलका ७६ वर्षीय कान्छा कपाली मात्र बाँकी छन् । उनी पनि दमका बिरामी छन् । उनी भेट्न आउने प्रायःलाई लोप हुन लागेको बाजाको बारेमा जानकारी गराउँछन् । समाजका अध्यक्ष कुमारलाई पनि यही कुरा दोहोराए । उनले सुनाए, ‘सनही, पञ्चै वा नौमती फुकेर बजाइने सात वटा प्वाल भएको प्रसिद्ध स्वरबाजा हो । यो बाजा बजाएपछि अनिवार्य देवता उपस्थित हुनुपर्ने कथन छ । यस्तो ऐतिहासिक बाजा अहिले लोप हुने क्रममा छ । जसरी भए पनि बचाउनु भूमिका खेल्नुपर्‍यो ।’

कान्छाका छोरा ४९ वर्षीय रत्नलाल ललितपुर महानगरमा नगर प्रहरीका हवल्दार हुन् । उनलाई ३४ वर्षअघि कान्छाले बाजा सिक्न प्रस्ताव राखेका थिए । त्यो बेला उनलाई रुचि भएन । तर, अहिले बाजा लोप हुन लागेपछि सिक्ने रुचि पलाएको छ । रत्नलाल भन्छन्, ‘बाजा प्रशिक्षण दिएमा समय मिलाएर सिक्छु ।’

मंगलबजारका सुमन कपाली पनि बाजा प्रशिक्षण दिएमा सिक्ने तयारीमा छन् । ‘८ वर्षको छोरालाई पनि सिकाउने विचार छ,’ उनले भने । पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । २०३८ मा ५ खलकसम्मले बाजा बजाउँथे । अहिले बजाउन जान्ने बाँकी कोही अशक्त अवस्थामा छन् । ललितपुर महानगरपालिका सम्पदा शाखाकी प्रमुख चन्द्रशोभा शाक्यले लोपोन्मुख बन्दै गएको बाजा संरक्षण गरिने बताइन् । ‘यसका लागि महानगरको सामाजिक विकास समितिमा कुरा राखिनेछ,’ उनले भनिन् ।

महानगरमा दर्ता गरिएको पत्रमा बाजा रातो मत्स्येन्द्रनाथ जात्रा, पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका राजखड्ग दरबारबाट बाहिर ल्याउदा, लाखे नचाउँदा बजाउने चलन थियो । शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा दैनिक बिहान र साँझ बजाउने गर्दथे । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच, नरसिंह जात्रा, खड्ग जात्रामा भने कान्छाले धान्दै आइरहेका छन् । बाजा लोपसँगै विभिन्न देवीदेवताका नाममा बनाइएका नेपाल भाषामा लेखिएका बाह्रै महिनाका गीत पनि हराउने खतरा बढेको छ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्

आततायी आतंक

सम्पादकीय

काठमाडौँ — ‘हामीलाई अरू प्राणीभन्दा अलग गर्ने केही छ भने त्यो कहिल्यै नभेटेका ती मानिसहरूका लागि पनि शोकमा डुब्ने हाम्रो क्षमता नै हो ।’ यस मानेमा अमेरिकी लेखक डेविड लेभिथान सोह्रै आना सही छन् । त्यही शक्तिकै कारण आइतबार श्रीलंकामा भएको बम विस्फोटका घटनामा विश्व स्तब्ध बन्यो ।

एउटै उपमहाद्वीपमा भएका हामी नेपाली मात्र होइन, संसारभरका मानिस भावविह्वल बने । मानवताको त्यान्द्रो समातेर श्रीलंकासित जोडिए । शोकमा डुबेका श्रीलंकावासीको वेदनालाई आफ्नो पनि बनाए ।

तीन दशक लामो गृहयुद्धबाट थिलोथिलो बनेको श्रीलंकालाई अर्को ठूलो चोट लागेको छ । तमिल विद्रोहीहरूको पृथकतावादी युद्ध सकिएको एक दशकयताको सबैभन्दा बीभत्स घटना हो यो । क्रिस्चियन धर्मावलम्बीहरूको महत्त्वपूर्ण दिन ‘इस्टर सन्डे’ पारेर चर्च र होटलहरू विस्फोट गराइएको छ । नियोजित रूपमा भएको शृंखलाबद्ध विस्फोटमा करिब ३ सय जनाले ज्यान गुमाए । पाँच सयभन्दा बढी घाइते छन् । मृत्यु हुनेमा केही विदेशीसमेत छन् ।

प्रहरीले आतंकवादी घटना हुन सक्ने सुइँको पहिल्यै पाएको रहेछ । दुई साताअघि प्रहरी प्रमुखले उच्च पदस्थहरूलाई सुरक्षा सतर्कता अपनाउन भनेका पनि रहेछन् । तर कहाँ कस्तो आक्रमण हुन्छ भनेर ठम्याउन चुक्यो प्रहरी । सोमबार साँझसम्म २९० भन्दा बढीको मृत्यु र ५०० भन्दा बढी घाइते भइसकेको यो घटनाको जिम्मेवारी भने कसैले लिइसकेको छैन । अधिकांश विस्फोट आत्मघाती आक्रमणकारीले गराएको सरकारी दाबी छ । घटनासँग सम्बन्धित भएको आशंकामा २४ जना पक्राउ परेका छन् । विस्फोटपछि सरकारले देशभर कर्फ्यु लगायो । सोमबार पनि कोलम्बोमा सन्नाटा थियो । पसलहरू बन्द थिए । चकमन्न सडकहरूमा सेना र प्रहरी मात्र तैनाथ थिए । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेका छन् ।

जसले गराएको भए पनि यो घटना मानव सभ्यताकै विरुद्धमा छ । लोकतन्त्रमा हिंसा वर्जित छ । विस्फोटका लागि छानिएको दिन र घटनास्थलले यसमा कुनै समुदायप्रति अत्यधिक घृणाको छनक देखिन्छ । जुनसुकै जाति, धर्म र समुदायप्रतिको अति घृणा कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य छैन । विस्फोट गराउनेहरूको घोषित उद्देश्य थाहा भइसकेको छैन । निहितार्थ भने बुझ्न गाह्रो छैन– निर्दोषहरूको जीवन सिध्याउने, समाजमा आतंक सल्काउने । एकअर्कामा विभाजनको बिउ रोप्ने । सरकारलाई अप्ठ्यारो पार्ने, नागरिकको अमनचयन खोस्ने, ढुक्कले बाँच्ने वातावरण कसैलाई नदिने ।

जुनसुकै तर्क र बहानाले यस्ता आतंकवादी घटनाको औचित्य पुष्टि हुँदैन । कुनै पनि विभाजनकारी कुरामा अतिविश्वास आफैंमा अतिवाद हो । त्यसले डोर्‍याउने आतंकवादसम्मै हो । हरेक अतिवादी दृष्टिकोणले मलजल गर्ने हिंसा र आतंकलाई नै हो । यो पाठ विश्वभरका लागि हो, किनकि आतंकवादको कुनै सिमाना हुँदैन । बेलायती अनलाइन मिडिया इन्डिपेन्डेन्टले सम्पादकीयमा लेखेझैं यो घटना विश्व आतंकवादबाट अझै मुक्त छैन भन्ने दह्रो प्रमाण हो ।

तमिल विद्रोहीहरूलाई रक्तपातपूर्ण दमनमार्फत निमिट्यान्न पारे पनि श्रीलंकामा हिंसाका छिटपुट घटनाहरू भई नै रहेका थिए । बहुसंख्यक बौद्ध धर्मावलम्बीहरूको निसानामा अल्पसंख्यक मुस्लिम पर्दै आएका थिए । केही पहिले मुस्लिमहरूको समूहले एक बौद्धमार्गीलाई पिटेपछि बदलामा यस्ता घटना बढेका थिए । अल्पसंख्यकविरुद्ध आक्रमण बढेपछि एक वर्षअघि सरकारले संकटकाल नै लगाएको थियो ।

राजनीतिक रूपमा पनि यो टापु मुलुक स्थिर छैन । गत अक्टोबरमा मात्रै संवैधानिक संकट निम्तिएको थियो । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसदीय सर्वोच्चतालाई चुनौती दिँदै रनिल विक्रमासिंघेलाई अपदस्थ गरी महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री बनाए । सर्वोच्च अदालतले उक्त कदमलाई अवैध घोषणा गरेर उक्त संकट टारिदियो । बहुल समाजमा यस्ता मतभेदहरू हुन्छन्, ध्रुवीकरणको हदशत्रुतापूर्ण तहमा हुनुहुँदैन ।

कतिपयले अहिलेको विस्फोट चरमपन्थी मुस्लिमहरूले गराएको आशंका गरेका छन् । शान्तिकामी मुस्लिमहरू यो घटनाबाट उत्तिकै दुःखी छन् । मुस्लिम काउन्सिल अफ श्रीलंकाले धार्मिक र जातीय विभाजन ल्याउन विध्वंसकारी तत्वले आक्रमण गराएको जनाएको छ । विस्फोटमा संलग्न जोसुकै भए पनि आतंकवादीको कुनै धर्म हुँदैन न कुनै जात/सम्प्रदाय हुन्छ । त्यसैले यसलाई लिएर अबका दिनमा बदलाका घटनाहरू हुनुहुँदैन । नत्र बदलाले स्वभावतः अर्को बदला निम्त्याउने भएकाले यो अन्त्यहीन शृंखला हुन जानेछ ।

हृदयविदारक घटनापछिको यो पलमा श्रीलंकाली समाजका सबै तह र तप्काका नेतृत्वले एकताको सन्देश दिन सक्नुपर्छ । के राजनीतिज्ञ, के नागरिक अगुवा, सबैले आम मानिसहरूलाई ढाडस दिनुपर्छ । भय र आतंक हटाउन सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्छ । सर्वसाधारणको जिन्दगी लयमा फर्काउन र नागरिक स्वतन्त्रता कायम राख्न सबै एकजुट हुनुपर्छ । गौतम बुद्धको विश्व सन्देश शान्ति हो । आस गरौं, बौद्ध धर्मावलम्बीको बाहुल्य भएको श्रीलंकामा चाँडै शान्ति आउनेछ ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्