कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागार्जुनमा प्लटिङ

शिल्पा कर्ण

काठमाडौं — नागार्जुन नगरपालिकामा सरकारी जग्गा मिचेर भएको प्लटिङ अझै रोकिएको छैन  । साविकको रामकोट गाविस वडा नं. ८ तथा हाल नगरको वडा नं. ६ स्थित जयन्तीगाउँको भीरमा गरिएको प्लटिङ नरोकिँदा वर्षायाममा पहिरोको जोखिम बढेको छ  ।

नागार्जुनमा प्लटिङ

उक्त नगरको अन्य विभिन्न स्थानमा पनि प्राकृतिक जोखिमको ख्याल नगरी जथाभावी जग्गा सम्याउने र बेच्ने कार्य भइरहेको छ । यस स्थानमा पनि पछिल्लो वर्षदेखि पहाड काट्ने र सम्याई प्लटिङ गर्ने कार्य भइरहेको छ । अहिलेकै वर्षाले प्लटिङ गरिएको ठाउँका केही साना पर्खाल चर्किसकेका छन् ।


नगरका प्राविधिकहरूले जोखिमयुक्त स्थान भने पनि आफूलाई त्यस विषयमा केही जानकारी नभएको र आफूहरू अनुगमनमा नगएको प्रतिक्रिया दिए । वडाध्यक्ष राजेन्द्र बुढाथोकीले भने व्यक्तिहरू आफू आफू मिलेर प्लटिङ गरिरहेको बताए । त्यहाँका स्थानीयलाई कुनै जोखिम नभएको र कसैको गुनासो नआएको उनको दाबी छ ।

‘त्यहाँ गाउँका मान्छे कसैले गुनासो गरेको छैन, कुनै आपत्ति छैन,’ उनले थपे, ‘खै कसलाई पेट पोलेको हो । वन कार्यालयले नापेर दिएको पत्र, सामुदायिक वनका अध्यक्ष र छेउछाउका घर सबैले स्वीकृति दिएकै हुन् । वडामा आवश्यक प्रक्रिया गरेकै छ, शुल्क तिरेकै छ ।’ त्यहाँ ८ मिटरको बाटो बनिरहेको छ । त्यसका लागि बजेट समेत छुट्याइसकिएकाले सडकको जग्गा मिचेको जस्ता आरोप निराधार रहेको उनले दाबी गरे ।


यस विषयमा ‘प्लटिङ पीडित तथा राष्ट्रवादी समुदाय’ को नामबाट नगरपालिकाका पदाधिकारी तथा सम्बन्धित निकायमाथि अनुसन्धान गरी कारबाही गर्न भनी उजुरी परेको थियो । मंसिरको सुरुवातमै दिइएको निवेदनमा कित्ता नं. ४५, ४६, ४७, ८५, ८७, १५७ र १५८ लगायतका जग्गा प्लटिङ भएको उल्लेख छ । उजुरीअनुसार दैनिक २/३ वटा डोजरले ३५ रोपनी जति जग्गा सम्याउने र प्लटिङ गरिरहेका छन् ।

वडा नं. ६ को कार्यालय नजिकै रहेको उक्त ठाउँमा जनप्रतिनिधि पनि मूकदर्शक बनेका छन् । उजुरीमा उक्त प्लटिङ ‘भूउपयोग नीति तथा अन्य नियमविपरीत बिना स्वीकृति’ भइरहेको उल्लेख छ । प्लटिङ गर्नेहरूले त्यहाँ छेउछाउका स्थानीयको जग्गा मिच्दै र विरोध गरेमा धम्क्याउने गरेका छन् ।

‘जग्गा प्लटिङ गर्दा जंगल तथा अन्य सार्वजनिक जग्गा तथा बाटोहरू मिचिएको मात्रै नभई सिमानामा परेको जग्गाधनीहरूलाई डर धम्कीमा पारी बिनाकुनै लिखित सम्झौता उनीहरूको जग्गासमेत प्लटिङमै मिलान गरिएको छ,’ निवेदनमा भनिएको छ, ‘ती जग्गाधनीहरू कुन, कति र कस्तो जग्गा फिर्ता पाउने हो भन्ने बारेमा अन्योलमा छन् ।’

निवेदकमध्येका सम्पर्कमा आएका एक व्यक्तिले भने, ‘त्यहाँ वर्षामा घरमा पहिरो पस्छ भनेर स्थानीय चिन्तित छन् । तर वडा, नगर र प्राविधिक कर्मचारीकै मिलेमतोमा प्लटिङ भइरहेको छ ।’

उनको भनाइमा राजनीतिक दलको संरक्षण प्राप्त मान्छेले स्थानीयलाई डरधम्की देखाइरहेका छन् । माथि रहेको सामुदायिक वनका रुखै ढल्ने गरी पहाड काटिएको र वर्षायाममा यसले विपद् निम्त्याउन सक्ने सम्भावना रहेको उनले बताए । ‘अहिले नै पानी परेर त्यो पर्खालहरू चर्किसकेको छ । वर्षामा भेलले झन् के होला?’ उनले भने,‘ त्यस्तो डाँडै खोस्रेर भीरमा प्लटिङ गरेर किन्ने पनि मर्कामा वरपरका घर भएका पनि त्रासमा छन् ।’

अख्तियारमा परेको निवेदनपछि आवश्यक कारबाही गर्न अनुरोध गर्दै सोही महिना २५ गत्ते नागार्जुन नगरपालिकामा पत्र आएको छ । नगरपालिकाले वडालाई यस विषयमा थप यकिन गर्न आवश्यक ठानी तत्काल निर्माण कार्य रोक्का गर्न कित्ता नं. उल्लेख भएको पत्र पठाएको थियो । नगरपालिकाका योजना उपशाखा प्रमुख नारायणप्रसाद तिमल्सिनाले वडाबाट त्यसको जवाफ माघ ३ गते प्राप्त भएको जानकारी दिए ।

उनले भने, ‘वडामा मौखिक वा लिखित उजुरी नआएको, वडामा निर्धारित शुल्क बुझाई स्थानीयसँग गोप्य रूपमा बुझ्दा कुनै समस्या नभएको भेटिएकोले रोक्का गरिएको सबै जग्गाको कित्ताकाट खुलाउन अनुरोध भएको थियो ।’ वडाबाट आएको पत्रपछि ती जग्गामा भइरहेको काम नरोकिएको उनले बताए । वन कार्यालयका कर्मचारीले समेत जग्गा नापेर गएको र वडाले अन्य सिमांकन पनि गरिसकेको जानकारी नगरलाई प्राप्त भएको उनको भनाइ छ ।

प्रकाशित : वैशाख १४, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?