कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेड नं. २६३ मा २१ दिन

'बिहान चिया ख्वाएर, खाना पकाएर रिजल्ट सुन्न गएको थियो,' बुवा तिलकले भने, 'उही स्कुलमा पढ्ने अर्को छोरोले पिठ्युँमा बोकेर ल्यायो । आफ्नो कक्षामा प्रथम भएछ, अर्कोतिर गोडा जलेछ ।'
शिल्पा कर्ण

काठमाडौँ — कान्ति बाल अस्पतालको बर्न विभागमा बेड नं. २६३ मा भेटिन्छन् १० वर्षीय सन्तोष पण्डित । हातमा स्लाइन चढाइएकोले र दुवै खुट्टा जलेकोले पट्टी बेरिएका छन् । उनका साथमा छन्, बुवा तिलक । दुवैको अस्पतालको बसाइ मंगलबार २१ दिन नाघ्यो । उनीहरूको नयाँ वर्ष पनि अस्पतालमै बित्यो । 

बेड नं. २६३ मा २१ दिन

कक्षा चारको वार्षिक परीक्षामा प्रथम भएको खुसीले घर फर्किँदै गरेका सन्तोषको त्यही दिन खुट्टा जल्यो । चैत २७ गते नुवाकोटको पञ्चकन्या गाउँपालिका-३ का उनी साथीहरूसँग परीक्षाको नतिजा सुनेर घर जाँदै थिए । आफू पढ्ने विद्यालय पञ्चकन्या माविमा रिजल्ट सुनेर फर्किने क्रममा सन्तोष जब आगोमा टेक्न पुगे, उनको खुसी अचानक पीडामा बदलियो ।


'बिहान चिया ख्वाएर, खाना पकाएर रिजल्ट सुन्न गएको थियो,' बुवा तिलकले भने, 'उही स्कुलमा पढ्ने अर्को छोरोले पिठ्युँमा बोकेर ल्यायो । आफ्नो कक्षामा प्रथम भएछ, अर्कोतिर गोडा जलेछ ।' खुसी हुने समय नहुँदै पीडामा पर्‍यो उनको परिवार । जाडोयाममा बाहिर प्लास्टिक र भित्र भुवा भएको जुत्ता लगाएका उनको खुट्टा गाउँकै काठ मिलले सडक छेउको भुसमा लगाएको आगोमा पर्न गयो । हिँड्न नसक्ने अवस्थामा रहेका सन्तोषलाई उनका दाइले बोकेर घर पुर्‍याए । परिवारका सबै आत्तिए, तुरुन्तै गाउँकै मान्छेलाई भनेर मोटरसाइकलमा उनलाई मुख्य सडकसम्म ल्याइयो ।


जन्ती आइरहेको गाडीमा बाबुछोरा उपचारका लागि काठमाडौं आए । 'वैशाख ८ गतेसम्म पनि त्यो काठको धूलोमा आगो लागेकै थियो,' श्रीमतीले छोरा भेट्न आएका बेला सुनाएको बताए । ती मिल मालिकले उपचारमा सहयोग गर्नेबारे केही बोलेका छैनन् । उपचारका लागि ल्याउँदा तुरुन्तै भर्ना गर्नुपर्ने भयो । चार दिनसम्म राति छोराको दुखाइ र पीडाले बाबु पनि सुत्न सकेनन् । 'राति राति झसङ्ग हुन्थ्यो । उसलाई गाह्रो हुँदा म कसरी निदाउन सक्नु,' तिलकले सुनाए, 'तर गाउँपालिका र विद्यालयले सकेको सहयोग गरेको छ ।'


गाउँपालिकाले १५ हजार र उनको स्कुलले चन्दा उठाएर १० हजार ६ सय रूपैयाँ सहयोग गरेको छ । बाँकी खर्च उनले ऋण काढेर चलाइरहेका छन् । 'अहिलेसम्म १ लाख ३५ हजार खर्च भइसक्यो । अझै अप्रेसन बाँकी छ' तिलकले भने, '७० देखि ८० हजार अझै लाग्ने जस्तो छ ।,' सामान्य खेती किसानी गरेर ७ जनाको परिवार जसोतसो पालिरहँदा अचानक यो दुर्घटनाले अझै विपत्ति थपेको उनको भनाइ छ ।

उपचारका लागि आवश्यक रकम जोहो गर्न नसक्दा उपचार प्रभावित हुने हो कि भन्ने डर छ उनमा । सन्तोषको एकपल्ट शल्यक्रिया भइसकेको छ । चिकित्सकका अनुसार सन्तोषको जलेको स्थानमा गहिरो घाउ (डीप बर्न) लागेको छ । अब दोस्रो शल्यक्रियामा सन्तोषकै तिघ्राको छाला निकालेर उनको घाउमा लगाइने छ ।


पढाइमा निकै राम्रो गर्ने सन्तोषका साथी विद्यालय जाने भएपनि दुर्घटनापछि उनी अस्पतालको वार्ड बाहिर निस्किन सकेका छैनन् । दुखाइ पहिलेभन्दा कम भइसकेकोले अहिले उनी भेट्न आएकासँग सजिलै घुलमिल हुन्छन् र कुराकानी गर्छन् । चाँडै निको भएर विद्यालय जाने इच्छा रहेको उनले सुनाए ।

प्रकाशित : वैशाख १७, २०७६ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?