कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऐतिहासिक पोखरी मासेर वृद्धाश्रम बनाइँदै

ललितपुर — थेचोको ऐतिहासिक र सांस्कृतिक पिंन पोखरीमा वृद्धाश्रम बनाउने भन्दै सुरु गरिएको भवन निर्माण रोकिएको छैन । थेचोबासीको विरोध र समाचार माध्यमले पटकपटक उठाएपछि पुरातत्त्व विभागले आइतबार निर्माण रोक्न पत्राचार गरेको थियो । गोदावरी नगरपालिकाको नाममा पत्र पठाइएको थियो ।

ऐतिहासिक पोखरी मासेर वृद्धाश्रम बनाइँदै

भोलिपल्टै 'किन पत्र लेखेको' भन्दै पुरातत्त्व विभागमा निर्माणकर्ताहरू पुगेका थिए । पुरातत्त्व विभागको हलमा जम्मा भएकामध्ये स्थानीय उपभोक्ता समितिका सचिव नन्दश्याम महर्जनले पोखरीको केही भाग मासेको स्विकार गरे । 'पूरै पोखरी मासेको होइन,' महर्जनले भने, 'पुरानो सार्वजनिक शौचालय भत्काएका हौं । केही ठाउँ नपुगेपछि पोखरीको पनि केही भाग लिएका हौं । भवन बनेपछि पोखरी बनाइदिन्छौं ।'


विभागले पत्र काटेसँगै पुरातत्त्व अधिकृत पुरुषोत्तम आचार्य भवन निर्माण स्थल अवलोकन गर्न गएका थिए । उनले भवन निर्माण कार्य अघि बढिसकेको र त्यसलाई रोक्न नसकिने जवाफ दिए । उनले विभागले रोक्न नसक्ने, रोके अदालतले मात्र रोक्न सक्ने भएकाले अदालतै जानुस् भन्ने प्रतिक्रिया दिए । उनको जवाफप्रति सम्पदा संरक्षण अभियन्ताले आपत्ति जनाए । 'यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने ?' सम्पदा अभियन्ता सञ्जय अधिकारीले भने, 'बनाउन्जेल किन नरोकेको ? अहिले बनाइसके भनेर छुट दिने ?'


पुरातत्त्व अधिकृत काजी प्याकुरेलले भवन पनि बनाउन, पोखरी पनि बनाउन सकिने भन्दै प्रतिवेदन दिएका थिए । त्यही प्रतिवेदनलाई आधार बनाएर नगरपालिकाले निर्माण अघि बढाएको छ । छलफलमै सहभागी विभागका प्रवक्ता रामबहादुर कुवरले पुरातात्त्विक महत्त्वका सम्पदा इन्च पनि मिच्न नमिल्ने बताए । 'तपाईंहरू काम रोक्नुस्,' कुँवरले भने, 'सार्वजनिक सम्पत्ति एक पछि अर्काे गर्दै मिचिएका छन् । यो दुःखद हो ।'


'वृद्धाश्रम बनाउनु मात्र नभई पोखरी संरक्षण गर्नु पनि सामाजिक काम हो,' उनले भने, 'यो कुनै ठाउँ विशेषको मात्र नभई राष्ट्रकै सम्पत्ति हो । सबै मिलेर जोगाउनुपर्छ ।'


सम्पदा अभियान्ताहरूले सोमबार भवन निर्माण स्थलमा पुगेर विरोध जनाएका छन् । उनीहरूले पोखरी मासेर भवन बनाएमा न्यायालय गुर्हार्ने बताएका छन् । थेचोमा भएको भेलामा अधिवक्ता नारायण घिमिरेले सार्वजनिक सम्पदा संरक्षण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएको बताए । 'विभागबाट पठाएको रोक्का पत्रको बेवास्ता गरेर धमाधम निर्माण भइरहेको छ,' उनले भने, 'यथाशीघ्र काम रोक्नुपर्‍यो ।' उनले अटेर गरेमा फौजदारी मुद्दा दायर गरिने बताए । 'कानुनको संरक्षण गर्ने दायित्त्व सबैको हो,' उनले भने, 'यस्ता सम्पदा राष्ट्रको सम्पत्ति हुन् । व्यक्तिगत फाइदाका विषयभन्दा माथिका कुरा हुन् ।'


अर्का सम्पदाप्रेमी ज्ञानेन्द्र शाही भन्छन्, 'सडक छेउमा वृद्धाश्रमको नाममा भवन बनाई पछि व्यापारिक प्रयोजनका लागि भाडामा दिने योजना देखिन्छ ।' उनले कुनै पनि हालतमा वृद्धाश्रमको नाममा धर्म संस्कृति परम्परा सम्पदा मास्न नदिने बताए ।


आफैं नियम बनाउने, आफैं मिच्ने

गोदावरी नगरपालिकाले सम्पदा जोगाउन आफैं नियम बनाउने आफैं मिच्ने गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा को नीति तथा कार्यक्रमको ७ नम्बर बुँदामा सार्वजनिक जग्गा, वन, जंगल, खोला, खोल्सी, मठमन्दिर, पोखरीको संरक्षण कार्य प्रारम्भ भएको उल्लेख छ ।


४७ नम्बरमा गोदावरी नगर क्षेत्रभित्रका सम्पूर्ण सहकारी तथा वित्तीय संस्थालाई सामाजिक उत्तरदायित्त्व अन्तर्गत मठमन्दिर, सडक, चोक, पोखरी संरक्षण र सम्वर्द्धन गर्न नगरपालिकाको तर्फबाट आहृवान गरिने र ७८ नम्बर बुँदामा नगरभित्रको सांस्कृतिक सम्पदालाई संरक्षण र समृद्धिका लागि विषेश योजना लागू गरिने उल्लेख छ । नगर क्षेत्रभित्रका पोखरी संरक्षण तथा नगर उद्यान पार्क निर्माण गर्न ३५ लाख रुपैयाँ बजेट पनि छुट्याएको छ । तर, यी सबै योजना कागजमा सीमित छ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्पदा संरक्षण गर्न योजना बनाइरहेको दाबी गर्छन् । नगरपालिकाले चैत २५ मा पुरातत्त्व विभागमा भवन बनाउन पोखरी मिचेको डिजाइन पनि पेश गरेको थियो ।


ढुंगेधारासँग सम्बन्ध

काभे्र पनौतीका ३२ वर्षीय रामबहादुर केसी थेचोस्थित दुरुखेलमा ५ वर्षदेखि बस्दै आइरहेका छन् । यो अवधिमा उनले विरलै मात्र काठमाडौं उपत्यका खानेपानी लिमिटेडले वितरण गरेको धाराको पानी खाए । उनी दैनिक घर नजिकैको ढुंगेधाराको पानी खाँदै आइरहेका छन् ।


खानेपानी बाहेक ढुंगेधाराको पानीबाट भाँडाकुँडा माझ्ने, नुहाइधुहाइ र लुगा धुने गर्छन् । दूरीखेलमा तीन वटा ढुंगेधारा छन् । ढुंगेधाराको स्रोत चापागाउँ र थेचोका पोखरीहरू हुन् । अहिले थेचोस्थित पिंन पोखरीमा स्थानीय उपभोक्ता समितिले ज्येष्ठ नागरिक भवन बनाउने नाममा ढलान गर्न थालेपछि उनी चिन्तित छन् ।


दूरीखेलका ६२ वर्षीय रिकेश्वर केसी ढुंगेधाराको पानी खाएर हुर्किए । ८२ वर्षीय ज्ञानबहादुर केसीलाई ढुंगेधाराको बाहेक धाराको पानी स्वादिलो लाग्दैन । उनीहरूजस्तै ढुंगेधाराको पानी दैनिक उपभोग गर्ने थेचोमा ३ सय परिवार छन् । उनीहरू पनि पोखरी मास्न लागेकोमा चिन्तित छन् । दूरीखेलका रिकेश्वर भन्छन्, 'ढुंगेधारा खानेपानी मात्र नभई कसैको मृत्यु भएमा क्रिरिया बस्न नुहाउन पनि प्रयोग हुन्छ ।' 'यसबाहेक व्रतबन्ध बस्दा, घरमा पूजा गर्दा यहाँकै पानी जलको रूपमा प्रयोग गरिन्छ,' उनले भने, 'ज्येष्ठ नागरिक भवन अन्यन्त्र बनाए पनि हुन्छ । पोखरी नै मासेर बनाउनु गलत हो ।'


थेचोमा अहिले खानेपानीको चरम समस्या छ । यहाँका स्थानीयबासी ढुंगेधारामा भरपर्दै आइरहेका छन् । पुरातत्त्व विभागका रिटायर अधिकृत ठेचोका स्थानीय बाबुकृष्ण माली भन्छन्, 'प्राचीन वास्तुशास्त्र अनुसार बस्तीमा तीन तहमा पोखरी खनिएका हुन्छन् । एउटा बस्तीको सिरानमा अर्को बीच र पुछारमा । यी पोखरी ढुंगेधारा र पानीको मुहान जोड्न रणनीतिक हिसाबले खनिएका हुन् । त्यसैले पोखरी मास्नु भनेको ढुंगेधारा मास्नु सरह हो ।'


उनका अनुसार जमिनमुनि ठाउँ/ठाउँमा भूमिगत जलभण्डारण हुन्छ । 'यी भण्डारण र बस्तीका पोखरीबीच लिंक हुन्छ । पोखरीमा पानी भरेपछि जलभण्डारमा अटोमेटिक भर्छ,' उनले भने, 'जलभण्डार भरेपछि ढुंगेधारामा पानी बग्छ ।' उनले गोदावरी नगरपालिका-१२ थेचो वडा कार्यालय पछाडिको फुंगा पोखरी त्यही नजिकै वनको ढुंगेधारा स्रोत भएको बताए । 'दूरीखेलस्थित खेलमैदानमा परिणत भएको पोखरी धापाखेलस्थित मुहानको स्रोत हुन्,' उनले भने ।

प्रकाशित : वैशाख २४, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?