वीरमा मिर्गाैला प्रत्यारोपण रोकियो

फातिमा बानु

काठमाडौँ — औषधि अभावका कारण वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण रोकिएको छ । अस्पतालले अंग प्रत्यारोपण गर्दा प्रयोग हुने मुख्य औषधि (एटीजी) खरिद गर्न नसक्दा पाँच महिनादेखि मिर्गौला प्रत्यारोपण हुन नसकेको हो । विशेषज्ञका अनुसार एटीजी औषधि बिरामीको अंग प्रत्यारोपण गर्नुअघि र गरेपछि प्रयोग गरिन्छ ।


वीरमा दस वर्षअघि सुरु भएको मिर्गौला प्रत्यारोपण विभिन्न समस्याका कारण बेला-बेला रोकिने गरेको थियो । चार वर्षअघिको भूकम्पले अस्पतालको भवन भत्कियो र ७ बेडको यो विभाग २ बेडमा खुम्चियो । भौतिक पूर्वाधार र जनशक्ति अभावपछि अस्पतालले सातामा एक पटक मिर्गौला प्रत्यारोपण गर्ने गरेको थियो । अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीका अनुसार प्रत्यारोपणका लागि शल्यकक्ष र शल्यचिकित्सक दुवैको अभावले यो सेवा अघि बढन सकेको छैन ।

अस्पतालमा अहिले मिर्गौला शल्यचिकित्सकको दरबन्दी भए पनि त्यसमा चिकित्सक छैनन् । सेञ्चुरी भन्छन्, 'तालिमप्राप्त जनशक्ति छन्, प्रत्यारोपणकै विशेषज्ञ छैनन् । नर्सिङ कर्मचारी र अन्य स्वास्थ्य कर्मचारी पनि न्यून छन् ।' औषधि उपलब्ध भएमा थोरै बिरामीलाई भए पनि प्रत्यारोपण सेवा दिन सकिने बताउँदै उनले थपे, 'महँगो औषधि भएकाले कोटेसनमा किन्न सम्भव छैन । टेन्डर गर्नुपर्ने भएकाले लामो समयसम्म सेवा अवरुद्ध भएको हो ।' सेवा रोकिएसँगै प्रत्यारोपण युनिटका कर्मचारीलाई अन्य विभागमा खटाइएको छ ।

पछिल्लो एक दशकदेखि हालसम्म अस्पतालबाट १ सय ४६ जनाको मिर्गौला प्रत्यारोपण भएको छ । प्रत्यारोपण सेवाका लागि दिनहुँ बिरामी आए पनि अन्य अस्पतालमा रिफर भइरहेका छन् । प्रत्यारोपणका लागि अन्य अस्पतालमा पनि पालो नपाएपछि वीरमा अहिले १० बिरामी सेवा कुरिरहेका छन् ।

यो औषधि खरिदमा कमिसन नआउने भएकाले बेवास्ता गरिएको कर्मचारी स्रोत बताउँछन् । 'कमिसन आउने खालका सामान रातारात किन्छन्, फाइदा नहुने सामान किन्दै किन्दैनन्', स्रोतको दाबी छ । इकाइले वर्षभरि पुग्ने औषधि व्यवस्थापन गर्न नसक्दा सेवा अवरुद्ध हुने गरेको उनीहरू बताउँछन् ।

अस्पतालको खरिद इकाइ प्रमुख भगवती थपलियाका अनुसार अघिल्लो वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स) का पदाधिकारी नभएका कारण औषधि खरिद गर्न सकिएको थिएन । उनी भन्छिन्, 'हामीले टेन्डर प्रक्रिया पहिल्यै तयार गरेका थियौं । निमित्त पदाधिकारीलाई आर्थिक अधिकार धेरै नभएकाले टेन्डर प्रक्रिया अल्झेको थियो ।' टेन्डर प्रक्रिया अघि बढिसकेकाले चाँडै नै प्रत्यारोपण सेवा सुरु गरिने उनले बताइन् ।

मिर्गौला प्रत्यारोपणसम्बन्धी निर्देशिका-२०७४ अनुसार मिर्गौला प्रत्यारोपणका लागि सरकारले एक जना बिरामी बराबर ४ लाख ५० हजार रकम दिने व्यवस्था गरेको छ । बिरामी र मिर्गौला दान गर्ने व्यक्तिलाई भने प्रत्यारोपणपछि औषधि उपचारका लागि थप डेढ लाख रुपैयाँ पनि सरकारले दिने गरेको छ । यस्तो व्यवस्था भएसँगै बिरामी प्रत्यारोपणतर्फ आकषिर्त भएका छन् ।

सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपणका लागि तोकेका केन्द्रमा समस्या आइरहेका कारण बिरामी मर्कामा पर्ने गरेका छन् । निःशुल्क प्रत्यारोपणका सरकारले नेपालभर तीन अस्पताल तोकेको छ । वीर अस्पताल, सहिदभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल टिचिङ । तीनै केन्द्रबाट बिरामीको चापअनुसार सेवा दिन सकिएको छैन ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नेपालमा प्रतिदस हजारमध्ये एक जनाको मिर्गौला फेल हुने गरेको छ । यसअनुसार नेपालमा बर्सेनि तीन हजार व्यक्तिको मिर्गौला फेल हुन्छ । यस्ता बिरामीलाई उपचारको दुई विकल्प छ- डाइलासिस गर्ने र मिर्गौला प्रत्यारोपण गर्ने । नेपालमा दुवै सेवा प्रभावकारी नहुँदा बिरामीले दुःख पाइरहेका छन् ।

प्रकाशित : वैशाख २६, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गलत समूहको रगत चढाइएकी बालिकाको मृत्यु

फातिमा बानु

काठमाडौँ — बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा गम्भीर भएकी बालिकाको गएराति मृत्यु भएको छ । सर्लाहीकी ५ वर्षीया बालिका आकृतिकुमारी साहको शल्यक्रिया क्रममा अर्कै समूहको रगत चढाएपछि स्वास्थ्य गम्भीर थियो ।

शल्यक्रियामा डा. नवीनचन्द्र गौतमले बालिकाको मृत्यु भएको पुष्टि गर्दै के कारणले मृत्यु भएको हो अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, 'बालिकाको ज्यान गयो । हामी दुःखी छौं । के-कसरी यस्तो भयो छानविन हुन्छ ।'

मृतक बालिकाका आफन्त भने अस्पतालको लापरबाहीले ज्यान गएको भन्दै आक्रोशित बनेका छन् । अस्पतालले सम्बनधित चिकित्सकलाई कारबाही र बालिकाको परिवारलाई उचित क्षतिपूर्ति नदिएसम्म शव नउठाउने पक्षमा छन् । बालिकाको शव अहिले गंगालाल अस्पतालमै छ ।

मृतकका आफन्तले गंगालाल परिसरमा आन्दोलन गरिरहेका छन् ।

यस्तो भएको थियो

मेडिकल रिपोर्टमा बालिकाको रक्तसमूह 'ओ' पोजिटिभ छ । रगत चढाइएको रिपोर्टमा भने 'ए' पोजिटिभ लेखिएको छ । मुटुमा समस्या भएपछि वैशाख १३ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । १७ गते उनको शल्यक्रिया गरिएको थियो ।

अवस्था गम्भीर भएपछि अस्पतालले बिरामीलाई भेट्न नदिएको आफन्तको गुनासो छ । गलत रगत चढाइएकोबारे खोजीनिती गर्न थालेपछि बिरामी पक्ष र अस्पताल प्रशासनसबीच विवाद भइरहेको छ । अस्पतालले बालिकाको रगत समूह 'ए' पोजिटिभ नै थियो भन्ने जबर्जस्ती पुष्टि गर्नका लागि रगतसम्बन्धी तीनवटा रिपोर्टमा केरकार गरी आफैंले लेखेको 'ओ' पोजिटिभको ठाउँमा 'ए' पोजिटिभ बनाएको भेटिएको छ ।

बालिकालाई शल्यक्रियामा लगिनुअघि बिरामीका आफन्तसँग लिइएको सहमतिमा डा. ज्योतिन्द्र शर्मा, डा.रवीन्द्रभक्त तिम्ले र डा. नवीनचन्द्र गौतमले शल्यक्रिया गर्ने उल्लेख छ । अस्पतालका निर्देशक समेत रहेका डा. शर्माले भने शल्यक्रियामा आफू संलग्न नभएको बताए ।

'यो घटनाबारे मलाई धेरै थाहा छैन, अस्पतालमा छानबिन समिति बनाएर अनुसन्धान गराउनेछु,' उनले भने, 'अनुसन्धानपछि जसबाट गल्ती भएको छ, उसलाई कारबाही गरिनेछ । बच्चाको शल्यक्रिया नै जटिल थियो । ओपन हर्ट सर्जरी जटिल नै हुन्छ ।।'

प्रकाशित : वैशाख २३, २०७६ १०:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT