यौनिक अल्पसंख्यकलाई उपचारमा विभेद

फातिमा बानु

काठमाडौँ — अस्पतालका सेवा मैत्रीपूर्ण नहुँदा यौनिक अल्पसंख्यक समुदायका बिरामीलाई उपचार कठिन भइरहेको छ । उपचार सेवा सहज नहुँदा उनीहरू रोग लुकाएर बस्न बाध्य छन् । यस्तै एक उदाहरण हुन्- पोखराका ४६ वर्षीय एक ‘परलिंगी पुरुष’ ।

जन्मँदा महिला भए पनि अहिले उनको जीवनयापन पुरुषजस्तो छ तर स्वास्थ्य समस्या महिलाझैं छन् । पाठेघरको मुखमा मासु पलाएको छ । उनी भन्छन्, ‘उपचारका लागि काठमाडौंको धेरै अस्पताल गएँ । डाक्टरले अनावश्यक प्रश्न गर्न थालेपछि अस्पताल जानै छोडेँ ।’

उपचारमा संलग्न व्यक्तिले अनेक प्रश्नहरू सोधेको उनलाई मन पर्दैन । ‘केटी भएर केटीसँग कसरी शारीरिक सम्बन्ध राख्नुहुन्छ ? पार्टनर पाउन सजिलो छ कि छैन ?’ जस्ता उपचारसँग सम्बन्धित नभएको प्रश्न सोध्दा मनमा चोट लाग्ने उनले बताइन् । यस्ता प्रश्नको जवाफ दिनुपर्ला भनेर उनी अस्पतालजान छोडिसके ।

अर्को उदाहरण हुन्- राजधानीका एक २८ वर्षीया ‘परलिंगी पुरुष’ । जन्मिँदा महिला भएर जन्मेका उनको जीवनयापन पुरुषजस्तो छ । केही समयअघि उनी र्‍यालीमा हिँड्दाहिँड्दै लडेर बेहोस भए । हतारहतार उनलाई चाबहिलको ओम अस्पताल पुर्‍याइयो ।

पहिरन पुरुषको अंग र आवाज महिलाको जस्तो भएपछि चिकित्सक उनको उपचार गर्न हिच्किचाए । के गर्ने कसो गर्ने भन्ने अन्योलताले समयमा उपचार हुन सकेन । यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू एकजुट भएर यसबारे अस्पताल प्रशासनलाई सम्झाइदिएपछि मात्रै उनलेउपचार पाए ।

दाङका एक २५ वर्षीय ‘परलिंगी’ पुरुष जन्मँदा महिला थिए । भावनाले पुरुष भए पनि शारीरिक बनावट महिलाजस्तो छ । पुरुषजस्तो देखिनका लागि उनी स्तन लुकाउने अनेक उपाय लगाउँछन् । जहिले पनि ज्याकेट लगाउने, स्तन दबिने गरी कसेर ब्यान्डेज लगाउने । स्तन थिचिएर सासै फेर्न मुस्किल हुँदा पनि उनी यस्तो गर्न छोड्दैनन् । उनी भन्छन्, ‘स्तनलाई सधंैभरि दबाएर राख्दा क्यान्सरसम्म हुन सक्छ रे । म शल्यक्रिया गरेर स्तन हटाउन चाहन्छु ।’ नेपालमा स्तन हटाउने शल्यक्रिया महँगो हुँदा उनले उपचार गर्न पाएका छैनन् ।

राजधानीका २२ वर्षीय एक ‘परलिंगी’ पुरुष जन्मिँदा महिला थिए । शरीर महिलाकै भएका कारण उनी महिनावारी हुन्छन् । यो उनलाई मन पर्दैन । हरेक महिना महिनावारी रोक्ने औषधि खान्छन् । उनी भन्छन्, ‘यस्तो औषधि सधंै खाँदा पाठेघरमा अरू समस्या आउँदो रहेछ । यसबारे अस्पतालमा परामर्श लिन जाँदा राम्रो व्यवहार गर्दैनन्, यस्तो किन गर्नुपर्‍यो भनेर हप्काउँछन् ।’ राम्रो परामर्श नपाएकै कारण उनी आफ्नै हिसाबले औषधि सेवन गरिरहेका छन् ।

कुनै समय विश्वमै रोग मानिने समलिंगी, अन्तरलिंगीलाई एक दशकअघि विश्व स्वास्थ्य संगठनले यसलाई रोग नभएको घोषणा गरिसक्यो । स्वास्थ्यकर्मीबाट उपचार विभेद हुने समस्या भने यथावत् रहेको प्रभावित बताउँछन् । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ ले प्रत्येक महिला तथा किशोरीलाई प्रजनन् स्वास्थ्यसम्बन्धी परामर्श र सेवा पाउने व्यवस्था गरेको छ ।

ऐनको परिच्छेद ८ अनुसार कसैको लिंग, समुदाय या शारीरिक अवस्थाका आधारमा कुनै भेदभाव नगरी प्रजनन् स्वास्थ्य सेवा दिनुपर्ने उल्लेख भए पनि यो व्यवहारमा लागू छैन । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने महासन्धि (सीड) ले पनि यौनिक अल्पसंख्यक समुदायका ‘परलिंगी’ महिलामाथि स्वास्थ्य प्रदायकद्वारा हुने भेदभावको अन्त्य गर्नुपर्ने सुझाव दिएको छ ।

गोपनीयतामा सुनिश्चता हुन नसक्दा उनीहरू उपचार गर्न असजिलो मान्छन् । जन्मँदा महिला र पुरुषझैं जीवनयापन गर्नेले स्तन र पाठेघरसम्बन्धी समस्या भोग्दै आइरहेका छन् । यस्ता रोगमा राज्यले निःशुल्क उपचार दिँदै आए पनि यसमा उनीहरूको पहुँच पुग्न सकेको छैन । यौनरोग र एचआईभीको संक्रमण खेप्नेमा पनि यही समुदायको बाहुल्य छ । सम्मानपूर्वक उपचार सेवा नभएका कारण उनीहरू नियमित उपचारमा जाँदैनन् ।

प्राकृतिक रूपमा फरक भएर जन्मिने यस्तो समुदायका व्यक्तिलाई समाजमा अप्राकृतिक र विकृति मानिने मानसिकता हट्न नसकेको यौनिक अल्पसंख्यकका लागि काम गर्दै आइरहेकी सरिता केसी बताउँछिन् । उनी भन्छिन्, ‘इज्जत र प्रतिष्ठा गुम्ने डरका कारण घरपरिवारले त हिंसा गरेकै छन् । उपचारमा समेत विभेद हुँदा उनीहरूको मानवअधिकार हनन् भएको छ ।’ यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघको तथ्यांकअनुसार नेपालमा यस्ता व्यक्तिको जनसंख्या करिब९ लाख छ ।

प्रकाशित : जेष्ठ १, २०७६ ०८:५०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

एमआरआई बिग्रँदा बिरामीलाई सास्ती

फातिमा बानु

काठमाडौँ — वीर अस्पतालको एमआरआई उपकरण बिग्रँदा बिरामीले सास्ती खेपिरहेका छन् । सोमबार एमआरआई सेवा बन्द भएपछि बिरामी उपचारबिनै घर फर्किन बाध्य भए । यस्तै एक उदाहरण हुन्, सर्लाहीकी निना चौधरी । 


टाउको दुखिरहने समस्या लिएर टाढाबाट आएकी उनले एमआरआई सेवा नभएकै कारण उपचार पाइनन् । ‘ठूलो अस्पतालमा उपचार हुन्छ भनेर जिल्लाबाट रिफर गर्‍यो । होटलमा बसेर भए पनि केही दिन कुर्छु, उपचार गरेर मात्रै फर्किन्छु ।’ उनीजस्तै करिब २० बिरामी उपचारबिनै फर्किएकाछन् । आकस्मिक उपचारगर्नुपर्नेले निजी अस्पतालबाट यस्तो सेवा लिए ।

विशेषज्ञका अनुसार एक्सरे र सीटी स्क्यानबाट पत्ता नलाग्ने गम्भीरखाले समस्या परीक्षणका लागि एमआरआई उपकरणको प्रयोग हुन्छ । ‘ब्रेन ट्युमर’ जोर्नीसम्बन्धी समस्या, नसा, ढाड र गर्धनको नसा च्यापिएको, मेरुदण्डसम्बन्धी समस्या लगायत दुर्घटनामा परेका बिरामीका लागि यो उपकरण नभई हुँदैन । हानिकारक किरण उत्पादन नहुने हुँदा उपचारमा यो उपकरण सुरक्षित मानिन्छ । वीर अस्पतालबाट बिरामीले सहुलियत मूल्यमा यो सेवा पाउँछन् । वीरमा ७ हजार रुपैयाँ लाग्ने यो उपचार शुल्क निजी अस्पतालमा बिरामी २० हजारसम्म तिर्न बाध्य हुन्छन् ।

वीर अस्पतालमा एमआरआई बिग्रिएको यो पहिलोपटक होइन । बारम्बार बिग्रिरहन्छ । कर्मचारीका अनुसार यो उपकरण सातामै तीन पटकसम्म बिग्रिन्छ ।

अस्पतालको रेडिलोजी विभागमा प्रमुख डा. सरोज शर्माका अनुसार यो उपकरण अतिसंवेदनशील हुन्छ । बिजुली प्रवाह गडबड हुनेबित्तिकै बिग्रिने सम्भावना उच्च हुन्छ । उनी भन्छन्, ‘बत्ती आउने जाने भइरहन्छ । जसले गर्दा करेन्ट सन्तुलन हुन सक्दैन र मेसिन बिग्रिहाल्छ ।’

अहिले वीर अस्पताल र ट्रमा सेन्टरका लागि एउटै एमआरआई चलाइन्छ । बिरामीको चाप धान्नकै लागि उपकरण निरन्तर चल्ने यसले आराम नपाउने समस्याले गर्दा संवेदनशील उपकरण टिकाउन मुस्किल छ । आकस्मिक सेवाका लागि पनि यही उपकरण प्रयोग गर्नुपर्छ । चार वर्षअघि करिब ८ करोडमा खरिद गरिएकोएमआरआई सेवाका बिरामीको बढदो चाप धान्न मुस्किल छ अस्पताललाई ।

निजी अस्पतालमा २४ घण्टामा पनि नभ्याइने एमआरआई सेवा चाप धान्नै लागि अस्पतालल दैनिक २० बिरामीको एमआरआई हुने गरेको छ । । सेवाका लागि बिरामीलाई न्यूनतम पनि एक साता कुर्नुपर्ने अवस्था छ । बिग्रने समस्याले कुर्नुपर्ने दिन अझै बढ्छ । वीरको सेवा ठप्प भएपछि बिरामी अन्य सरकारी अस्पतालमा रिफर हुन्छन् । रिफर भएर जाने अस्पतालमा पनि उत्तिकै चाप हुने हुँदा उपचार सहज नभएको बिरामी बताउँछन् । निजी अस्पतालको शुल्क तिर्न नसक्ने बिरामी उपचारबिनै घर फर्किन्छन् ।

विभागका कर्मचारीका अनुसार एमआरआईको ‘भोल्टेज स्टेबिलाइजर’ बिग्रिएको छ । बिग्रिएर परिवर्तन गर्नुपर्ने अवस्थामा पुगेको छ । उपकरणको यो भाग परिवर्तन गर्नुपर्ने भन्दै खरिद इकाईमा धेरै पटक पत्र जाँदा पनि वास्ता नगरिएको कर्मचारी बताउँछन् । उपकरण बिग्रँदा पनि मर्मततर्फ वास्ता नगरिने वीर अस्पतालको पुरानो समस्या हो ।

‘नयाँ उपकरण किन्नुपरे रातारात आउने, बिग्रिएका उपकरणको वास्ता नगरिने,’ कर्मचारीको सँधै यस्तो गुनासो हुन्छ । अस्पतालमा बायोमेडिकल इन्जिनियर नहुँदा भन्नेबित्तिकै उपकरण मर्मत गर्न सम्भव नहुने अस्पतालको खरिद प्रमुख भगवती थपलियाले बताइन् । उनले भनिन्, ‘ एमआरआईका बिग्रिरने समस्याको जरो भोल्टेज स्टेबिलाइजर नै हो रैछ भने स्टेबिलाइजर नै परिवर्तन गर्नेगरी मेसिन बनाउन पहल गर्छु ।’

ट्रमा सेन्टर एमआरआईनहुँदा वीरमा बिरामी पठाउनुपरेको बताउँदै अस्पतालका निर्देशक डा. प्रमोद यादवले बताए । ‘ट्रमाजस्तो विशेष अस्पतालमा यो उपकरणबिना उपचार मुस्किल छ । उपकरणखरिदका लागि स्वास्थ्यमन्त्रालयसँग माग गरिरहेको छु,’ उनले भने ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT