कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्घटनामा घाइतेको सामान चोरी

काठमाडौँ — राजधानीमा सवारी दुर्घटनासँगै हुने चोरी बढेको छ । दुर्घटनामा परेका घाइतेको नगद तथा बहुमूल्य सामग्री हराउन थालेको हो । चोरीमा संलग्न त्यस्ता गिरोहलाई खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

बुधबार मोरङ घर भई बालकोट बस्दै आएका अरुण धिमालले चलाएको मोटरसाइकल दूर्घटनामा प¥र्यो । उनी १८ वर्षीया बहिनी अस्मिता धिमाललाई कलेज छाड्न हिँडेका थिए । उनी चढेको बा७२प २५ नम्बरको मोटरसाइकल र बा२ज ५२५८ नम्बरको ट्याक्सी सिनामंगलस्थित गुह्येश्वरी स्कुलस्थित मोडमा ठोक्किएका थिए ।


दुर्घटनामा होस गुमाएका अरुणको केएमसी अस्पतालमा आधा घण्टापछि बोल्न सक्ने भएका थिए । दुर्घटना भएको निकै बेरपछि मात्र उनीहरूले आफ्नो सामान नभएको पत्तो पाए । आमा गंगाले भनिन्, ‘छोरोको गोजीमा र छोरीको झोलामा पर्स थियो । तर, लुटिएछ । दुवै जनाको मोबाइलको पनि अत्तोपत्तो छैन ।’


उनका अनुसार ५ हजार रुपैयाँ, नागरिकता, ब्लुबुकलगायतका कागजात पर्समा थिए । आफूहरूले घाइते अवस्थामा अस्पताल ल्याइदिने विद्यार्थीलाई सोध्दा पनि कुनै जानकारी नपाएको उनको भनाइ छ । ‘हामीले प्रहरीमा जानकारी गरायौं । ट्याक्सी चालक, घटनापछि पुग्ने प्रहरीले देखेको हुनुपर्छ भन्यौं । तर सामान पाइएको छैन,’ गंगाले भनिन् ।


प्रहरीलाई अस्मिताले नम्बर दिएपछि उनको घरमा खबर गरिएको थियो । अस्पतालमा खटिएका प्रहरी जवान वेद पौडेलका अनुसार उनीहरूका साथ कुनै सरसामान थिएन । ‘अस्पताल पुर्‍याउने दुई जना बहिनीले झोला मात्र दिए । अन्य केही भए डाक्टरले दिन्थे र अभिभावकको जिम्मा लगाइन्थ्यो,’ उनले भने । प्रहरी प्रभाग गौशालाले दुर्घटना र चोरीको छानविन भइरहेको जनायो ।


डीएपी सुनील मल्लले भने, ‘गुनासो आएकाले बुझ्दै छौं । खोजी भइरहेको छ ।’ घटना लगत्तै सादा पोसाकका प्रहरी त्यहाँ पुगेकाले उनीहरूमाथि समेत सोधपुछ भइरहेको मल्लले बताए । झन्डै एक साताअघि पनि सोही क्षेत्रको गोल्डेन गेट कलेज अगाडि दुर्घटना भएको थियो । त्यसमा पनि घाइतेका सरसामान हराएको गुनासो प्रहरीसामु आएको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?