कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल पछाडि बस्ने बढी घाइते

फातिमा बानु

काठमाडौँ — केही दिन अगाडि राजधानीकी १७ वर्षीया किशोरी स्कुटर दुर्घटनामा परिन् । स्कुटर चालक सामान्य घाइते भइन् भने पछाडि सिटमा बसेकी उनको टाउकोमा गम्भीर चोट लाग्यो । उनको उपचारमा संलग्न चिकित्सक डा.प्रकाश विष्टका अनुसार चोटको प्रकृति हेर्दा बेस्सरी ठोक्किएको जस्तो देखिन्थ्यो ।

गहिरो चोटका कारण टाउकोभित्र बढेको चाप भेन्टिलेटरमा राख्दासमेत सन्तुलनमा आउन सकेन । उपचार गर्दागर्दै दुर्घटना भएको चौथो दिन मुटु बन्द भएर उनको बानेश्वरस्थित ह्याम्स अस्पतालमा मृत्यु भयो ।


उनी जस्तै, मोटरसाइकल वा स्कुटरको दुर्घटनामा परेपछि चालकभन्दा पछाडि बस्ने व्यक्ति बढी घाइते हुने गरेका छन् । घाइते हुनेमा सबैभन्दा बढी टाउकोमै चोट (हेड इन्जुरी) लागेर अस्पताल आइपुग्ने गरेका छन् । वीर अस्पतालको न्युरो सर्जरी विभागीय प्रमुख तथा न्युरो सर्जन डा. प्रकाश विष्टका अनुसार दुईपांग्रे सवारी दुर्घटना हुँदा पछाडि बस्ने व्यक्ति ७० प्रतिशत बढी घाइते हुन्छ ।


यस्तो दुर्घटनामा मृत्युदर पनि उच्च हुने बताउँदै उनले भने, ‘चालकले आफू अगाडि के भइरहेको छ देख्छ र सम्भावित दुर्घटनाबाट बच्ने उपाय पनि थाहा पाउँछ । पछाडि बस्नेलाई केही थाहा हुँदैन चोट जति उसैलाई लाग्दो रहेछ ।’ सडक दुर्घटनामा मानिस गम्भीर घाइते पर्ने कारण हेल्मेट नलगाउनुभन्दा पनि सडक असुरक्षित हुनुलाई मुख्य मान्छन् डा. विष्ट । उनी भन्छन्, ‘हेड इन्जुरी अरु चोटजस्तो सामान्य होइन ।दिमागभित्रका कोषिका एकपटक मरेपछि फेरि उत्पादन हुँदैनन् ।’


त्यसैले दुईपांग्रे सवारी चढदा पछाडि बस्नेले अनिवार्य हेल्मेट लगाउनु नै हेड इन्जुरीबाट बच्ने एक मात्र उपाय भएको उनले बताए । राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक २ देखि ५ घाइते पांग्रे सवारी दुर्घटनाकै हुने गरेका छन् । ट्रमा सेन्टरको हाडजोर्नी विभाग (अर्थोपेडिक) का प्रमुख तथा हाडजोर्नी विशेषज्ञ डा. श्रीकृष्ण गिरीका अनुसार सडक दुर्घटनामा परेर ८० प्रतिशत घाइते त हातखुट्टा भाँचिएर नै आइरहेका हुन्छन् । उनी भन्छन्, ‘आजभोलि हेल्मेट सुरक्षाका लागि भन्दा पनि फेसनका लागि लगाएजस्तो देखिन्छ । फेसनका लागि मात्रै लगाएका हेल्मेट बलियो नहुँदा यसले दुर्घटनामा पर्दा लाग्ने सक्ने चोटबाट बचाएको छैन ।’


ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचारका लागि आउनेमध्ये सडक दुर्घटनाका घाइते दोस्रोमा नम्बरमा बढी छन् । आर्थिक वर्ष २०७४/७५ भरि अस्पतालमा १६ हजार ४ सय ४१ घाइतेमध्ये २२ प्रतिशत सडक दुर्घटनाकै छन् । सडक दुर्घटनामा परेका ४० प्रतिशत घाइते पांग्रे सवारीकै हुने गरेको डा. गिरीले बताए । उनले भने, ‘यस्तो दुर्घटनामा परेका १० प्रतिशत व्यक्ति अपांगता नै हुन्छन् । न्युरो समस्याका साथै हातखुट्टा गुमाउने,आँखाको दृष्टि कम हुने समस्या बढी देखिएको छ ।’


सडक दुर्घटनामापरि भई गम्भिर घाइते भएकाहरू अस्पतालमा लामो समयसम्म उपचार गर्दा पनि पहिले अवस्थामा फर्काउन सक्दैनन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?