कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर हिसान शैक्षिक मेला आज सकिँदै

काठमाडौँ — सर्लाहीको लालबन्दीस्थित एभरेस्ट एकेडेमीबाट एसईई दिएकी रेनु दाहाल अब साइन्स पढ्ने तयारीमा छिन् । ‘प्लसटु साइन्स पढ्ने कलेज कहाँ खोज्ने कता खोज्ने भन्ने लागेको थियो,’ गत महिना काठमाडौं आएकी उनी भन्छिन्, ‘मेलामा सबैतिरको कलेजहरू एकै ठाउँ पाउँदा खुसी लागिरहेको छ । विषय, शुल्क, कलेजको भौतिक पूर्वाधार, शैक्षिक कार्यक्रम बुझ्न पाइयो ।’

कान्तिपुर हिसान शैक्षिक मेला आज सकिँदै

त्यस्तै, ललितपुरस्थित त्रिपद्म विद्याश्रमका अभिनव ठाकुर अभिभावकका साथमा कक्षा ११ साइन्सबारे बुझ्न आएको बताए । ‘घरमा बसेर जानकारी पाइन्न, यहाँ आएर सतप्रतिशत जानकारी मिल्यो,’ उनले भने, ‘आज सबै भ्याइएन, भोलि फेरि साथी लिएर आउने सोचेको छु ।’

यो आवाज कान्तिपुर हिसान (उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल) शैक्षिक मेलाको तेस्रो दिनको हो । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शन हल भित्र र बाहिर गरी १ सय ५० विभिन्न शैक्षिक संस्थाका स्टल छन् । विद्यार्थी, अभिभावक, शिक्षाकर्मीको भीड बढेको छ ।

हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माका अनुसार शनिबार मात्रै करिब ८५ हजारले मेलाको अवलोकन गरे । मेलामा डेढ सय स्टलमध्ये अन्तिम स्टल जुबिल्यान्ट कलेजका संयोजक कुबेर ढुंगानालाई भने पीडा बोध भएको बताउँछन् । ‘सुरु र बीचका सबै स्टल चहार्दाचहार्दै विद्यार्थी थकित भएर हामीसम्म आइपुग्छन्,’ उनले भने, ‘बुझ्न चाहेको विषय लालयित तुल्याउन हम्मेपरेको छ । जेहोस् विद्यार्थीले सबैतिर बुझ्न पाएका छन् ।’

काठमाण्डु बर्नहार्ट कलेजका संस्थापक अध्यक्ष भूपेश छतकुली शैक्षिक मेला प्रभावकारी रहेको बताए । भने, ‘सबैतिरका अभिभावक र विद्यार्थीलाई हाम्रा शैक्षिक संस्थाको भौतिक र शैक्षिक कार्यक्रम बारेमा विस्तृत जानकारी दिन पाइरहेका छौं ।’ त्रिवि परीक्षा सहनियन्त्रक घनश्याम ठाकुर हरेक वर्ष शैक्षिक मेलाको अवलोकन गर्ने गरेको बताए ।

‘शैक्षिक मेलाले विद्यार्थीलाई राम्रो गाइडलाइन्स दिएको छ,’ उनले भने, ‘सरकारले नीतिगत रुपमा विद्यालय तह स्थानीय सरकारलाई दिएको हुँदा यस्ताखाले मेला ७ सय ५३ वटै स्थानीय निकायमा आयोजना हुनसके अझ प्रभावकारी हुन्छ ।’


अनिल सिंहले गाए गीत

मेलाको तेस्रो दिन युवामाझ चर्चित गायक अनिल सिंहले आफ्नो लोकप्रिय गीत गाएर सहभागीलाई मनोरन्जन दिलाए । सिंहले आफ्ना चर्चित गीत ‘ओ माया’, ‘आई लभ यु’, ‘माया पहिलो’, ‘रुवाए पनि ठीकै’ र ‘नाच हे नाच’ बोलको गीत गाएका थिए । गायक सिंहको सुरिलो स्वरसँगै युवा तथा दर्शकहरू उफ्री उफ्री नाचे । दर्शक दीर्घाबाट ‘वान्स मोर’ भन्ने आवाज गुन्जियो । तन्नेरी आवाजलाई सम्बोधन गर्दै सिंहले फेरि गाए ‘नाच हे नाच’ गीत र आफ्नो चाँडै शोमा साथ दिन अनुरोध गरे ।


सेलिब्रिटीका साथ समापन

‘छैटौं कान्तिपुर हिसान एडुफेयर–२०१९’ मेला आइतबार सकिदैछ । शैक्षिक मेलाको अन्तिम दिन आइतबार हास्य अभिनेता मनोज गजुरेल, ‘जात्रै जात्रा’ फिल्मका कलाकार टोलीको विशेष उपस्थिति रहने मेलाका संयोजक युवराज शर्माले जनाएका छन् ।

‘देशभरिका माध्यमिक तहदेखि विश्वविद्यालय तहसम्म अर्थात् कक्षा ११ र १२ देखि स्नातक, स्नातकोक्तर तहसम्मका सबैखाले शैक्षिक कार्यत्रम र शिक्षालयहरुका बारेमा बुझ्ने मौका यही हो,’ शर्माले भने, ‘यो वर्षको अन्तिम मौका आइतबारसम्म मात्रै छ । कोही विद्यार्थी र अभिभावकले जसरी शैक्षिक मेलाको अवलोकन गर्न अनुरोध गर्दछु ।’


मेलामा बुझ्न गएका विद्यार्थीले कस्तो पाए ? उनीहरुकै शब्दमा ।


सबिना खातुन (विद्यार्थी)

म स्टाफ नर्स पढ्न राम्रो कलेजको खोजीमा विरगञ्जबाट आएकी छु । मेलामा आएपछि धेरै कलेजको बारेमा जान्ने बुझ्ने मौका पाएँ । मलाई कुन कलेज कहाँ छ पनि थाहा थिएन । मेलाबाट कलेजहरुमा कसरी पढाइ हुन्छ भनेर जान्न पाइयो । कस्तो पढाइ हुन्छ ? कति शुल्क लाग्छ थाहा भयो । धेरै शिक्षण संस्थाहरुको बारे बुझें । घर फर्केर अभिभावकसँग सल्लाह गरेर राम्रो कलेज छनोट गर्छु । कुरा सुन्दा सबैको राम्रो छ । त्यो मध्ये पनि उत्कृष्ट कलेज छान्न सक्यो भने आफ्नो करिअर बनाउन सजिलो हुन्छ ।


देवकी राई (अभिभावक)

मेला निकै सुचनामूलक लाग्यो । कलेज छान्नभन्दा पहिलो एक पटक मेलाको अबलोकन गरेर जानकारीहरु लिदाँ फाइदा नै पुग्छ । के पढने, कहाँ पढ्ने, कसरी पढ्ने भनेर धेरै कन्फ्युजन हुन्छ । कति ग्रेड ल्याएकोले कुन बिषय पढन पाउने/नपाउने पनि थाहा थिएन । आफुलाई थाहा नभएका कुरा जानकारी लिन यहाँ सजिलो लाग्यो । कुन विषय पढेपछि भोलीको उच्चशिक्षा हासिल गर्न कुन–कुन क्षेत्रमा बाटो खुल्छ भनेर प्रष्ट हुन पाइयो । कलेजबारे बुझ्न धेरै ठाउँ धाउनु पर्ने अवस्थालाई मेलाले अन्त्य गरिदिएको छ । यतिधेरै शिक्षण संस्थाका बारेमा एकै थलोमा बुझ्न पाइने रहेछ । सबै भन्दा राम्रो पक्ष यहि लाग्यो ।


समिप रावल (विद्यार्थी)

पढ्न भनेर टिकापुरबाट काठमाडौं आएको हो । यहाँका कलेजहरुको बारेमा केहि पनि थाहा थिएन । कुन कलेजमा कुन–कुन विषय पढ्न पाइन्छ अनविज्ञ थिए । धेरै कलेजहरुको बुझ्न पाए । कतिपय कलेजहरुले जबरजस्ती आफ्नो स्टलमा तान्ने रहेछन् । यो चाँहि मन परेन । कलेजहरुको धेरै कुरा बुझ्न पाउनु चाँहि फाइदा भयो । कति शुल्क लाग्छ ? भौतिक पूर्वाधार कस्तो छ । टिचरहरु कस्ता हुनुहुन्छ ? छात्रवृत्तिको व्यवस्था के छ भनेर बुझ्न पाइयो । यस्ता विषयमा पहिले केहि थाहा थिएन । धेरै नै कुरा जानियो । ८० प्रतिशत कुरा मेलाबाटै बुझ्यिो । अब बाँकी कुरा आफुलाई मन परेको कलेजहरुको भिजिट गरेर बुझ्छु ।


पल्लबी सिंह (सहजकर्ता विद्यार्थी)

यहाँ कलेजहरुको जानकारी लिन विद्यार्थी साथीहरुको निकै भिड लागेको छ । म १२ कक्षा सकेर बसेको हुँ । एडुकेशन फेएरमा अबलोकन गर्न आउने साथीहरुलाई कलेजको विविद्य पक्षमा सरसल्लाह दिने गर्छु । विद्यार्थी, अभिभावक उत्साह र चासोपूर्वक आएको पाएको छु । कलेजको समग्र पक्ष बुझेर मात्र भर्ना हुन सल्लाह दिने गर्छु । शैक्षिक पाटो मात्र बुझेर हुदैंन । आफु पढने कलेजको वातावरण, भौतिक फूर्वाधार, अतिरिक्त त्रियाकलाप, खेलकुद, अनुशासन लगायतका विषयमा पनि बुझ्न जरुरी हुन्छ । कलेजको सँगसँगै विद्यार्थीहरुलाई आफ्नो पढाइका क्रमका भोगेका अनुभवहरु पनि सुनाउने गरेका छौं ।


श्रेस्का सुवाल (विद्यार्थी)

म साइन्सको विद्यार्थी हुँ । व्याचलर पढ्ने कलेजको खोजीमा छु । मेलामा आएर धेरै कलेजका विभिन्न विषयमा जान्ने बुझ्ने मौका पाए । कलेजहरुको शुल्क प्रणाली, छात्रवृत्ति लगायतका कुरामा धेरै नै कुरा थाहा पाइयो । यस्ता मेलाले विद्यार्थीको भिजन क्लियर गर्न मद्दत गर्छ । धेरै नै भिडभाड भएकाले आफुले चाहे जसरी विषय अनुसार धेरै कुरा बुझ्न चाँहि अलि गाह्रो भयो । एकै ठाउँमा यति धेरै कलेजका बारेमा थुप्रो कुरा बुझ्न पाउनु त विद्यार्थी अभिभावकहरुको लागि ठुलो अवसर हो जस्तो लाग्छ ।


गणेश महरा (कलेज संचालक)

कान्तिपुर हिसान शैक्षिक मेलामा विद्यार्थी अभिभावकको राम्रै चाप छ । कलेजहरुको बारेमा बुझ्न चाहाने अभिभावक र विद्यार्थीलाई यो राम्रो प्लेट फर्म पनि हो । एउटै छाता मुनि बसेर धेरै कलेजको इन्फरमेशन लिन पाइने व्यवस्था ६ वर्षदेखि गर्दै आएका छौं । यस्तो मेलालाई निरन्तरता दिनुपर्छ भनेर सुझावहरु पनि आएको छ । विद्यार्थीलाई पायक पर्ने कलेजको लोकेशन, चाहेअनुसारको बिषय/संकाय, लाग्ने शैक्षिक शुल्कको विस्तृतमा बुझ्न पाउने वातावरण मिलाएका छौं । कक्षा ११ र स्नातक तहका लागि शैक्षिक संस्थाको खोजीमा रहेका विद्यार्थीका लागि मध्यनजर गरेका हौं ।


प्रेरणा प्रधान (विद्यार्थी)

म बिदेशी बोर्डमा पढेर आएको हो । मेलामा आउनुभन्दा पहिले उच्चशिक्षा नेपाली बोर्डमा पढ्न नपाउने सुनेको थिए । समकक्षता लिएपछि पढ्न पाउने कुरा यहाँबाट प्रष्ट भए । कलेजहरुको सेवासुविधाबारे पनि विस्तृतमा थाहा भयो । आफुलाई अनुकुल हुने गरि कुन समयमा कक्षा संचालन हुन्छ कलेजहरुका थरीथरी समय तालिका पनि रहेछ । टिचर र कलेजको वातावरणको बारेमा पनि थाहा भयो । कलेजहरु घुम्न निम्ता गर्नुभएको पनि छ । कलेज पिच्छे इन्फरमेशन बुकहरु दिइएको छ । विद्यार्थी अभिभावकले मज्जाले बुझने कलेज छान्ने र भर्ना हुने मौका मेलाले दिएको पाए । बेलाबेलामा यस्तो मेला भयो भने विद्यार्थी अभिभावकलाई धेरै फाइदा पुग्ने रहेछ ।


खुसी आचार्य (विद्यार्थी)

धेरै कलेजको थुप्रै कुरा थाहा भयो । कुनमा के कस्तो सेवा सुविधा छ । के–के विषय पढाइ हुन्छ । कसरी पढाइन्छ थाहा भयो । मलाई मेला निकै फलदायी लाग्यो । नयाँनयाँ विषय र सिष्टमहरुको बारेमा पनि जानकारी पाए । कति कलेज र विषयको नाम थाहा पनि थिएन । यहाँ बुझिसकेपछि चाँहि बिषय र कलेज छान्न सजिलो हुन्छ जस्तो लागेको छ । विद्यार्थीहरुको लागि उपयोगी मेला रहेछ । पढने आफुले नै हो । कलेज र सरहरुले गाइडलाइन दिने हो । यहाँ आएर बुझिसकेपछि उत्कृष्ठ कलेज छान्न सहज हुन्छ होला भन्ने विश्वास लिएको छु ।


रुपेश श्रेष्ठ (विद्यार्थी)

कुन कलेज पढने, कुन बिषय पढ्ने भने अन्यौल थियो । यहाँ आएपछि धेरै कुरा बुझन पाइयो । भर्ना हुनुभन्दा विद्यार्थीले गर्नुपर्ने पूर्व तयारीबारे थाहा भयो । एकै ठाउँमा छोटो समय धेरै कुरा बुझ्न पाउने व्यवस्था मलाई निकै राम्रो लाग्यो । महंगो महंगो पैसा लाग्ने देखि थोरै पैसामा राम्रो शिक्षा दिने कलेजहरु पनि रहेछन् । ठाउँठाउँमा रहेका कलेज बुझदै हिडेन फुर्सद सबैलाई हुदैंन । मेलामा आएपछि कलेज छान्न धेरैले सहज हुँदो रहेछ ।


क्रियस कार्की (विद्यार्थी)

मेलामा विद्यार्थीहरुलाई विभिन्न कलेजको बारेमा जानकारी दिन खोजिएको रहेछ । एकैठाउँमा यति धेरै कलेजका विभिन्न पक्ष थाहा पाउनु राम्रो लाग्यो । कुन कलेजमा कुन विषयको पढाई हुन्छ ? त्यहाँ के कस्तो सेवासुविधा पाइन्छ भन्ने कुरा सजिलो गरि थाहा पाईयो । कलेजको वातावरण, रिजल्ट, पढाइको व्यवस्थाहरुको विस्तृतमा जानकारी पाए । धेरै कलेजहरुको विभिन्न पक्ष सोधपुछ गरे । सबैभन्दा उत्कृष्ठ र सेवासुविधा राम्रो भएकोमा भर्ना हुने र उच्चशिक्षा फढ्ने मेरो विचार छ । खेलकुद, अतिरिक्त त्रियाकलाप, अनुशासन कस्तो छ भर्ना अघि नै ध्यान दिनुपर्छ । धेरै सोचविचार गरेर मात्रै कलेज छान्नुपर्छ । कस्ता कलेजहरु छन् । कसरी पढाइ हुन्छ । भविष्य कसरी उज्वल बनाउन सकिन्छ भन्ने बुझने अवसर मेलाबाट प्राप्त भयो ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?