कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्यांकरको भरमा नगरवासी

लीला श्रेष्ठ

भक्तपुर — भक्तपुर ९ च्याम्हासिंहकी चन्द्रकेशरी प्रजापतिले दुई गाग्री पानी थाप्न ९ दिन कुर्नुपर्छ । वर्षौंदेखि पानीको समस्या झेल्दै आएकी चन्द्रकेशरीले मंगलबार बिहान नगरपालिकाले वितरण गरेको पानीसमेत भर्न पाइनन् ।

‘पालो आउनै लागेको थियो, पानी सकियो,’ उनले भनिन्, ‘बल्लबल्ल नगरपालिकाले पानी ल्याएको रित्तै फर्किनुपर्‍यो ।’ उनको ५ जनाको परिवारले ट्यांकरको पानी किनेर उपभोग गर्दै आएका छन् ।


भक्तपुर नगरपालिका वडा ८ का वडाध्यक्ष महेन्द्र खायमलीका अनुसार लिवाली आवास विकास आयोजनामा ६ सय १० घरधुरी अवस्थित छ । जसमध्ये आयोजनामा निर्मित करिब १ सय ३० घरधुरीमा मात्र खानेपानीको पाइप लाइन बिछ्याएको छ ।


पाइप लाइन बिछ्याइएको स्थानमा समेत ९/१० दिनको एकपल्ट पानी आउँछ । बाँकी घरधुरीका बासिन्दाले ट्यांकरको पानी किनेर उपभोग गर्नुपर्ने बाध्यता छ । नगरक्षेत्रभित्र पानीको स्रोत नहुँदा खानेपानीको हाहाकारको अवस्था रहेको वडाध्यक्ष खायमली बताउँछन् ।


‘नगरको मुख्य चुनौती खानेपानीको व्यवस्थापन भएको छ,’ उनले भने, ‘काठमाडौं उपत्यका खानेपानीले लिवाली क्षेत्रमा पाइपसमेत बिछ्याउन सकेको छैन ।’ नगरपालिकाले आवास क्षेत्र आयोजना गर्दा पानीलाई प्राथमिकमा राख्न नसक्दा स्थानीय बासिन्दाले ट्यांकरमा भर पर्नुपरेको उनी स्विकार्छन् ।


भक्तपुर नगरक्षेत्रका बासिन्दा दिनहुँ पानीको समस्या बोकेर काठमाडौं उपत्यका खानेपानी (केयूकेएल) र नगरपालिका धाउँछन् । स्थानीयको डेलिगेसनको सम्बोधन गर्दै भक्तपुर नगरपालिकाले गत बिहीबारबाट नगरको १० वटै वडामा ट्यांकरबाट पानी वितरण थालेको स्यानिटेसन शाखाका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । नगरपालिकाले रोटेसनका आधारमा टोलटोलमा दैनिक १० वडामा १२ ट्यांकर पानी वितरण गर्दै आएको जनाएको छ ।


नगरक्षेत्रभित्रको पानीको समस्या समाधान तथा व्यवस्थापनका लागि नगरपालिकाले ५ डिपबोरिङ गर्ने कार्य गरेको र आकाशेपानी संकलन तथा प्रशोधन प्रणाली लागू गरेको भक्तपुर नगरप्रमुख सुनील प्रजापतिले बताए । भक्तपुर १ वडामा र ख्वपः इन्जिनियरिङ कलेजमा आकाशेपानी संकलन तथा प्रशोधन प्रणाली सुरू भएको उनले बताए । खानेपानीको समस्या समाधानका लागि मेलम्चीको पखाईमा रहेको समेत नगरप्रमुख प्रजापति बताउँछन् ।


केयूकेएलको कार्यालय दुधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । खानेपानीको वैकल्पिक व्यवस्था हुन नसक्दा दिनप्रतिदिन समस्या थपिँदै गएको केयूकेएल भक्तपुर शाखाले जनाएको छ ।


‘दैनिक ८० लाखदेखि एक करोड लिटर खानेपानीको माग छ,’ केयूकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयले भने, ‘३० देखि ३५ लाख लिटर मात्र वितरण गर्ने सामर्थ छ ।’ दैनिक ३५ देखि ४० प्रतिशत उपभोक्तालाई मात्र पानी वितरण गरेको उनले बताए ।


खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा ७, ८ दिन बिराएर उपभोक्तालाई पानी वितरण गर्दै आएको उनले बताए । केयूकेएल भक्तपुर शाखाले भक्तपुर, सूर्यविनायकको ५ र ६ वडाका केही भाग, चाँगुनारायणको ५, ७ र ८ वडाका केही उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको जनाएको छ । केयूकेएलले नगरकोट मुहानपोखरी र मध्यपुरथिमि बोडेबाट खानेपानी वितरण गर्दै आएको छ ।


केयूकेएल भक्तपुर शाखाले बोडेबाट दैनिक १५ लाख लिटर र नगरकोट मुहानपोखरीबाट करिब २० लाख लिटर पानी वितरण गर्दै आएको प्रमुख हिमालयले बताए । आपूर्ति कम र माग बढी भएकाले खानेपानीको समस्या अत्यधिक बढी भएको केयूकेएल भक्तपुरले जनाएको छ ।


भक्तपुरमा पानीको माग बढदै गएपछि खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर (पीटीडी) को समन्वयमा डिप ट्युबवेल निर्माण गरेको जनाएको छ । दुधपाटीस्थित केयूकेएलकै जग्गामा पीटीडीले प्रतिसेकेन्ड ४ लिटर पानी डिप ट्युबवेल र सल्लाघारीस्थित प्रतिसेकेन्ड ६ लिटर पानी निकाल्ने गरी ट्युबवेल खनेको छ ।


दुवै स्थानको पानी परीक्षण एवं फिल्टर प्लान्टको तयारीमा रहेको र ५ महिनाभित्र सञ्चालन हुने हिमालयले बताए ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?