कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधि हरेक साता सफाइमा

काठमाडौँ — दक्षिणकाली नगरपालिकाका मेयरसहित जनप्रतिनिधि साताको एक दिन निरन्तर टोल सफाइमा जुट्ने भएका छन् । शुक्रबारबाट अभियान सुरु गरेका छन् । 

‘हरेक शुक्रबार बिहान ७ बजेदेखि ९ सम्म सरफाइ गर्छौं,’ मेयर मोहन बस्नेतले भने, ‘यो नगरपालिकामा जनसंख्या र बस्ती कम भएकाले खासै फोहोर त छैन । तर बानी बसाल्नका लागि आफ्नो ठाउँ आफैं सफा गरून् भनेर हो ।’


नगरपालिकाको एक र अर्को फोहोर उठाउने संस्थाको एउटा ट्रक गरी दुइटा नगरका विभिन्न ठाउँमा फोहोर लिन जान्छन् । वडा नं. २ का अध्यक्ष रामचन्द्र क्षेत्रीले उपत्यकाबाट मकवानपुर जोड्ने सडक यही नगर हुँदै जाने भएकाले सडक छेउका वडामा बढी फोहोर हुने बताए । नगरमा अन्य स्थानमा हरियाली भए पनि गाडीबाटै बजारे खानेकुराको खोल र पानीका बोतल लगायतका फोहोर फाल्ने भएकाले सडक दिनहुँ फोहोर हुने उनको भनाइ छ । ‘सरसफाइ कार्यक्रमले जनचेतना पनि फैलाउँछ ।


आफ्नो फोहोर आफैं सफा गरौं, नसके फोहोर पनि नगरौं भन्ने भावना आउँछ,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘आमा समूह, विद्यार्थी सबैको सहभागिता हुन्छ ।’ नगरपालिकाले सरसफाइकर्मीलाई पन्जा र मास्क बाँड्ने गरेको छ । उनले निरन्तर सरफाइले नगरबासीमा परिवर्तन आएको दाबी गरे ।


एक वडा नं. ७ का अध्यक्ष हरिप्रसाद तिमल्सिनाले आफूहरूको वडा नगरकै ‘डम्पिङ साइट’ बन्दै गएको गुनासो गरे । उनले अन्य वडाभन्दा पनि यस वडाको सरसफाइलाई पृथक बनाउने तयारी रहेको जानकारी दिए । ‘पहिले जनचेतना जगाउनुपर्छ भनेर सरसफाइ कार्यक्रम थालेका हौं । त्यसपछि मुख्य चोकमा डस्टबिन राख्ने तयारीमा छौं,’ उनले भने ।


उनका अनुसार यसअघि नगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी कार्यविधि बनाए पनि हाल त्यसको कार्यान्वयन हुन सकेको छैन । जनचेतनामूलक कार्यक्रमसहित हरेक वडामा सरसफाइ कार्यक्रम सम्पन्न गरेर मात्र कार्यविधिअनुसार कारबाही गरिने तिमल्सिनाले जानकारी दिए ।


तर अझै पनि सरसफाइका लागि गर्नुपर्ने कार्य नगरबाट नभएको नगरपालिकाकै एक कर्मचारी तथा स्थानीय बताउँछन् । ‘हाम्रै वडामा फोहोर कहाँ राख्ने ठाउँ छैन । न त जलाउन नै ठाउँ छ,’ उनले भनिन्, ‘अलि सानो बस्तीतिर हरियाली र खुला ठाउँ भए पनि मुख्य सडक छेउ तथा भौतिक संरचना बढी भएको इलाकामा हप्ताभन्दा बढी दिनसम्म पनि फोहोर लिने गाडी आउँदैन ।’

प्रकाशित : असार १, २०७६ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?