समतामा युवतीकाे शव : सुसाइड नोट विमलाकै

कान्तिपुर संवाददाता

काठमाडौँ — बौद्धस्थित समता अस्पतालमा मृत भेटिएकी विमला तामाङको खल्तीबाट बरामद चिट (सुसाइड नोट) उनले नै लेखेको प्रमाणित भएको छ । अनुसन्धान अधिकारीहरूले विमलाले छोरालाई भर्ना गर्दा विद्यालयमा भरेको फाराम र भेटिएको नोटका अक्षर मेल खाएको पत्ता लगाएको स्रोतको दाबी छ । 

नोटमा अस्पतालकी व्यवस्थापक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी (सञ्जेल), प्रिथकुमारी श्रेष्ठ र संगीता केसीको नाम उल्लेख छ । प्रहरीले उनीहरू तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिएर थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

सुसाइड नोटमा उल्लिखित विषयले घटनाको छानबिनमा सहयोग पुग्ने प्रहरीको दाबी छ । प्रहरी वृत्त गौशालामा विमलाका आफन्तले आइतबार सञ्जेललाई समेत पक्रिन माग गर्दै दिनभर प्रदर्शन गरे ।

विमलाको हत्या भएको र त्यसमा उत्तमसमेत जिम्मेवार रहेको उनीहरूको दाबी छ । विमलाको पोस्टमार्टम रिपोर्ट आएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ । विमलाले झुन्डिएर आत्महत्या गरेको र त्यसको कारण पत्ता लगाउने कोसिस गरिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित : असार ९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्

१४ हिमालमा ९६७ आरोही

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथासहित मुलुकका १४ हिमाल ९ सय ६७ जनाले आरोहण गरेका छन् । १ सय ५ महिला र ८ सय ६२ पुरुषले हिमाल आरोहण गरेका हुन् । 

पर्यटन विभागका अनुसार यस सिजनमा ६ हजार मिटरमाथिका ३२ वटा हिमाल आरोहणका लागि १ सय १६ आरोहण दलका ८ सय ९५ जनाले अनुमति लिएका थिए । यीमध्ये १८ वटा हिमालमा भने आरोहण सफल भएन ।

यस सिजनमा सर्वाधिक ६ सय ४४ जनाले सगरमाथा आरोहण गरेका छन् । मकालुमा ७८, ल्होत्सेमा ७५, कञ्चनजंघामा ६६, अन्नपूर्ण ३१, हिमलुङ २६, आमादब्लम १२, पुमरी ९, सारिबुङ ९, ग्गाल्जेन पिक ६, धौलागिरि ५, गौगिरि २, चाम्लाङ २ र छोप्पाबाम्रेमा २ जनाले आरोहण गरे । यी सबै सलामी दस्तुर तिरेर आरोहण गर्ने सदस्य हुन् ।

आरोहण दलका सदस्यलाई सघाउने शेर्पा, सरदार र गाइडको संख्या विभागले सार्वजनिक गरिसकेको छैन । सगरमाथामा (कामदार) गाइड, सरदार र शेर्पाको भूमिकामा २ महिलासहित ६ सय ४२ जनाले आरोहणका लागि अनुमति पाएका थिए । तीमध्ये ३ सय ६४ जना कामदारले मात्रै आरोहण गरेका थिए ।

सरकारले ४ सय १४ हिमाल आरोहणका लागि खुला गरेको छ । यसपटक विभागले ३२ वटा हिमालका लागि सलामी दस्तुरबापत ४९ करोड ६४ लाख रुपैयाँ संकलन गरेको थियो ।

प्रकाशित : असार ९, २०७६ ०८:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्