कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हाम्रो चाँगुनारायण’ पाठ्यक्रममा

भक्तपुर — चाँगुनारायण नगरपालिकाले ‘हाम्रो चाँगुनारायण’ स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । नयाँ शैक्षिक सत्र सुरू भएसँगै चाँगुनारायणले पाठ्यक्रम लागू गरेको छ ।

स्थानीय तह सरकार संचालन ऐन २०७४ लागू भएदेखि नगरपालिकाले शिक्षामा पाएको जिम्मेवारीको उपयोग गर्दै स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी ‘हाम्रो चाँगुनारायण’ नामक पाठ्यक्रम निर्माण गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।


स्थानीय तहलाई प्राप्त अधिकारको प्रत्यायोजन गर्दै नगरपालिकाले नगर शिक्षा शाखा प्रमुख वीरबहादुर खडकाको संयोजकत्त्वमा श्रीकृष्ण केसी, दधिराम गेलालको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले पाठ्यक्रमविज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी, विषयविज्ञ, स्थानीय बुद्धिजीविको सहयोगमा स्थलगत अध्ययन, छलफल गरी १०० पूर्णाङ्कको पाठ्यक्रम तयार गरेको जनाएको छ ।


चालु शैक्षिक सत्रको असार १ गतेबाट कक्षा ८ मा स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षमा कक्षा ६, ७ र ८ मा स्थानीय पाठ्यक्रम लागू गरिने उनले बताए । पाठ्यक्रममा नगरपालिकाको अवस्थिति, विश्वप्रसिद्ध चाँगुनारायण मन्दिरलगायत मूर्त अमूर्त सम्पदा, पर्यटन, संस्कार वा रीतिरिवाज, स्थानीय पेसा र प्रविधि, जीवन दर्शन, स्वास्थ्य, सिर्जना र सिपगत शिक्षाजस्ता विषयवस्तु आधारभूत पक्षलाई विशेष जोड दिएको पाठ्यक्रमविद् पुरुषोत्तम घिमिरेले बताए ।


सोमबार सार्वजनिक गरेको स्थानीय पाठ्यक्रममा कक्षा ६, ७ र ८ को पाठ्यक्रम, सिकाई सहजीकरण क्रियाकलाप, प्रयोगात्मक पक्षको मूल्यांकनका आधार, विशिष्टीकरण तालिका कक्षा ८ र स्थानीय पाठ्यक्रम कार्यान्वयन मार्गदर्शन विषयसुचीमा समेटेको छ । चाँगुनारायण नगरपालिकामा ३५ सामूदायिक र २५ संस्थागत विद्यालय छन् ।


बालबालिका केन्द्रित सिकाइका आधारमा पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृति लिई नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रम लागू गर्ने मिश्रले बताए । विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न केही ढिलाइ भए पनि पाठ्यक्रमको आधारमा कक्षा सञ्चालन हुने नगरपालिकाले जनाएको छ ।


यसअघि भक्तपुर र मध्यपुरथिमि नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरिसकेका छन् । चाँगुनारायण नगरपालिकाको स्थानीय पाठ्यक्रम सार्वजनिक गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेसा छोडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् । समयअनुसारको शिक्षण सिकाइ गर्न नसक्ने शिक्षकले ठाउँ ओगटेर बस्न नहुने मन्त्री पोखरेलको तर्क छ ।


चाँगुनारायण नगरपालिकाले आइतबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि २५ वर्षे सेवा अवधि पुगेका ५० वर्ष उमेर नाघेका शिक्षकले आगामी आर्थिक वर्ष साउन मसान्तभित्र स्वेच्छिक अवकाश लिन चाहेमा नगरका तर्फबाट प्रत्त्वियक्ति १ लाख रुपैयाँ थप उपदानको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको नगरप्रमुख मिश्रले बताए ।

प्रकाशित : असार १०, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?