कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चाँगुनारायणको वडैपिच्छे सडक

भक्तपुर — चाँगुनारायण नगरपालिकाले सडक विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगरपालिकाको पाँचौं नगरसभामा उपप्रमुख बिना बाँस्तोलाले बुधबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट विनियोजनमा ९ वटै वडामा सडक पूर्वाधारमा जोड दिइएको छ । 

हरेक वडालाई ३/३ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमा विनियोजित रकममध्येबाट प्रत्येक वडामा दुईवटा ठूला आयोजना कार्यान्वयनमा ल्याउने गरी बजेटमा व्यवस्था गरिएको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।


पर्यटन पूर्वाधार तथा प्रवर्द्धनका लागि नगरपालिकाले २ करोड रुपैयाँ बजेट छुट्याएको जानकारी दिएको छ । नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला बालबालिका तथा जेष्ठ नागरिक, दलित, अपांगता, आदिवासी, जनजाति, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, मठमन्दिर तथा सांस्कृतिक संरक्षणजस्ता सामाजिक क्षेत्रको विकासमा आवश्यक रकमको व्यवस्था गरेको उनले बताए । नगरपालिकाले नगरक्षेत्रभित्रको खानेपानी समस्या समाधान तथा व्यवस्थापनका लागि आवश्यक बजेट सार्वजनिक गरेको छ । नगरवासी वा संघसंथा/निकायको सहभागिता काम गर्ने गरी ११ करोड रुपैयाँ छुट्याएको जनाएको छ ।


चाँगुनारायणले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि १ अर्ब ४१ करोड ८० लाख ४१ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये आयतर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत १६ करोड ७७ लाख रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडबाट १० करोड २७ लाख रुपैयाँ, ससर्त अनुदानतर्फ २६ करोड ८३ लाख रुपैयाँ छ ।

प्रदेश सरकारबाट २२ करोड ९४ लाख ५७ हजार रुपैयाँ, अनुदानमार्फत ६१ करोड ९२ लाख १७ हजार रुपैयाँ बजेट अनुमान गरेको छ । नगरपालिकाले जनसहभागितामार्फत ११ करोड ५० लाख रुपैयाँ तथा चालू आर्थिक वर्षको बैंक मौजाद १८ करोड ११ लाख ४५ हजार, आन्तरिक आय २४ करोड ५ लाख २१ हजार अनुमान गरेको बजेट वक्तव्यमा उल्लेख छ ।


खर्चतर्फ चालूतर्फ ३१ करोड ५० हजार, पुँजीगततर्फ ८३ करोड ७८ लाख रुपैयाँ, संघीय सरकारको ससर्ततर्फ २६ करोड ८३ लाख र प्रदेशको ससर्तबाट १८ लाख ९१ हजार व्यवस्थापन गर्ने बजेट वक्तव्य उपप्रमुख बाँस्तोलाले प्रस्तुत गरिन् ।

प्रकाशित : असार १२, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?