कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

स्मार्ट पार्किङ व्यवसायमुखी

सीमा तामाङ

काठमाडौँ — घरायासी सामान खरिद गर्न स्कुटरबाट न्युरोड पुगेकी बौद्ध निवासी जुना मोक्तानले स्मार्ट पार्किङको प्रयोग गरिन् । पार्किङ व्यवस्था राम्रो भए पनि पार्किङ शुल्क महँगो भएको उनको गुनासो छ । सामान खरिद गरी फर्केपछि पार्किङ क्षेत्रमा रहेको सेक्युरिटीले उनको हातमा ३८ रुपैयाँको चिट थमाइदिए । 

‘चिटमा समय १ घण्टा ३ मिनेट र शुल्क ३८ रुपैयाँ उल्लेख थियो,’ उनले भनिन् ‘३ मिनेटको मात्र १३ रुपैयाँ बढी रकम तिर्नुपर्‍यो ।’

उनले मोबाइल एप्सबाट नभई खाली स्थान हेरेर विशाल बजार अगाडि स्कुटर पार्क गरेकी थिइन् । नेपालमा पहिलो पटक सुरु भएको स्मार्ट पार्किङ व्यवस्था राम्रो भएकाले स्वागत गर्न योग्य रहेको उनले बताइन् ।


सातदोबाटो बस्ने जगत आचार्यको पनि गुनासो त्यस्तै छ । स्मार्ट पार्किङ व्यवस्थित भए पनि पार्किङ गरेबापत् लिइने शुल्क महँगो भएको उनले बताए । ‘२ घण्टा १५ मिनेट प्रयोग गरेबापत् चिटमा ६५ रुपैयाँ लेखिएको थियो,’ उनले भने, ‘अन्य ठाउँमा यहीँ समयको ५० रुपैयाँ तिरे पनि पुग्छ ।’ न्युरोड क्षेत्रमा रहेको निजी पार्किङले भन्दा पनि स्मार्ट पार्किङ बढी शुल्क असुलेको उनले बताए ।


न्युरोड पुगेका इन्द्र महर्जन स्मार्ट पार्किङदेखि सन्तुष्ट छन् । काठमाडौं महानगरले उक्त स्थानमा स्मार्ट पार्किङको व्यवस्था गरेकाले उनले सहजै पार्किङ सुविधा पाए ।


‘पार्किङ व्यवस्थित छ, सुविधाअनुसार पार्किङबापत् लिइने शुल्क पनि राम्रै छ ।’ उनले भने ‘२ घण्टा पार्किङ गरेबापत् ५० रुपैयाँ शुल्क तिरे ।’ त्यस्तै स्मार्ट पार्किङ सेवाबाट सन्तुष्ट विनोद पहरी भन्छन्, ‘सेवा लिएपछि शुल्क तिर्नुपर्छ । यो राम्रो व्यवस्था हो ।’ महानगरको यस सुविधाप्रति कुनै गुनासो नरहेको उनले बताए । स्मार्ट पार्किङको शुल्कप्रति जनताको गुनासो बढेसँगै काठमाडौँ महानगरपालिकाले हिृवल्स ट्रली योर्स कम्पनीसँग छलफल सुरु गरेको छ ।


‘शुल्कको गुनासो लिएर कम्पनीसँग छलफल भइरहेको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘यो परीक्षण काल मात्र हो । पार्किङ शुल्कमा भने साउनदेखि परिमार्जन हुने छ ।’ छलफलपछि निर्णयअनुसार नयाँ पार्किङ शुल्क साउनदेखि लागू गर्ने उनको भनाइ छ ।


शुल्क सस्तो हुँदा दिनभरि पार्किङ गर्ने प्रवृत्ति रहेकाले अन्य सेवाग्राहीले पार्किङ गर्न नपाउने कम्पनीका प्राविधिक इन्जिनियर विक्रान्त कार्कीले बताए । ‘सस्तो भएको खण्डमा दिनभरि पार्क गर्ने प्रचलन छ,’ उनले भने ‘शुल्क महँगो हुँदा धेरै समय पार्किङ गर्दैनन् र सबैले पार्क गर्न पाउँछन् ।’


पहिले २०० मोटरसाइकलले मात्र पार्किङ गर्थ्यो भने अहिले दिनमा ५०० मोटरसाइकलले पार्किङ गर्छन् । शुल्क महँगो भएपछि आउने जाने भइरहन्छ जसले गर्दा पार्किङस्थल पनि खाली हुने गरेको उनले बताए । स्मार्ट पार्किङ अब न्युरोडमा मात्र नभई दरबार मार्गमा पनि सुरु भएको उनले जानकारी दिए ।

प्रकाशित : असार १३, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?