कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पशुपतिमा धमाधम कंक्रिट

दामोदर न्यौपाने

(काठमाडौं) — पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन प्रतिकूल हुने गरी कुनै पनि निर्माण नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश छ  । यो आदेशविपरीत हुने गरी निर्माणचाहिँ रोकेको छैन  ।

पशुपतिमा धमाधम कंक्रिट

पशुपतिको दक्षिणतिर पिंगलास्थानतिर कंक्रिटको गेट बनाइरहेको छ । कोषका अनुसार यस्ता गेट अझै तीनवटा बनाउने योजना छ । एआईबी बैंककले गेट बनाइरहेको छ । कोषका सदस्यसचिव प्रदीप ढकाल पहिला नै भएको सम्झौताअनुसार काम अघि बढाएको बताउँछन् । ‘पहिल्यै सम्झौता भएको थियो,’ ढकाल भन्छन्, ‘मैले पहिलाको सम्झौता कार्यान्वयन गरेको मात्र हुँ ।’


पशुपति, स्वयम्भू, वसन्तपुरलगायतका सम्पदा क्षेत्रमा सम्पदको मूल्य मान्यताविपरीत काम भएको भन्दै युनेस्कोले उपत्यकाका सातै सम्पदालाई खतराको सूचीमा राख्नसमेत प्रस्ताव गरिसेको छ । जुन ३० देखि अजरवैजानको बाकुमा युनेस्कोको ४३औं सेसन सुरु भइरहेको छ । सेसनमा खतराको सूचीमा राख्ने प्रस्तावबारे छलफल हुने छ । प्रस्ताव पास भए नेपाल खतराको सूचीमा पर्ने छ । यसअघि सन् २००३ मा पनि नेपाललाई खतराको सूचीमा राखेको थियो ।


युनेस्कोले चेतावनी दिए पनि यहाँ पुरातात्त्विक मूल्य मान्यताविपरीत काम रोकिएको छैन । ठाउँठाउँमा सिमेन्ट प्रयोग गरेर ढुंगा बिछ्याउने काम रोकेको छैन । ‘एउटै ठाउँका ढुंगा भत्काउँदै फेरि ढुंगा नै छाप्न लागेको छ,’ स्थानीयवासी छत्रानन्द वैद्य भन्छन्, ‘कोषले गर्न लागेको के हो ?’ कोषका निर्देशक भरत मरासैनी पुरातत्त्व विभागको स्वीकृति लिएर गेट बनाएको बताए । पुरातत्त्व विभागले भने कंक्रिटका संरचना बनाउन अनुमति नदिएको दाबी गरेको छ ।


‘सबै संरक्षित स्मारक क्षेत्र एकै प्रकृतिका छैनन् । हरेका क्षेत्रको आआफ्नै परम्परागत अवस्थिति छ । कुनै क्षेत्रमा परम्परागत रूपमा इँटाको प्रधानता पाइन्छ भने कुनैमा ढुंगाको प्रधानता,’ कान्तिपुरले सूचनाको हकसम्बन्धी ऐनअनुसार मागेको लिखित सूचना दिने क्रममा पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले लेखेका छन्, ‘विश्व सम्पदा क्षेत्रको सडक निर्माण गर्दा सिमेन्ट प्रयोग गर्न पाइँदैन भन्ने अवस्था छैन तर संरक्षित स्मारक क्षेत्रको सांस्कृतिक पर्यावरणमा खलल नपुगोस् भन्ने कुरामा सधैं संवेदनशील छ । त्यस्ता पर्यावरणमा असर पार्ने कार्यलाई विभाग हतोत्साहित गर्छ । अनुमति दिँदैन ।’


यहाँ कंक्रिटका संरचना बनाउनु सर्वोच्च अदालतको आदेश र युनेस्कोको चेतावनीविपरीत छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलासले विश्व सम्पदामा सूचीकृत पशुपतिको धार्मिक, सांस्कृतिक मान्यताविपरीत निर्माण भइरहेकाले त्यसलाई रोक्न गत माघ २३ मा अन्तरिम आदेश दिएको थियो ।


अधिवक्ता दीपकविक्रम मिश्रले दिएको रिट निवेदनको सुनुवाइ गर्दै अदालतले पशुपतिमा निर्माण भइरहेका संरचना प्राचीन स्मारक संरक्षण ऐन, वातावरण संरक्षण ऐन, भूकम्पले क्षति पुर्‍याएका सम्पदाको संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड र म्यानुअल, पशुपति क्षेत्र संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माणसम्बन्धी मापदण्ड, विश्व सम्पदासम्बन्धी महासन्धि र अदालतले यस २०७३ सालमा दिएको परमादेशविपरीत निर्माण भइरहेकाले त्यसलाई रोक्न अन्तरिम आदेश दिएको थियो ।


यहाँको मापदण्डविपरीत निर्माणले सनातनदेखि चलिए आएको व्यक्तिको धार्मिक आस्था, प्राचीन सम्पदाको संरक्षण, पुरातात्त्विक वातावरणमा समेत असर पुग्न गएको गम्भीर प्रश्न निवेदकले उठाएको इजलासले ठहर गरेको थियो । पशुपतिको मुख्य वन क्षेत्र वनकालीमा पनि कंक्रिट प्रयोग गरेर उद्यान बनाउने काम भइरहेको छ । पुरातत्त्वको अनुमतिबिना कंक्रिटको गेट बनाउन सुरु गरेपछि अभियन्ताले विरोध गरेका थिए । विरोधपछि रोकिएको काम फेरि सुरु भएको छ । गेट बनाउने काम अन्तिम चरणमा पुगेको छ ।


यहाँ कंक्रिटको गेट बनाउन अनुमति नदिएको विभागले जनाएको छ । वनकालीलाई सफा राख्न कोषले अनुरोध गरेबमोजिम परम्परागत निर्माण सामग्री प्रयोग गर्न अनुमति दिएको भट्टराईले जानकारी दिए ऐतिहासिक र पुरातात्त्विक महत्त्वको वनकाली अहिले कृपालु पार्कका नामले चिनिन थालेको छ । ५ करोड रुपैयाँ लगानीमा वनकालीलाई पार्कमा परिणत गरिएको छ । कृपालुजी महाराजका नेपालका प्रचारक स्वामी हरिदासको अवधारणअनुसार पार्क निर्माण भएको हो । निर्माणको अगुवाइ विद्वत् समाज नेपालले गरिरहेको छ ।


समाजका अध्यक्ष घनेन्द्र पुरुष ढकालका अनुसार कृपालुका साधकमध्येबाट पैसा उठाएर यो पार्क बनाइएको हो । यो नेपालककै पहिलो आध्यात्मिक पार्क भएको ढकाल बताउँछन् । उद्यानभित्र सानासाना बाग, बगैंचा, वाटिका र कुञ्ज निर्माण गरिएका छन् । ‘यस्ता संरचनाले शिव, राम र कृष्णसँग नाता जोडेका छन् । वैदिक दर्शन र भगवान्सँगको तादाम्यतालाई जीवन्त बनाइएकै हुनाले यो परियोजना एउटा विलक्षण आध्यात्मिक उद्यान बनेको छ,’ ढकाल भन्छन् ।


प्रकाशित : असार २०, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?