मेधावी मेधा

भक्तपुरका सफल सामुदायिकमा अग्रणी मेधा मावि शिक्षकहरुको समपर्णले दशकदेखि अब्बल
लीला श्रेष्ठ

भक्तपुर — शिक्षकको जागिरमा गंगाधर हाडा २०६१ फागुन ५ मा कन्या मावि प्रवेश गर्दा विद्यार्थी संख्या ८० थियो । एसएलसी परीक्षामा त्यो वर्ष सबै विद्यार्थी फेल भएका थिए । ‘कक्षा १, २, ३ मा जम्मा ४ जना विद्यार्थी थिए,’ उनी भन्छन्, ‘तीनवटा कक्षाका ४ जना विद्यार्थीलाई एउटै कक्षामा पढाइन्थ्यो ।’ अंग्रेजी शिक्षकका रूपमा आएका हाडालाई भोलिपल्टै विद्यालयले सहायक प्रधानाध्यापक बनायो । 

शिक्षण पद्धतिमा सुधारका योजनासँगै व्यवस्थापनलाई हाडाले बिस्तारै मजबुत बनाए । सहकार्यमा काम गर्न अन्य शिक्षकहरूलाई उत्प्रेरित गरे । ‘आदर्श मावि सानोठिमीमा कोर्स सकेर आउँदा कन्या माविमा २० प्रतिशत पनि सकेको थिएन,’ उनी सम्झन्छन्, ‘शिक्षकले पढाए पनि हुन्थ्यो, नपढाए पनि चल्थ्यो अनि कसरी विद्यार्थी पास हुनु ।’ उनी प्रवेश गरेको वर्ष दिनमै विद्यालयमा सुधार आयो । २०६७ मा हाडा प्रधानाध्यापक भए । प्रधानाध्यापक भएपछि त उनको घर नै विद्यालय भएको छ ।

उनैको मिहिनेत, शिक्षकको समन्वय र सहकार्यले त्यही साबिकको कन्या हालको मेधा मावि जिल्लाकै मेधावी विद्यालयका रूपमा दरिएको छ । यो वर्षको एसईई परीक्षामा सहभागी भक्तपुर–३ तेखापुखुको उक्त विद्यालयका ५६ विद्यार्थीमध्ये २७ ले ‘ए प्लस’, २५ ले ‘ए’ र ३ जना ‘बी प्लस’ को प्राप्तांकसहित शतप्रतिशत उत्तीर्ण भएका छन् ।

जिल्लाका सामुदायिक मात्र नभई संस्थागत विद्यालयको प्रतिस्पर्धी मानिएको उक्त माविले एक दशकयता एसएलसी/एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ । यहाँ विद्यार्थी भर्ना गराउन चाहनेको चाप बढेको छ । विद्यालयको एसईई राम्रो गर्न जग मानिने शिशु कक्षादेखि नै बालबालिकाको सिकाइको स्तरमा ध्यान पुर्‍याएको शिक्षक बताउँछन् ।

मेधामा नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा दिन आएका विद्यार्थीको भीड हेर्दा मेला लागेको जस्तो हुन्छ । बर्सेनि नयाँ शैक्षिक सत्र लागि विद्यार्थी छनोट गर्न बढ्ने चापले विद्यालयलाई हम्मेहम्मे पर्ने गरेको छ । यस वर्ष १ सय ३२ विद्यार्थी थपिएका छन् ।

भर्ना हुन आएका मध्ये करिब ७ सय जनालाई विद्यालयले फिर्ता नै पठाउनुपर्‍यो । ‘एउटा राम्रो नयाँ स्कुल खोल्न सक्ने जति विद्यार्थी फिर्ता गर्नुपर्‍यो,’ प्रअ हाडाले भने, ‘आफन्त, साथीभाइ र विभिन्न निकायबाट आएको फोनलाई समेट्न सकिएन ।’ पर्याप्त कक्षाकोठा र शिक्षक भएमा वर्षमा एक हजार विद्यार्थी थप्दै जान सकिने उनी बताउँछन् । ‘जनशक्ति र पूर्वाधार पर्याप्त छैन भने विद्यार्थी संख्या मात्रै बढाउनु उपयुक्त हुँदैन,’ उनले भने, ‘हामी धान्न सक्ने संख्यामा मात्रै विद्यार्थी पढाउँछौं ।’

२०७२ वैशाखको भूकम्पले पुरानो भवन क्षतिग्रस्त छ । एउटा भवनको १७ कोठामा विद्यालय चलेको छ । प्रधानाध्यापक र लेखाकक्ष एउटै कोठालाई बारेर चलाइएको छ । ४५ शिक्षक–कर्मचारीको कार्यालय एउटै कोठामा छ ।

सीमित १५ कक्षाकोठामा ५ सय ७५ विद्यार्थी छन् । भवन अभावमा संगीत कक्षा हटाइएको र एसकेजीको कक्षा भाडामा कोठा लिएर सञ्चालन गरेको विद्यालयले जनाएको छ । पर्याप्त विद्यार्थी थप गर्न शिक्षक तथा भवनको अभाव छ । वर्षौंदेखि शून्य नतिजा बेहोरेको विद्यालयलाई कसरी शतप्रतिशत सफल बनाउन सम्भव भयो भन्ने प्रश्नमा प्रअ हाडाको उत्तर ‘टिम वर्क’ भन्ने छ । २०६७ मा प्रधानाध्यापक भएपछि उनले बाहिरबाट युवा शिक्षकहरू ल्याए ।

‘बाहिरबाट ल्याएका निजी शिक्षकलाई तलब दिन नसकिने भइयो,’ उनले भने, ‘अरू विद्यालयहरूसँगको समन्वयमा शिक्षक हेरफेर गर्दै अर्मपर्म गरेर पढाउन थाल्यौं । गाह्रो र कमजोर विषयहरूको बिहान ७ बजेबाट थप कक्षा सुरु भयो ।’

५ कक्षासम्मका कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा पनि सञ्चालन गर्दै आएको विद्यालयले मावि स्तरका विद्यार्थीका लागि फरक फरक समयमा अतिरिक्त कक्षा पनि राखेको छ ।

‘कक्षा १० मा पुग्न १ देखि नै फेल नहुने गरी सिकाउने पद्धति छ,’ हाडाले भने । अंग्रेजी माध्यमबाट पढाइ हुने मेधाका १९ दरबन्दीका शिक्षकमध्ये ७ जना गत चैतमा अवकाश भए । ‘१२ दरबन्दीका र ३ काजमा गरी १५ सरकारी तलब खाने शिक्षक छौं,’ उनले भने ।

प्रकाशित : असार २३, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

चाँगुमा पर्या पदमार्ग बन्दै

कान्तिपुर संवाददाता

भक्तपुर — चाँगुनारायण नगरपालिकाले महानपोखरी –महादेव पोखरी पर्या पदमार्ग निर्माण थालेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन र पर्यटकीय गन्तव्य नगरकोट घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले पर्या पदमार्ग ‘इको ट्रेल’ निर्माण गर्न लागेको नगरप्रमुख सोमप्रसाद मिश्रले बताए ।

चाँगुनारायण(७ र ८ मुहानपोखरी(महादेव पोखरीको ३ दशमलव ८ किलोमिटर दूरीमा सिंढी निर्माणका लागि शनिबारबाट कार्य थालेको नगरपालिकाले जनाएको छ । ‘पर्यटकलाई सधैं हिमाल मात्र देखाएर पर्यटन प्रवर्द्धन हुँदैन,’ नगरप्रमुख मिश्रले भने, ‘स्वच्छ हावा, आकर्षक हरियाली वातावरणले पनि पर्यटक बढाउन सहयोग पुग्छ ।’

आन्तरिक तथा बाह्य पर्यटक बढाउन नगरपालिकाले महामञ्जुश्री, बाहाल, कालिका र ढुंगेपाखा सामुदायिक वन क्षेत्रमा पर्या पदमार्ग निर्माण थालेको हो । पदमार्ग तथा सिंढी निर्माण गर्दा सामुदायिक वनलाई कुनै असर नपर्ने नगरपालिकाको दाबी छ । डिभिजन वन कार्यालय भक्तपुरको समन्वयमा लोठ सल्ला, टिमुरलगायत ५ हजार ५ सय बिरुवा रोपणको तयारी गरेको मिश्रले बताए । पर्या पदमार्ग निर्माण गर्न नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/७६ मा ३ करोड ८४ लाख रुपैयाँ विनियोजन गरेको मध्ये २ करोड ९७ लाख रुपैयाँमा ठेक्का परेको नगरप्रमुख मिश्र बताउँछन् । पर्या पदमार्गबाट नगरकोटको यात्रा गर्दा बँदेल, खरायो, मृग, कालिजलगायत पशुपन्छीको अवलोकन गर्न सकिन्छ ।

गर्मी बढेसँगै भक्तपुर चाँगुनारायण नगरपालिका मुहानपोखरीमा रहेको झरनामा पुगेर रमाउने युवायुवतीको संख्या बढेको छ । उपत्यका र आसपासका जिल्लाबाट समेत युवाहरू तथा परिवारसहित झरनामा नुहाउन र घुम्न आउने गरेका छन् । भक्तपुरको नगरकोट बसपार्कबाट करिब ६ किमि पूर्वमा पर्छ मुहानपोखरी । मुहानपोखरीसम्म सजिलै सवारीसाधन पुग्छन् । मुहानपोखरीबाट भने २० मिनेट उकालिएपछि झरनामा पुग्न सकिन्छ । सार्वजनिक बिदामा झरनामा रमाउने र घुम्न जानेको भीड लाग्छ ।

पदमार्गलाई थप व्यवस्थित बनाउन आगामी आर्थिक वर्ष शौचालय, स्वच्छ खानेपानी व्यवस्था, आराम स्थल, रेलिङ, साइक्लिङ ट्रेल निर्माणको योजना रहेको नगरपालिकाको भनाइ छ । त्यस्तै, पर्यटन पूर्वाधार विकासका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७६/७७ का लागि करिब २ करोड रुपैयाँ छुट्याएको छ । उक्त बजेटबाट पर्यटकीय गन्तव्य नगरकोटमा बसपार्क निर्माण तथा व्यवस्थापन, मनोरञ्जन पार्क निर्माण, सार्वजनिक शौचालय निर्माण गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँमा मनोरञ्जन पार्क निर्माण भइरहेकोसमेत नगरप्रमुख मिश्रले बताए ।
पुनः पर्यटन प्रवेश सेवा शुल्क
नगरकोट अवलोकनका लागि आउने पर्यटकले पुनः प्रवेश शुल्क तिर्नुपर्ने भएको छ । भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क उठाउने तयारी गरेको चाँगुनारायण नगरप्रमुख मिश्रले बताए । आगामी आर्थिक वर्ष ०७६/७७ को साउन १ गतेदेखि प्रवेश शुल्क उठाउने ३ करोड रुपैयाँमा ठेक्का प्रक्रिया थालेको उनले बताए ।

नगरप्रमुख मिश्रका अनुसार सार्क र चीनका पर्यटकले करसहित ३ सय रुपैयाँ र अन्य राष्ट्रका पर्यटकले करसहित ४ सय रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्नेछ । चालु आर्थिक वर्षमा नगरकोट अवलोकनका लागि आउने पर्यटकबाट दुई नगरपालिकाले छुट्टाछुट्टै शुल्क उठाएका थिए । दोहोरो शुल्कका विषयमा स्थानीय, व्यवसायीले विरोध गरेपछि चाँगुनारायण नगरपालिकाले प्रवेश शुल्क लिने निर्णय फिर्ता लिएको थियो ।

मण्डन देउपुर नगरपालिकाले भने सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति ३ सय ३९ रुपैयाँ र सार्क राष्ट्रभित्रका पर्यटकसँग २ सय रुपैयाँ (करबाहेक) प्रतिपर्यटक प्रवेश सेवा शुल्क उठाउँदै आएको छ । यता स्थानीय तथा पर्यटन व्यवसायीले भने पर्यटक प्रवेश सेवा शुल्कप्रति आफूहरूको कुनै समर्थन नरहेको बताएका छन् ।

‘पर्यटन प्रवर्द्धनका लागि कुनै पूर्वाधार छैन, पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार तयार नभई प्रवेश सेवा शुल्क लिनु उचित हुन्न,’ स्थानीय होटल व्यवसायी अशोक थापाले भने, ‘बाटो, बसपार्क, शौचालय, सडक बत्ती निर्माणमा ध्यान पुर्‍याउन जरुरी छ ।’ वर्षौंदेखि निर्माणका नाममा अलपत्र पारिएको कमलविनायक भत्केको पाटी(नगरकोट मूल सडकका कारण नगरकोटको पर्यटन व्यवसाय धराशायी बनेको उनको गुनासो छ ।

प्रकाशित : असार २३, २०७६ ०८:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्