तारकेश्वरको पाठ्यक्रम यसै वर्षदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — तारकेश्वर नगरपालिकाले आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गर्ने विषय अन्तिम चरणमा रहेको जनाएको छ । पुस्तक छपाइसमेत सकिइसकेको र वितरण गर्न बाँकी रहेको नगर शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अधिकृत पदमबहादुर खत्रीका अनुसार नगरपालिकाले हाल ३ हजार प्रति पुस्तक प्रकाशन गरिसकेको छ ।

‘वितरणको अन्तिम चरणमा छ, तीन हजार प्रतिले पुग्छ भन्ने अनुमान छ । हामीले अहिलेलाई कक्षा १ र ६ मा मात्र लागू गर्ने भनेका छौं,’ उनले थपे, ‘सामुदायिकलाई निःशुल्क उपलब्ध गराइनेछ भने संस्थागत विद्यालयलाई न्यूनतम शूल्क १ सय २५ रुपैयाँ लाग्नेगरी उपलब्धगराउने छौं ।’

खत्रीका अनुसार शिक्षा समितिअन्तर्गत स्थानीय पाठ्यक्रम निर्माण समिति बनाएर कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरिएको हो । यही शैक्षिक सत्रदेखि योविषय पढाइ हुने छ ।

यस विषयका लागि थप शिक्षक भने नखटाइने नगरपालिकाको भनाइ छ । ‘स्थानीय विषयवस्तु नै समेटिएका हुन्छन् । नयाँ शिक्षक राख्नुपर्ने आवश्यकता पर्दैन । अहिलेकाले नै सक्छन्,’ शाखा अधिकृत खत्रीले भने । पाठ्यक्रम आधारभूत तहको बनिसकेको भए पनि लागू गर्न भने तीन वर्षको समय लाग्ने र चरणबद्ध रूपमा विद्यालयमा लागू गरिने उनले जानकारी दिए ।

१ र ६ कक्षामा यस वर्ष २, ५ र ८ कक्षाका लागि आगामी वर्ष र बाँकी कक्षाको पाठ्यक्रमअनुसारका पुस्तक छपाइ र शिक्षण आर्थिक वर्ष २०७८ बाट गरिने छ । कक्षा १ देखि ३ सम्ममा विद्यार्थीलाई नगरको नाम, मठमन्दिर तथा ऐतिहासिक स्थल, महत्त्वपूर्ण जात्रा, नदीनाला र प्राकृतिक स्रोत आदिबारे जानकारी दिइने छ । पाठ्यक्रमअनुसार १ सय २८ पाठ्यभार प्रत्येक कक्षामा रहने छ । विद्यार्थीलाई पर्यटकीय स्थल, पर्यटकलाई आकर्षित गर्ने उपाय तथा विषय वस्तुका साथै सामाजिक रूपान्तरण र आधुनिकीकरण पनि सिकाइने छ । आधुनिकीकरणको प्रभाव, सहभागिता, फाइदाजस्ता कुराबारे जानकारी दिइने हेतुले पाठ्यक्रम तयार गरिएको हो ।

कक्षा ६ देखि ८ सम्म भने स्थानीय ठाउँको नामकरण, इतिहास, हावापानी र भौगोलिक अवस्था लगायतका विषयमा जानकारी दिइने छ । पाठ्यक्रमअनुसार यी कक्षाका विद्यार्थीले नगरभित्रका प्रेरक व्यक्तित्व, भाषाशास्त्री, विज्ञलगायत बारे पनि अध्ययन गर्नुपर्ने छ । उनीहरूलाई साङ्ला बालकुमारी जात्रा, गोलढुंगा र मनमैजूलगायत जात्रबारे विस्तृतमा जानकारी दिइने छ । यसका साथै नगरपालिकाबारे संवैधानिक व्यवस्था पनि सिकाइने छ ।

पाठ्यक्रमअनुसार नगरपालिका र नगर कार्यपालिकाको गठन प्रक्रिया, पदाधिकारी छनोट हुने तरिका, काम, कर्तव्य र अधिकार, विकास निर्माण कार्य आदिबारे पनि जानकारी दिइने छ । साथै, विद्यार्थीले स्थानीय सरकारको निर्णय प्रक्रिया, कामकारबाही, नगरभित्रका योजना छनोट प्रक्रिया, योजना कार्यान्वयन चरणलगायत विषयमा पनि पुस्तकमार्फत सिकाइने छ ।

प्रकाशित : असार २५, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्

सप्तपाताल पुरानै स्वरूपमा बन्ने

अतिक्रमणमा परेको पोखरीलाई सर्वोच्च अदालतले सोमबार पुरानै स्वरुपमा फर्काउनुपर्ने फैसला गरेको थियो । फैसलापछि स्थानीय खुसी छन् र पूर्ववत् अवस्थामा फर्काउन जुट्ने भएका छन् ।
प्रशान्त माली

ललितपुर — सप्तपाताल पोखरीको बेग्लै विशेषता थियो । यसले दिनभरिमा आफ्नो रूप फेरिरहन्थ्यो । अशोक स्तूपको छायाले सजिएर स्वर्गकी अप्सराजस्तै देखिन्थ्यो । अर्को विशेषता पनि थियो । यो पोखरी घाम झुल्कँदा र अस्ताउँदाको दृश्यमा बेग्लै चमक । अन्यत्र नपाइने छुट्टै जातको माछा पनि पाइन्थ्यो । पाटनका पुराना बासिन्दाका लागि यी सब सम्झना मात्र बनेको छ । 

यिनैमध्ये एक पर्छन् स्थानीय ७३ वर्षीय पूर्ण स्थापित । भन्छन्, ‘सानै छँदा साथीभाइसँग मिलेर माछा मार्न जान्थेँ । चौरमा बसेर पोलेर पनि खान्थेँ ।’ उनका अनुसार पोखरीको पानी गर्मीयाममा चिसो र जाडोमा न्यानो हुन्थ्यो । पौडी खेल्ने, लुगा धुने नुहाउनेको भीड हुन्थ्यो ।’

नेपाल भाषामा ‘न्याँ’ को अर्थ माछा र ‘बाहाः वइगु’ को बाढी आउनु हो । नेवार समुदायमा माछाको बाढी आएको देख्नेले आफूलाई भाग्यमानी ठान्छ । जीवनमा ‘लक’ आएको विश्वास गरिन्छ । दुलर्भ मानिने यो दृश्य पोखरीमा देख्न पाइने बूढापाकाहरू बताउँछन् । स्तूपको उत्तरपट्टि मुहान थियो । पानी कलकल बग्दथ्यो । करुवा, गाग्री लिएर पानी लिन जान्थे । त्यहाँ माछाको बाढी आउने गर्दथ्यो । स्थापित अब पोखरी पुरानै स्वरूपमा ब्युँताउने अभियानमा छन् । सप्तपाताललाई उपत्यकाकै उत्कृष्ट पोखरीहरूमध्ये एक बनाइने बताए । ‘पाटन कोरबस्तीको शिरानमा अवस्थित पोखरी राजधानीको सान हुने छ,’ उनले भने ।अतिक्रमणमा परेको पोखरीलाई सर्वोच्च अदालतले सोमबार पुरानै स्वरूपमा फर्काउन फैसला गरेको थियो । फैसलापछि स्थानीय खुसी छन् र पूर्ववत् अवस्थामाफर्काउन जुट्ने भएका छन् ।

कित्ता नम्बर २१२ मा रहेको पोखरी अहिले डेढ/दुई रोपनीमा सीमित छ । पोखरी मिचेर बनाइएको नमुना मच्छिन्द्र आवासीय माविका ५ वटा भवन भत्काएर १४ रोपनी १० आना २ पैसामा फैलाइने छ । पोखरी निर्माण सम्पन्न भएपछि यहाँबाट हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थापित बताउँछन् । ‘पर्यटकीय उत्कृष्ट गन्तव्य स्थलको रूपमा विकास गर्ने लक्ष्य छ,’ उनले भने, ‘कसरी अगाडि बढ्ने भन्ने विषयमा पानीविज्ञ, इन्जिनियर सबै बसेर छलफल गर्दै छौँ ।’ सन् १९९५ मा जर्मनी संस्था जेटीजेटद्वारा प्रकाशित इमेज अफ सेन्चुरी पुस्तकमा स्तूपको टुप्पोबाट १९२० मा खिचिएको तस्बिर राखिएको छ । तस्बिरमा गाईवस्तुले प्यास मेटाइरहेको देखिन्छ । क्याप्सनमा शिवपुरी हिमाल स्पष्ट देखिने उल्लेख छ । लगनखेलवासी पूर्णभक्त चित्रकार भन्छन्, ‘ग्रीष्म ऋतुमा पोखरी निकै सुन्दर देखिन्थ्यो । हिउँदमा हिउँ पर्ने गर्छ ।’ उनको घर पोखरीको पूर्वपट्टि पर्छ । पोखरीमा पानी जहिले पनि फ्रेस हुन्थ्यो । राजकुलो निरन्तर बग्दथ्यो । खानेपानीको रूपमा पनि प्रयोग गर्दथे । गर्मीमा शीतल हावा चल्थ्यो । पोखरीको जाडोयाममा डिलमा घाममा ताप्नेको लाइन हुन्थ्यो । उनी भन्छन्, ‘पहिलाजस्तै पोखरीमा हाँस, चराचुरुंगी, घरपालुवा जनावरका लागि
पिउनयोग्य पानी राखिने छ ।’

सप्तपातालको दक्षिण–पश्चिमपट्टि कमल पोखरी छ । अहिले पोखरी राजदल गण परिसरभित्र पर्छ । त्यहाँ कमलको फूल फुल्थ्यो । पिण्ड दान गर्ने, कपाल खौरेर नुहाउने यहीँ हुन्थ्यो । लगनखेलवासी ५९ वर्षीय गणेशभक्त चित्रकार भन्छन्, ‘पौडी खेलेर भोजभतेरका लागि पात टिप्न जान्थेँ ।’ उनले सप्तपाताललाई जीवन्त बनाउन कमल पोखरीलाई पनि पुरानै स्वरूपमा ल्याउनुपर्ने बताए । सप्तपाताल अथवा पृथ्वीका तलतिर रहने ७ लोकमध्ये सबभन्दा तल्लो लोक हो । जसलाई नाग लोक पनि भनिन्छ ।

रातो मत्स्येन्द्रनाथ र मीननाथ जात्रा सम्पन्न भएको खबर स्वर्गका देवता इन्द्र र पाताल लोकका नाग राजालाई पुर्‍याउन यही पोखरीको प्रयोग हुन्छ । स्वर्गमा सन्देश पठाउन एक जोडी भागेरा आकाशमा उडाइन्छ भने पातालमा पुर्‍याउन एक जोडी माछा पोखरीमा छाड्ने रीतिथिति छ । त्यसैले पोखरीको नाम सप्तपाताल रहन गएको मत्स्येन्द्रनाथका पुजारीहरू बताउँछन् । पाटनका भूमिगत जलभण्डारमा पानी पुनः भरण गर्ने परम्परागत पोखरीमध्ये सप्तपाताल मुख्य मानिन्छ । यो पोखरी सहरका निम्ति खानेपानी ‘रिजर्भर’ ट्यांकी पनि हो ।

यहाँ पानी भरिसकेपछि ढुंगेधारा र इनार रसाउँछ । पोखरी पुनर्निर्माण भएमा खुला सार्वजनिक स्थलको रूपमा पनि प्रयोग गर्न सकिने सम्पदाप्रेमीहरू बताउँछन् । सम्पदाप्रेमी राज खान भन्छन्, ‘पोखरीमा माछा पालेर आम्दानीसँगै सिँचाइ पनि गर्न सकिने भयो ।’ लःख्यः अपभ्रंश भएर लगनखेल बन्यो । नेपाल भाषामा लः को अर्थ पानी र ख्यः को चौर हुन्छ । कुनै बेला लगनखेलमा ७ वटा पोखरी थिए । अहिले ललितपुर जिल्ला अदालतअघिको न्हुँ पोखरी, राजदल गण परिसरको कमल र लगनखेल अशोक स्तूप उत्तरपट्टिको सप्तपाताल मात्र बाँकी छन् । सप्तपातालमा ०६० मा विद्यालयले सपिङ कम्प्लेक्स बनाउन खोजेपछि स्थानीय जुर्मुराएका थिए । यसविरुद्ध स्थानीयले सुरुमा सर्वोच्च अदालतमा २०६१ भाद्र ४ मा रिट दायर गरेका थिए । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य भन्छन्, ‘हरेक मुद्दा पैसासँग मात्र तुलना गरेर हुँदैन । सम्पदाको मूल्य छुट्टै हुन्छ ।’ उनले पोखरीको शीतल वातावरणमा पढ्न पाउने भएको बताए । ‘फैसलाले पोखरी मास्नु हुँदैन भन्ने सन्देश भावी पुस्तामा गएको छ,’ उनले भने, ‘गलत कार्यलाई न्यायालयले छोड्दैन भन्ने सन्देश हो ।’ सर्वोच्चले गरेको आदेश बारेमा बुझ्न विद्यालयमा जाँदा नमुना मच्छिन्द्र माविका प्रिन्सिपल राधाकृष्ण महतले आफूसँग समय नभएको भन्दै टारे ।

प्रकाशित : असार २५, २०७६ ०७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्