कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोदावरी खोला दूषित

विशंखुनारायण, गोदामचौर, इमाडोल र सिद्धिपुरबासीले खोलाको पानी पिउदै आइरहेका छन् ।
प्रशान्त माली

ललितपुर — गोदावरी कुण्डनजिकै खोला छेउमा दुईवटा शौचालय छन् । एउटा पक्की र अर्को अस्थायी टहराको । दुवैको सेप्टी ट्यांकी छैन । पक्की शौचालयको निकास प्लास्टिकको पाइपमार्फत र टहराको सिधै खोलामा मिसाइएको छ । गोदावरीस्थित रचनातार क्षेत्रमा पनि उस्तै समस्या छ ।

गोदावरी खोला दूषित

खोला छेउमा जस्तापाताको अस्थायी शौचालय बनाइएको छ । तीन वटा बंगुर तथा हाँस फर्मको निकास पनि सिधै खोलामा मिसाइएको छ । यी तीन शौचालय र बंगुर फर्म कुण्डबाट करिब ५ किमि दूरीमा फेला परेका हुन् । खोलामा मलमूत्र मात्र नभई होटल रेस्टुरेन्टबाट फालिएका रक्सीका थरीथरीका बोतल र मेडिकलका सिरिन्ज, महिनावारी हुँदा लगाउने प्याड र बालबच्चाका डाइपर पनि जथाभावी फ्याँकिएका छन् । धार्मिक पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण खोला अहिले डम्पिङ साइड बनेको छ ।

खोला टीकाथली हनुमन्ते पुलसम्म १७ किमि छ । खोलाले गोदावरी, विशंखुनारायण, हरिसिद्धि, सिद्धिपुर, इमाडोल, टीकाथली, लुभु क्षेत्र छुन्छ । स्थानीयका अनुसार खोलामा १४ वटा पुल छन् । अहिले पुल र बस्ती क्षेत्रमा बढी फोहोर भेटिने गरेको छ । गोदावरी नगरपालिका ३ गोदावरीका वडाध्यक्ष बालमुकुन्द घिमिरे भन्छन्, ‘खोला निकास हुनबाट बचाउन घरको नक्सापास गर्न अनिवार्य सेफ्टी ट्यांकी हुनुपर्ने नियम बनाएका छौं । अधिकांश बंगुर फर्म खोला नजिक बनाइएका छन् । फोहोर सिधै खोलामा मिसाउने भएकाले वडामा बंगुर फर्म नै राख्न नदिने निर्णय गरेका छौं ।’ उनले फोहोर खोलामा मिसाउने व्यक्तिको विवरणसहित निवेदन दर्ता गरेमा तत्काल कारबाही गर्ने बताए । ‘अहिलेसम्म उजुरी परेको छैन । जनप्रतिनिधि आउनुअघि खोलामा फोहोर मिसाउने व्यापाक थियो,’ उनले भने, ‘अहिले कम भएको छ ।’

खोलाको पानी विशखुनारायण, गोदामचौर, इमाडोल र सिद्धिपुरवासीले खानेपानीको रूपमा प्रयोग गर्दै आइरहेका छन् । उपत्यकामा ट्यांकरमार्फत वितरण गरिने पानी पनि यही खोलाको हो । खोलाको पानीलाई स्थानीयले पवित्र रूपमा लिने गरेका छन् । कसैको मृत्यु हुदा चोख्याउन र खोला क्षेत्रमा बसेर खाना पकाएर खाने चलन अद्यापि छ । खोलामा अहिलेसम्म पनि लुगा धुने नुहाउने गर्दै आइरहेका छन् ।

गोदावरी नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा को नीति तथा कार्यक्रमको ७ नम्बर बुँदामा सार्वजनिक जग्गा, वन, जंगल, खोलाखोल्सी, मठमन्दिर, पोखरीको संरक्षण कार्य प्रारम्भ भएको उल्लेख छ । ७८ नम्बर बुँदामा नगरभित्रको सांस्कृतिक सम्पदालाई संरक्षण र सम्वृद्धिका लागि विषेश योजना लागु गरिने उल्लेख छ । तर, गोदावरीका जनप्रतिनिधिले योजना प्रारम्भ गर्नु त कता हो कता यसबारेमा एक पटक पनि सरोकारवालासँग बैठक बसेका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ मा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्थाको बुदा ‘झ’ मा सरसफाइ सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । दफा २६ मा फोहोरमैला विसर्जन स्थल वा प्रशोधन प्रणालीको विकास र सञ्चालन गर्नुपर्ने उल्लेख छ । तर, नगरपालिकाको यसप्रति पनि ध्यान गएको छैन ।

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले नीति तथा कार्यक्रममा भएको व्यवस्थालाई कार्यान्वय गर्न बैठक बस्ने क्रममा रहेको बताए । ‘निजी व्यवसायीसँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्दै आइरहेका छौँ,’ उनले भने, ‘सबै ठाउँमा फोहोर उठाउने गाडी पुर्‍याउन सकेको छैन । विस्तारै पुर्‍याउने योजना छ ।’

स्थानीयवासी मिलेर गोदावरी खोला साप्ताहिक सरसफाइ अभियान थालेका छन् । उनीहरूले ०७५ फागुन २६ देखि प्रत्येक आइतबार सरसफाइ गर्दै आइरहेका छन् । आइतबारबाट २० औं हप्तामा पुग्ने छ । अहिलेसम्म गोदावरी कुण्डदेखि टुप्पीखेलसम्म सरसफाइ गरिसकेका छन् । स्थानीय बेबी राजभण्डारी थापा भन्छिन्, ‘अहिलेसम्म ६१ टन फोहोर संकलन गरी व्यवस्थापन गरिसकेका छौं । फोहोर व्यवस्थापनबारे घर र विद्यालयस्तरमा जनचेतना जगाउने योजना छ ।’

फोहोर व्यवस्थापन भने हरिसिद्धिस्थित नेप्को नेपाल नामक संस्थाले गर्दै आइरहेको छ । उनीहरूले कुहिनेलाई मल र नकुहिनेलाई नुवाकोटस्थित ल्यान्डफिल साइड सिसडोलमा पुर्‍याउँदै आएका छन् । कपडा, सिसी र प्लास्टिकका सामान भने बिक्री गर्दै आइरहेका छन् । नेप्को नेपाल हरिसिद्धिका कोषाध्यक्ष रिता नेपाल भन्छिन्, ‘गोदावरी क्षेत्रमा साताको दुई दिन आइतबार र बुधबार गाडीमार्फत फोहोर संकलन गर्दै आइरहेका छौं । फोहोर संकलन गरेबापत् प्रतिपरिवार प्रत्येक महिना ३ सय ५० शुल्क लिने गरेका छौं ।’

उनले गोदावरी क्षेत्रमा ३ सय ५०, विशंखुनारायणमा ३५, गोदामचौरमा २ सय ५०, हरिसिद्धिमा २ सय, इमाडोलमा १ सय ८०, सिद्धिपुरमा १८ परिवार सदस्य रहेको बताइन् । ‘फोहोर उठाउन जाँदा स्थानीयले दुई थरीका बाल्टिन माग गर्ने गरेका छन्,’ उनले भनिन्, ‘जनप्रतिनिधिले नगरपालिकामा उत्पादित फोहोर यही व्यवस्थापन गर्न पहल गर्नुपर्छ ।’

उनले यसो गर्न सकेमा गोदावरी नगरपालिका हराभरा बनाउन सकिने बताइन् । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि बाल्टिन वितरण गर्ने योजना रहेको बताए ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?