दस दिनमा पानी

केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । वैकल्पिक व्यवस्था हुन नसक्दा खानेपानीको समस्या थपिँदै गएको छ ।
कान्तिपुर संवाददाता

भक्तपुर — जगाती, बासिकचा क्षेत्रका बासिन्दाले गाग्री भर्न नपाएको तीन महिना बित्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सातामा २ दिन वितरण गर्दै आएको पानी तीन महिनादेखि ठप्प भएको स्थानीयको गुनासो छ । भक्तपुर नगरका अधिकांशले ट्यांकरको भरमा पानीको उपभोग गर्दै आएका छन् ।

भक्तपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेन्द्र खायमलीका अनुसार लिवाली आवास विकास आयोजनामा ६ सय १० घरधुरी अवस्थित छ । जसमध्ये आयोजनामा निर्मित करिब १ सय ३० घरधुरीमा मात्र खानेपानीको पाइप लाइन बिच्छ्याएको छ ।

पाइप लाइन बिच्छाइएको स्थानमा समेत ९/१० दिनको एकपल्ट पानी आउँछ । बाँकी घरधुरीका बासिन्दा ट्यांकरको पानी किनेर उपभोग गरिरहेका छन् । नगरक्षेत्रभित्र पानीको स्रोत नहुँदा खानेपानीको हाहाकारको अवस्था रहेको वडाध्यक्ष खायमली बताउँछन् । ‘नगरको मुख्य चुनौती खानेपानीको व्यवस्थापन भएको छ,’ उनले भने, ‘काठमाडौं उपत्यका खानेपानी लिमिटेडले लिवाली क्षेत्रमा पाइपसमेत बिछ्याउन सकेको छैन ।’

नगरपालिकाले आवास क्षेत्र आयोजना गर्दा पानीलाई प्राथमिकमा राख्न नसक्दा स्थानीय बासिन्दाले ट्यांकरमा भर पर्नुपरेको उनी स्विकार्छन् । पाइप बिच्छ्याएको ठाउँमा समेत पानी वितरण गर्न छोडेको उनको गुनासो छ ।


भक्तपुर नगरक्षेत्रका बासिन्दा दिनहुँ पानीको समस्या बोकेर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र नगरपालिका धाउँछन् । स्थानीयको डेलिगेसनको सम्बोधन गर्दै भक्तपुर नगरपालिकाले गत जेठबाट नगरको १० वटै वडामा पालैपालो ट्यांकरबाट पानी वितरण थालेको स्यानिटेसन शाखाका वडा निरीक्षक रामकृष्ण प्रजापतीले बताए । नगरपालिकाले रोटेसनका आधारमा टोलटोलमा दैनिक १० वडामा १२ ट्यांकर पानी वितरण गर्दै आएको जनाएको छ ।


नगर क्षेत्रभित्रको पानीको समस्या समाधान तथा व्यवस्थापनका लागि नगरपालिकाले ५ वटा डिपबोरिङ गर्ने कार्य गरेको र आकाशेपानी संकलन तथा प्रशोधन प्रणाली लागु गरेको भक्तपुर नगरप्रमुख सुनिल प्रजापतीले बताउँछन् । भक्तपुर १ वडामा र ख्वपः इन्जिनियरिङ कलेजमा आकाशेपानी संकलन तथा प्रशोधन प्रणाली सुरु भएको उनले बताए । खानेपानीको समस्या समाधानका लागि मेलम्चीको पर्खाइमा रहेको समेत नगरप्रमुख प्रजापती बताउँछन् ।

केयूकेएलको कार्यालय दूधपाटीमा दिनहुँ खानेपानीको समस्या लिएर उपभोक्ताको भीड लाग्ने गरेको छ । खानेपानीको वैकल्पिक व्यवस्था हुन नसक्दा दिन प्रतिदिन खानेपानीको समस्या थपिँदै गएको केयूकेएल भक्तपुर शाखाले जनाएको छ । ‘दैनिक ८० लाखदेखि एक करोड लिटर खानेपानीको माग छ,’ केयूकेएल भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमालयले भने, ‘३० देखि ३५ लाख लिटर मात्र वितरण गर्ने सामर्थ छ ।’

दैनिक ३५ देखि ४० प्रतिशत उपभोक्तालाई मात्र पानी वितरण गरेको उनले बताए । खानेपानीको वैकल्पिक व्यवस्था गर्न नसक्दा ७, ८ दिन बिराएर उपभोक्तालाई पानी वितरण गर्दै आएको उनले बताए । केयूकेएल भक्तपुर शाखाले भक्तपुर, सूर्यविनायकको ५ र ६ वडाका केही भाग, चाँगुनारायणको ५, ७ र ८ वडाका केही उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको जनाएको छ ।

केयूकेएलले नगरकोट मुहानपोखरी र मध्यपुर थिमि बोडेबाट खानेपानी वितरण गर्दै आएको छ । केयूकेएल भक्तपुर शाखाले बोडेबाट दैनिक १५ लाख लिटर र नगरकोट मुहानपोखरीबाट करिब २० लाख लिटर पानी वितरण गर्दै आएको प्रमुख हिमालयले बताए । आपूर्ति कम र माग बढी भएकाले खानेपानीको समस्या अत्यधिक बढी भएको केयूकेएल भक्तपुरले जनाएको छ ।

भक्तपुरमा पानीको माग बढ्दै गएपछि खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय अनामनगर (पीटीडी) को समन्वयमा डिपट्युबवेल निर्माण गरेको जनाएको छ । दूधपाटीस्थित केयूकेएलकै जग्गामा पीटीडीले प्रतिसेकेन्ड ४ लिटर पानी डिपट्यूबवेल र सल्लाघारीस्थित प्रतिसेकेन्ड ६ लिटर पानी निकाल्ने गरी ट्युबवेल खनेको छ । दुवै स्थानको पानी परीक्षण एवं फिल्टर प्लान्टको तयारीमा रहेको र ५ महिनाभित्र सञ्चालन हुने हिमालयले बताए ।


केयूकेएलले तीन महिनादेखि जगाती क्षेत्रमा पानी वितरण गर्न नसके पनि महसुस उठाउन नछोडेको भक्तपुर ७ वडाका वडाध्यक्ष उकेश कवांले बताए । ‘बिग्रिएको ठाउँमा मर्मतसमेत गरेको छैन, पाइप त्यतिकै अलपत्र छोडेको छ,’ उनले भने । जगाती क्षेत्रलगायत स्थानमा डिपबोरिङको पाइप बिग्रिएको र मर्मतको क्रममा भएकाले नियमित पानी वितरणमा ढिलाइ भएको केयूकेएल भक्तपुरले जनाएको छ ।

उपभोक्ताले भने पाँच दिनमा वितरण हुँदै आएको पानी चार महिनायता दस दिनसम्म पनि नआएको गुनासो गरेका छन् । ‘दैनिक ट्यांकरको पानी किन्नुपरेको छ,’ भक्तपुर नगरपालिका ९ च्याम्हासिंहका रोजित प्रजापतीले भने, ‘चुनावअघि खानेपानीलाई मुख्य एजेन्डा बनाउने जनप्रतिनिधिले स्थानीयको समस्यालाई सम्बोधन गरेको छैन ।’ ट्यांकरमा वितरण गरेको पानीले भक्तपुरवासीको तिर्खा नमेटिने उनी बताउँछन् ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:०९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सडकभरि खाल्डैखाल्डा

कालोपत्रे भत्किएर खाल्डो मात्रै बनेको छैन, पहिरो गएको ठाउामा स्तरोन्नति नहुादा सडक हिलाम्मे छ
कान्तिपुर संवाददाता

रसुवा — पासाङल्हामु मार्गको स्याउबारीदेखि स्याफ्रुसम्मको सडक खण्ड मर्मत नहुँदा जीर्ण बनेको छ । सडकमा कालोपत्रे भत्किएर खाल्डाखुल्डी बनेका छन् । पहिरो गएको ठाउँमा स्तरोन्नति भएको छैन । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी पुग्ने सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत गर्छन ।

वर्षात्को समयमा पासाङल्हामु मार्गको यात्रा झनै कठिन हुने गरेको छ । अहिले पासाङल्हामु मार्ग सडक खण्डको विभिन्न ठाउँ हिलाम्मे छ । हिलोमा दिनहुँ सवारीसाधन बाटोमै फसेर सडक अवरुद्ध हुने गरेको छ ।

अहिले खोपाङ भीरमा खाली सवारीसाधन उक्लनै नसक्ने अवस्था छ । सडकमा फसेका सवारीसाधनहरूलाई यात्रु र चालकहरूले डोरीले तानेर निकाल्ने गरिएको छ । ‘सडक हिलाम्मे हुन्छ र खाली गाडी उकालोमा चढ्न सक्दैन,’ कन्टेनर चालक प्रेम बुलुनले भने, ‘खाल्डाखुल्डी नपुरिँदा स्याउ बोकेको लोड कन्टेनर कोल्टिएर दुर्घटना हुने गरेको छ ।’ पासाङल्हामु मार्गको स्याउबारी, राम्चे, ग्राङ र मूलखर्क, खोपाङको भीर, सानो भार्कु लगायत धेरै ठाउंमा पहिरोको समस्या छ ।


त्यस्तै, स्याफ्रुबेंसी रसुवागढी सडक खण्डको अवस्था पनि उस्तै छ । उक्त सडक खण्डमा पहिरोको जोखिम धेरै रहेको छ । सडक जीर्ण हुँदै गएपछि यो खण्डको यात्रा निकै जोखिमपूर्ण बनेको यात्रुहरू बताउँछन् । साँघुरो सडक गाडीलाई साइड दिनका लागि पासिङ जोन नहुँदा चालकहरूले अनेकौं समस्या झेल्नुपरेको छ । ठाउँठाउँमा बनेको खाल्डाखुल्डीले यात्रा झन् जोखिमपूर्ण रहेको चालकहरू गुनासो गर्छन् । पासाङल्हामु मार्ग सिंगल लेनको कच्ची सडक हो । सडकको बीच बाटोमै पुगेर ट्रक तथा कन्टेनर बिग्रन्छन्, साइड दिने ठाउँ हुँदैन घण्टौंसम्म जाम हुने गरेको छ ।


भूकम्पले तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात ०७२ मंसिरदेखि यही मार्गको प्रयोग गरिएको छ । भारतले नाकाबन्दी गर्दा पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने विषयमा पनि निकै चर्चा चलेको थियो । नाकाबन्दीको बेला चीन सरकारले दिएको अनुदानको तेल यही मार्ग हुँदै काठमाडौं पुगेको हो ।


साँघुरो कच्ची सडक त्यसमाथि भूकम्प र ठाउँठाउँमा गएको पहिरोको कारण तहसनहस भएको छ । सडक मर्मत तथा सुधारमा सम्बन्धित निकायले चासो नदिँदा सडक जीर्ण बन्दै गएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । उक्त सडक सदरमुकाम जोड्ने सडक पनि हो । ‘सडकको दयनीय अवस्थाको कारण यात्रुहरूले पनि समस्या झेल्नुपरेको छ,’ उनले भने ।


नाकाबन्दीताका भूकम्पका कारण बन्द भएको रसुवागढी नाका खोल्न र पासाङल्हामु मार्ग स्तरोन्नति गर्ने भन्दै मन्त्रीहरू नाकासम्म पुगेका थिए । सडक स्तरोन्नति गर्ने र ठाउँठाउँमा गाडीलाई साइड दिनका लागि तत्काल पासिङ जोन बनाउने त्यति बेलाको सरकारले योजनासमेत सार्वजनिक गरेको थियो । नाका त सञ्चालनमा आयो तर सडकको अवस्था भने जस्ताको तस्तै छ ।

सरकारले त्यति बेला गरेको सडक स्तरोन्नति गर्ने घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । ‘साँघुरो भीरको बाटोबाट गाडी चलाउनुपर्दा ज्यानकै बाजी थाप्नुपर्छ,’ चालक रामशरण आचार्यले बताए । ‘यो सडकमा खाल्डाखुल्डी धेरै छन्,’ उनले भने । ‘पासाङल्हामु मार्गका लागि पर्याप्त मात्रामा बजेट नआएकाले ठूलाखाले मर्मत हुन नसकेको सडक डिभिजन कार्यालय नुवाकोटले बताएको छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT