कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ हटाएपछि बाटो खुल्यो

हरि गौतम

रुकुम पूर्व — हिउँका कारण ३ महिनादेखि अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । भूमे गाउँपालिका–१, पन्चासेदेखि बागलुङ सिमाना पातिहाल्नसम्म मध्यपहाडी लोकमार्ग खण्डमा मंगलबारदेखि गाडी सञ्चालनमा आएका हुन् । डोजर र एक्साभेटरले हिउँ हटाएपछि सडक खुलेको हो ।

हिउँ हटाएपछि बाटो खुल्यो

मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सिद्धिसाई कन्स्ट्रक्सनले हिउँ हटाएको हो । निर्माण कम्पनीले हिउँ हटाएर स्तरोन्नतिको काम थाल्ने तयारी गरेको छ । गत पुस पहिलो सातादेखि सडक अवरुद्ध थियो ।


लगातार ८ पटक हिमपात भएपछि सडक पूर्णरूपमा ठप्प बनेको थियो । उक्त खण्ड दायाँबायाँ ठूलो जंगल छ । त्यसले पनि हिउँ पग्लिन पाएन । फेरि हिउँ नपर्ने देखिएपछि सडक खुलाइएको निर्माण कम्पनीले जनाएको छ ।


हिउँ हटाएपछि गाडी चल्न थालेको र स्तरोन्नतिको काम पनि सहज हुने कम्पनीका साइड इन्चार्ज पुष्पकुमार शाहीले बताए । हिउँ परेका कारण ३ महिनादेखि उक्त खण्डमा आवागमन बन्द थियो । स्तरोन्नतिको काम हुन सकेको थिएन । आगामी असारसम्म कालोपत्रे गरिसक्ने शाहीको दाबी छ । सडकको दायाँ–बायाँको हिउँ उस्तै छ ।


सडक अवरुद्ध हुँदा जिल्लाबाट काठमाडौं आवत–जावत गर्न झन्डै २ सय किमिभन्दा बढी लामो यात्रा गर्नु परेको थियो । हिउँले बाटो छेकेपछि जिल्लावासी रुकुम पश्चिम, सल्यानमा पर्ने राप्ती लोकमार्ग हुँदै काठमाडौं आउजाउ गर्थे ।

सिस्ने गाउँपालिकादेखि मध्यपहाडी लोकमार्ग हुँदै बागलुङ, पोखरा भएर काठमाडौं पुग्न ४ सय २८ किलोमिटर यात्रा गर्नुपर्छ । राप्ती लोकमार्ग भएर जाँदा ६ सय ३८ किलोमिटर यात्रा गर्नुपर्छ ।


हिउँ हटाइएपछि रुकुमकोटदेखि बागलुङको बुर्तिबाङ, काँक्रीदेखि बुर्तिबाङ तथा सोझो पोखरा, काठमाडौं जानेलाई सजिलो भएको छ । बुधबारदेखि आवतजावत सहज हुने भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए ।

प्रकाशित : चैत्र ७, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?