कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिभावकले चलाएको विद्यालय

बागलुङ — घरपायक नभएकाले यामबहादुर रोकाले छोराछोरीलाई दैनिक डेढ घण्टा पैदल दूरीको विद्यालयमा लैजाने र ल्याउने गर्थे । बाटोको बीचमा जंगल थियो । अभिभावकका साथ लागेर नगएसम्म बालबालिका विद्यालय पुर्‍याउन कठिन थियो ।

अभिभावकले नभ्याएका दिन छोराछोरीको पढाइ छुट्थ्यो । अभिभावकको भेलाले नजिकै विद्यालय खोल्ने निर्णय गर्‍यो ।


२०६७ सालमा अभिभावकले खोलेको युनिक आधारभूत विद्यालय हाल नामजस्तै नौलो मानिएको छ । हाल ७ कक्षासम्म पढाइ हुन्छ । काठेखोला गाउँपालिका–३ को उक्त विद्यालय गाउँपालिकाकै स्तरीय अध्यापन गराइने शिक्षालयमा दरिएको छ । ‘विद्यालय सञ्चालन मात्र गरेर नपुग्ने रहेछ । व्यवस्थापन, भवन निर्माण र गुणस्तरीय शिक्षाको चुनौती पनि अभिभावक मिलेरै पूरा गरेका छौं,’ रोकाले भने, ‘हाम्रो आश्यकताले खोलेको भएकाले विद्यालयका सबै गतिविधिमा साथ दिएका छौं ।’ बस्तीमै विद्यालय खुल्दा धेरै बालबालिकालाई सहज मात्रै भएको छैन, यहाँको स्तरीय शिक्षण पद्धतिले अरू बस्तीका बालबालिका पनि तानेको उनले बताए ।


शिक्षण सिकाइको मापन र अनुगमनका लागि सबै आउन सक्ने विद्यालय बनाउन लागिएको प्रधानाध्यापक भीमबहादुर हमालले बताए । ‘अभिभावक जाग्ने र शिक्षकले मेहेनत गर्दा छोटो समयमै सफल भएका छौं,’ उनले भने, ‘नयाँ विद्यालयमा पढाउँदा कसैले पछुतो मान्ने अवस्था आउन दिँदैनौं ।’ एक दरबन्दी र एक राहत शिक्षक पाएको यो विद्यालयमा अभिभावकले चन्दा उठाएर थप ७ जना शिक्षक राखेका छन् ।


संस्थागत विद्यालयले झैं नर्सरी र केजी कक्षा पनि सञ्चालन गरिएको छ । अंग्रेजी माध्यममा पढाइ हुन्छ । कक्षा १ देखि ३ सम्म ग्रेड शिक्षण प्रणालीका लागि थालनी भएको छ । २ हजार २ सय मिटर उचाइमा अवस्थित धम्जादेउरालीको चिसोमा पढ्ने बालबालिकालाई न्यानो कार्पेटमा बसेर पढ्ने व्यवस्थापनको काम सुरु गरिएको हमालले बताए ।


‘विद्यालय खोलेर गुणस्तर दिन थालेपछि बसाइँसराइ पनि रोकिएको छ,’ उनले भने, ‘गाउँको नजिकमा सामुदायिक विद्यालय नहुने बहाना बनाएर सहर पस्नेलाई रोक्न सकिएको छ ।’ केही समयअघिसम्म बसाइँसराइ अत्यधिक भएको धम्जा देउरालीमा अहिले गाउँलेहरू रोकिएका छन् । अन्यक्र विद्यार्थी घट्दै छन्, यहाँ बढ्ने त्रममा छन् । अहिले यहाँ १ सय ५० विद्यार्थी छन् ।


विद्यालयले दिवा छात्रावास पनि बनाएको छ । चन्दा र श्रमदानकै भरमा बनेको यो विद्यालयमा १० कोठा अभिभावकले बनाएका हुन् । विद्यालयले राम्रो प्रगति गरेको देखेर तत्कालीन जिल्ला शिक्षाले चार कोठे भवनका लागि अनुदान दिएको थियो ।


प्याकेटमा पाइने तयारी खानेकुरा प्रयोग नियन्त्रणका लागि विद्यालयमै खाजा र स्वच्छ पानीको व्यवस्थापन गरिएको छ । ‘अभिभावकहरू शिक्षाको गुणस्तर सुधार्न चिन्तित भएकाले हरेक वर्ष सुधारका कार्यक्रम ल्याएका छौं,’ शिक्षक हीरा भण्डारी भन्छिन्, ‘पुस्तकालय, प्रयोगशाला र खेलकुदका सामग्रीसमेत खरिद गरेर प्रयोगमा ल्याइएको छ ।’ विद्यालय नजिकैको ४० रोपनी सार्वजनिक जमिनमा खेल मैदानका लागि अभिभावकले गाउँपालिकासँग योजना मागेका छन् ।


शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार पुर्‍याउन सकियो भने बसाइँसराइ रोकिने गाउँपालिका अध्यक्ष अमर थापाले बताए । ‘पैदल हिँडेर सदरमुकामबाट एक दिन लाग्ने धम्जा देउरालीमा अहिले दुईवटा मोटरबाटो पुगेका छन् । अझै विकासका योजना लैजाने तयारीमा छौं,’ उनले भने, ‘शिक्षा र स्वास्थ्य सेवा भयो भने गाउँ छाडेर जानेको लहर थामिन्छ ।’


शिक्षक दरबन्दी मिलान गरेर राम्रो शिक्षण गरेका विद्यालयलाई प्रोत्साहन गर्ने उनले बताए । धम्जामै स्वास्थ्य चौकी पनि सञ्चालनमा छ । झन्डै २ करोड लगानीमा स्वास्थ्यचौकीको नयाँ भवन बन्दैछ । त्यसले गाउँलेलाई उत्साह थपिएको स्थानीय प्रेमस्वरी श्रेष्ठले बताइन् ।

प्रकाशित : चैत्र ७, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?