कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिउँ पन्छाउन प्रतिस्पर्धा

‘चुनावमा भएजस्तै प्रतिस्पर्धा विकासमा पनि भइदिँदा जनता सुखी हुन्छन्’
आश गुरुङ

लमजुङ — चुनावमा एकअर्काको प्रतिस्पर्धामा उत्रिएका नेता मनाङमा हिउँ हटाएर बाटो खुलाउन पनि त्यस्तै गरेका छन् । 
मेसिनरी सामान (डोजर/एक्साभेटर) को व्यवस्थापन गरी विकासमा गरिएको प्रतिस्पर्धालाई मनाङीले सकारात्मक रूपमा लिए ।

हिउँ पन्छाउन प्रतिस्पर्धा

मेसिनरी सामान व्यवस्थापन गर्न नपाएका नेताले रकम सहयोग गरेका छन् । गएको वर्ष संघीय संसद्मा निर्वाचित पोल्देन छोपाङ गुरुङले आफ्नै कम्पनी एग्रो मनाङ प्रालिमार्फत डोजर उपलब्ध गराए । तत्कालीन एमालेको प्रतिनिधि बनी उनले मनाङमा पहिलो पटक निर्वाचन जितेका हुन् ।

उनीसँग प्रतिस्पर्धी पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले एक्साभेटर उपलब्ध गराए । कांग्रेस नेतासमेत रहेका टेकबहादुर संविधानसभा निर्वाचन २०७० मा विजयी बनेका थिए । कांग्रेसबाट यस पटक संघीय समानुपातिक सांसद कर्म घलेले मेसिनरी सामग्रीमा डिजेललगायत प्रयोग गर्न एक लाख रुपैयाँ दिए ।

एउटा एक्साभेटर मनाङमा पुल निर्माण गर्दै गरेका क्याराभान निर्माण कम्पनीको छ । उक्त एक्साभेटर मनाङ प्रदेश (ख) बाट निर्वाचित दीपक मनाङे भनिने राजीव गुरुङमार्फत व्यवस्थापन भएको थियो । स्थानीयका अनुसार हिउँ पन्छाउन नेताबीच डोजर प्रतिस्पर्धा चल्यो । करिब २ महिनादेखि बन्द सडक खुलाउने काम भइरहेको छ ।

मनाङ ङिस्याङ गाउँपालिका–६ का अध्यक्ष सोनाम गुरुङका अनुसार हिउँ हटाउन नेताबीच प्रतिस्पर्धाजस्तै भयो । ‘राजनीतिमात्र मात्र होइन, विकासमा पनि प्रतिस्पर्धा हुनुपर्छ,’ उनले भने, ‘राजनीतिमा भन्दा विकासमा प्रतिस्पर्धा भए नागरिकले सुख पाउँछन् ।’

मेसिनरी सामग्रीका अपरेटरसाथै नपुग डिजलको व्यवस्थापन गाउँपालिकाले गरेको ङिस्याङका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार साढे १ सातादेखि माथिल्लो मनाङमा हिमपहिरो, रुखबोट तथा हिउँ हटाएर बाटो खुलाउने काम भइरहेको छ ।

उनका अनुसार हिमपातपछि माथिल्लो मनाङमा माघ ९ देखि सडक बन्द थियो । अहिले खुलायो । चामेबाट २२ किलोमिटर माथि हुम्डेसम्म सवारी सञ्चालनमा आएको छ । हुम्डेबाट करिब ९ किलोमिटर माथिल्लो मनाङ गाउँ र करिब १७ किमि खाङसारसम्म सडक खुलाइए पनि सवारी भने चलेका छैनन् । हिउँ पग्लिएपछि केही दिनमै सवारी आवतजावत हुने स्थानीयले बताए ।

हुम्डेदेखि माथिल्लो क्षेत्र गएपछि टेकबहादुरमार्फत आएको एक्साभेटर खाङसारतर्फ, पोल्देनछोपाङको डोजर पिसाङतिर र क्याराभानको एक्साभेटरले ङावलतर्फ बाटो खुलाउँदै छन् । यसमा अध्यक्ष कान्छा घलेसँगै वडा ३ का अध्यक्ष कृष्ण लामा, वडा ६ का सोनाम गुरुङ, सदस्य कर्मटसी गुरुङ, १ का अध्यक्ष भुजुङ गुरुङ, सदस्य छिरिङ गुरुङ पनि खटिएका छन् । वडा ९ का अध्यक्ष रिन्जेन दोर्जे गुरुङ र मुङजेका प्रेम गुरुङले बेंसीसहरबाट डिजेल पठाउँछन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार बाटो खुलेसँगै पर्यटक आउन थालेका छन् । उनका अनुसार दैनिक ४५ देखि ५० जनासम्म मनाङ गाउँबाट थोराङला (५४१६ मि. उचाइ) पास भएर मुस्ताङ निस्कन थालेका छन् । साताअघि उक्त पदमार्ग खुलाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार करिब २ महिना सडक तथा पदमार्ग बन्द हुँदा स्थानीयले उकुसमुकुसको जीवनयापन गरे । अहिले स्थानीय नेताको अगुवाइमा बाटो खुलाइएको उनले बताए । हिमपातका समय बेंसीसहरदेखि ४४ किमि नासों गाउँपालिका ९, दानाक्युसम्म मोटर चलेको थियो । बेंसीसहर–चामे सडक साताअघि पूर्ण रूपमा खुलेको थियो ।

प्रकाशित : चैत्र ८, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?