कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सगरमाथा चढ्न हालसम्मकै धेरै

सुरज कुँवर

काठमाडौँ — यस वर्षको वषन्तकालीन सिजनमा हिमाल आरोहण गर्न विहीबारसम्म ८ सय ८० जना स्वदेशी तथा विदेशीले अनुमती लिएका छन् । सगरमाथा आरोहणका लागि अनुमती सबैभन्दा धेरै छन् । 

सगरमाथा चढ्न हालसम्मकै धेरै

पर्यटन विभागका अनुसार विहीबारसम्म सगरमाथा आरोहणका लागि ३८ वटा आरोहण दलले अनुमती लिइसकेका छन् । तिनमा ३ सय ६२ विदेशी र १३ जना छन् ।

वषन्तकालिन सगरमाथा आरोहणका लागि अनुमति लिन चैतदेखी खुला गरिएको थियो । अनुमती लिने क्रम अन्तिम चरणमा पुगेको विभागकी निर्देशक मिरा आचार्यले कान्तिपुरलाई बताइन् । ‘यस सिजनमा सगरमाथा आरोहणका लागि जान अनुमति पाउनेको संख्या हालसम्मकै धेरै हो,’ आचार्यले भनिन् ।

सगरमाथासहित २७ वटा हिमालका लागि यस सिजनमा ९८ वटा आरोहण दलले अनुमती लिइसकेका छन् । यी सबै दलमा ८ सय २० आरोहण सदस्य छन् । यी हिमाल आरोहण गर्न अनुमति पाएकामा नेपालसहित ४८ वटा मुलुकका नागरिक छन् । वषन्तकालिन सिजनमा सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर (१२ लाख हाराहारी रुपैया) आरोहण दस्तुर बुझाउनु पर्छ भने नेपालीलाई ७५ हजार तोकिएको छ । सलामी दस्तुरमा सगरमाथा आरोहण सर्वाधिक महंगो हिमालको सूचीमा पर्छ ।

यस सिजनमा विभागले सगरमाथासहित २७ वटा हिमाल चुचुरा आरोहण गर्न गएकाहरूबाट ४८ करोड ७३ लाख रुपैया संकलन गरेको छ । सगरमाथातर्फ लागेका आरोहण दलका सदस्यबाट मात्रै ४३ करोड ६२ लाख रुपैया संकलन भएको छ । विदेशीका लागि वषन्तकालिन सिजनमा ११ हजार डलर दस्तुर तिर्नुपर्ने यो हिमालका लागि विभागले हिउद र बर्खा याममा २७ सय ५० डलरमात्रै लाग्छ ।

व्यवसायीहरूका अनुसार विदेशीले सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाखदेखी १ करोड रुपैयासम्म खर्च गर्छन् । सरकारलाई तिर्ने दस्तुरबाहेक आरोहीहरूले एक्सपिडीसन कम्पनीको लागत, विमा, हिमाल आरोहण गर्ने गियर (सामग्री), नेपाल सरकारले खटाउने सर्म्पक अधिकृतलाई भत्ता, हवाई टिकट लगायत खर्च ब्यहोर्नुपर्छ ।

नेपालमा पछिल्ला वर्ष सर्वाधिक हिमाल आरोहण गराउने सेभेन समिट ट्रेक्सका प्रवन्ध निर्देशक मिङमा शेर्पाका अनुसार, विहीबारसम्म सबैभन्दा धेरै भिडभाड सगरमाथा आधार शिविरमा छ । उनका अनुसार, सगरमाथाबाहेक, ल्होत्से र नुप्चे हिमाल आरोहण गर्नेहरू पनि त्यही पुगेका छन् । ‘लुक्लादेखी माथि खुम्बु क्षेत्रमा मात्रै यतिबेला १० हजार हाराहारी विदेशी, नेपाली, शेर्पा, गाइड, भरिया पुगिसकेका छन्,’ पर्यटन विभागमा सर्वाधिक सलामी दस्तुर बुझाउने सूचीमा रहेका मिङमाले भने ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?