कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वित्तीय क्षेत्रमा बिमाको हिस्सा बढ्दो

यज्ञ बञ्जाडे

काठमाडौँ — मुलुकको कुल वित्तीय प्रणालीमा बिमा क्षेत्रको हिस्सा क्रमिक रूपमा बढेको छ । पछिल्ला चार वर्षमा वित्तीय क्षेत्र विस्तारको तथ्यांकले यही देखाउँछ । बिमा कम्पनीको विस्तारसँगै सोबारे जनचेतना पनि बढेकाले वित्तीय क्षेत्रमा बिमाको हिस्सा बढेको जानकारहरू बताउँछन् । 

वित्तीय क्षेत्रमा बिमाको हिस्सा बढ्दो

सन् २०१८ मा मुलुकको कुल वित्तीय प्रणालीको आकार कुल ४८ खर्ब २८ अर्ब रुपैयाँ छ । त्यसमा बिमा क्षेत्रको हिस्सा ५.३९ प्रतिशत छ । सन् २०१७ मा यस्तो हिस्सा ४.५४ प्रतिशत थियो । यस्तै, सन् २०१५ मा कुल वित्तीय प्रणालीमा बिमा क्षेत्रको हिस्सा ३.४ प्रतिशत रहेकोमा सन् २०१६ सम्म आइपुग्दा बढेर ४.४० प्रतिशत पुगेको थियो ।


अन्य क्षेत्रको तुलनामा बिमाको विस्तार तीव्र रहेकाले समग्र वित्तीय प्रणालीमा बिमा क्षेत्रको हिस्सा बढ्दै गएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘वित्तीय स्थायित्व प्रतिवेदन २०१८’ मा यस्तो उल्लेख छ । यसअघि राष्ट्र बैंकले पुस/माघ महिनामा यो प्रतिवेदन सार्वजनिक गर्दै आएको थियो ।


मुलुकभर सञ्चालित बैंक तथा वित्तीय संस्था, सहकारी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा कम्पनी, पुनर्बिमा कम्पनी र सामूहिक लगानी कोष सबै जोडेर कुल वित्तीय प्रणालीको आकार गणना गरिन्छ । सहकारी, नागरिक लगानी कोष, सञ्चय कोषलगायतले बैंक तथा वित्तीय संस्थामै निक्षेप राख्ने हो । यसकारण कुल ४८ खर्ब २८ अर्ब रुपैयाँ कुल वित्तीय प्रणालीको आकारमा दोहोरोपना पनि रहेको हुन्छ ।


वाणिज्य बैंक स्थिर

नेपालको वित्तीय प्रणालीमा वाणिज्य बैंकको वर्चस्व अत्यधिक छ । सन् २०१८ को कुल वित्तीय प्रणालीमा वाणिज्य बैंकको हिस्सा ६४.२९ प्रतिशत छ । त्यसो त नेपाली वित्तीय क्षेत्रमा सुरुदेखि नै वाणिज्य बैंक समूहले प्रभुत्व जमाउँदै आएको थियो । पछिल्लो दुई वर्षमा कुल वित्तीय क्षेत्रको आकारमा वाणिज्य बैंकको हिस्सा लगभग स्थिर हुनुले यही देखाउँछ ।


राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष (सन् २०१७) कुल वित्तीय प्रणालीमा वाणिज्य बैंक समूहको हिस्सा ६४ प्रतिशत थियो । सन् २०१६ को तुलनामा गत वर्ष वाणिज्य बैंक समूहको हिस्सा ३.२८ प्रतिशत विन्दुले बढेको हो । सन् २०१६ मा यस्तो हिस्सा ६०.७२ र सन् २०१५ मा ४८.८ प्रतिशत थियो ।


सहकारी उतारचढावपूर्ण

सन् २०१८ मा कुल वित्तीय प्रणालीमा सहकारी क्षेत्रको हिस्सा ८.०४ प्रतिशत छ । पछिल्ला चार वर्षको तथ्यांक हेर्दा सहकारीको हिस्सा निकै उतारचढावपूर्ण देखिन्छ ।


राष्ट्र बैंकको प्रतिवेदनअनुसार सन् २०१७ मा कुल वित्तीय प्रणालीमा सहकारीको हिस्सा ९.६८ प्रतिशत थियो । अघिल्लो वर्षको तुलनामा यो १.०४ प्रतिशतले बढी हो । सन् २०१६ मा यस्तो हिस्सा १०.७२ प्रतिशत र सन् २०१५ मा ७.३ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।


सञ्चय कोष

एउटा संस्था भएर पनि नेपाली वित्तीय प्रणालीमा कर्मचारी सञ्चय कोषको बलियो उपस्थिति रहँदै आएको देखिन्छ । सन् २०१८ मा कुल वित्तीय प्रणालीमा कोषको हिस्सा ६.०५ प्रतिशत छ । अघिल्लो वर्षको तुलनामा यस्तो हिस्सा केही घटेको हो । सन् २०१७ मा यस्तो हिस्सा ६.१४ प्रतिशत थियो ।


यस्तै, सन् २०१६ मा कोषको हिस्सा ६.२५ प्रतिशत र सन् २०१५ मा ५.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । योगदानका आधारमा वित्तीय प्रणालीमा वाणिज्य बैंक, बिमा, सहकारी र कर्मचारी सञ्चय कोष प्रमुख क्षेत्रका रूपमा देखिन्छ ।


यस्तै, विकास बैंक, फाइनान्स कम्पनी, लघुवित्तको योगदान केही कम छ । समग्र वित्तीय प्रणालीमा करिब २० प्रतिशत बढी हिस्सा राष्ट्र बैंकको मात्र छ ।

प्रकाशित : असार २, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?