कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विधेयक मन्त्रीले फिर्ता लिने हो कि संसद्ले ?’

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसका नेता शेरबहादुर देउवाले गुठी विधेयक फिर्ता गर्दा सरकारले संसद् छलेको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बुधबार बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता लिने क्रममा संसद् छलेको बताए । 

‘विधेयक मन्त्रीले फिर्ता लिने हो कि संसद्ले ?’

‘संघीय संसद्मा दर्ता भएको विधेयक किन बाहिरबाट फिर्ता लिइयो ?’ उनले भने, ‘विधेयक मन्त्रीले फिर्ता लिने हो कि संसद्ले ?’

देउवाले बुधबार प्रतिनिधिसभामा बोल्दै आफूले पहिले बोल्न समय माग्दमाग्दै प्रधानमन्त्रीलाई बोल्न दिइएको बताए । प्रधानमन्त्री केपी ओलीले मंगलबार बोल्न खोज्दा कांग्रेसले संसद् अवरोध गरेको थियो ।


आफ्ना सभापति बोल्न खोज्दा सत्तापक्षले अडको थापेको भन्दै कांग्रेसले नाराबाजी गरेको थियो । संसद्मा बोल्न नपाएपछि प्रधानमन्त्री ओलीले साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गरेका थिए । बुधबार भने संसद् बैठक सुरु हुनेबित्तिकै सभामुख कृष्णबहादुर महराले देउवालाई बोल्न दिएका थिए ।


देउवाले आफूले बोलेपछि प्रधानमन्त्रीले बोलेको भए जवाफ दिन झन् सजिलो हुने बताए । निकै आक्रामक रूपमा प्रस्तुत भएका देउवाले सत्तापक्षले जबर्जस्ती गरेको आरोप लगाए । प्रतिपक्षले माग गर्दा सरकार डराएको तर्क गर्दै उनले भने, ‘२०४८ सालदेखि संसद्मा रहेका प्रधानमन्त्री केपी ओलीलाई संसदीय प्रक्रिया थाहा छैन र !’ बाहिरैबाट भए पनि विधेयक फिर्ता लिनु सकारात्मक भएको उनले बताए ।


उनले मिडियालाई तर्साउन र धम्क्याउन सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको दाबी गरे । मानव अधिकार आयोगलाई महान्यायाधिवक्ताको कार्यालय मातहत राख्न खोजेको भन्दै उनले आपत्ति जनाए । प्रजातन्त्रमा बोल्न, लेख्न पाउने स्वतन्त्रता रहेकाले मिडिया विधेयक संसद्बाट पारित गराउन नदिने उनले बताए । सुरक्षा परिषद्, मिडिया काउन्सिल, मानव अधिकार र सूचना प्रविधिसँग सम्बन्धित विधेयक फिर्ता लिनुपर्ने उनको भनाइ थियो । ‘मानव अधिकार आयोग संसारभर स्वतन्त्र हुन्छ,’ उनले भने, ‘सबैतिरबाट लोकतान्त्रिक अधिकार खोस्न खोजिएको छ ।’


उनले प्रधानमन्त्रीले सेना परिचालन गर्ने योजना ल्याएको प्रति इंगित गर्दै भने, ‘राष्ट्रपति र राज्यका अरू अंगलाई प्रधानमन्त्री ओलीले विश्वास गरेको देखिएन ।’ उनले विपक्षी दलका नेता बोल्दा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने बताए । देउवाले बोल्दा ओलीलगायत नेकपाका वरिष्ठ नेता संसद्मा उपस्थित थिएनन् । देउवाले भने प्रधानमन्त्री बोल्दा पनि विपक्षी दलको नेता संसद्मा हुनुपर्ने बताए ।


ओलीको युरोप भ्रमण असफल भएको उनले आरोप लगाए । बेलायतमा बेलायती सेनाको बारेमा कुरा नउठाएको र फ्रान्समा राष्ट्रपतिको बदला प्रधानमन्त्री भेटेको प्रसंग जोडदै देउवाले भ्रमण राजकीय नभएको टिप्पणी गरे ।

प्रकाशित : असार ५, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?