कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशबाट उस्तै प्रदर्शन अपेक्षा

एजेन्सी

नटिङघम — मासरफी मोर्टजा नेतृत्वको बंगलादेशी टोली विश्वकपमा अहिलेसम्म उत्कृष्ट देखिएको छ । बिहीबार पाँचपल्टको च्याम्पियन अस्ट्रेलियाको सामना गर्दा उनीहरूले त्यस्तै प्रदर्शन गर्नुपर्नेछ, जस्तो गरिरहेका छन् । सायद त्यो भन्दा पनि बढी । 

बंगलादेशबाट उस्तै प्रदर्शन अपेक्षा

अस्ट्रेलियाले पनि अहिलेसम्म च्याम्पियन शैलीको प्रदर्शन जारी राखेको छ । नियमित खेलाडी मार्कस स्टोनिसको चोटका बाबजुद अस्ट्रेलियाली टोलीमा असर परेको छैन । तर उसका सहायक प्रशिक्षक ब्राड ह्याडिनलाई विश्वास गर्ने हो भने उनले अहिलेसम्म टिमको सर्वश्रेष्ठ प्रदर्शन देख्न पाएका छैनन् ।

मिचेल स्टार्क र प्याट कमिन्सले दुवै एन्डबाट लगातार उच्च प्रदर्शन गरिरहेका छन् । आरोन फिन्च र डेविड वार्नरले ठोस सुरुआत दिइरहेका छन् । स्टिभ स्मिथ मध्यक्रममा एक चट्टानको रूपमा खडा भएका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा अस्ट्रेलियालाई विश्वकपको शीर्ष चारमा पुग्नबाट रोक्न असम्भवजस्तो देखिएको छ । अर्कोतर्फ बंगलादेश भने यस विश्वकपमा आफ्नै परीक्षणमा केन्द्रित छ । अहिलेसम्म उसको हार–जित बराबर छ । जति खेलमा उसले जित हासिल गरेको छ, निकै नै प्रभावशाली देखिएको छ । न्युजिल्यान्डविरुद्ध पराजित हुनुका बाबजुद कठिन चुनौती प्रस्तुत गरेको थियो ।

सोमबार वेस्ट इन्डिजविरुद्ध ३ सय २२ रन सामना गरेपछि उसले यस खेलमा पनि सबै क्षेत्र (ब्याटिङ, बलिङ र फिल्डिङ) मा त्यही प्रदर्शन दोर्‍याउनुपर्नेछ । अस्ट्रेलियालाई अंकतालिकाको शीर्षस्थानमा पुग्नबाट रोक्न त्यो भन्दा अझै उत्कृष्ट प्रदर्शनको जरुरी पर्नसक्छ ।

नटिङघममा बिहीबार वर्षाको पूर्वानुमान छ । जसले गर्दा खेलमा केही समय बाधा हुनसक्छ । दिन ढल्किएसँगै वर्षाको सम्भावना बढी हुने भएकाले इनिङ्सको सुरुआतमा तीव्र बलरलाई फाइदा हुन्छ । अहिलेसम्म यहाँ खेलिएको खेलको नतिजा हेर्दा यस मैदान ब्याटिङका लागि पनि सहज हुनेछ ।


प्लेयर्स टु वाच


सकिब अल हसन (बंगलादेश)

पाँचौंपल्ट विश्वकप खेलिरहेका ३२ वर्षीय अलराउन्डर सकिब करिअरकै उच्च लयमा छन् । बंगलादेशले खेलेका चारै खेलमा उत्कृष्ट प्रदर्शन गरेका सकिबले २ जितमा निर्णायक इनिङ्स खेले । विश्वकप इतिहासकै सर्वाधिक रन पछ्याउँदै वेस्ट इन्डिजलाई पराजित गर्दा सानदार शतक बनाएका उनले इंग्ल्यान्डविरुद्ध पनि शतक हानेका थिए । ३ सय ८४ रनसहित सर्वाधिक रनकर्तामा अगाडि रहेका उनले बलिङतर्फ ५ विकेट लिएका छन् ।



स्टिभ स्मिथ (अस्ट्रेलिया)

बल टेम्परिङ प्रकरणमा एक वर्षको प्रतिबन्धपछि अस्ट्रेलियाली टोलीबाट पहिलो आधिकारिक प्रतियोगिता खेलिरहेका पूर्व कप्तान स्मिथले मध्यक्रममा उत्कृष्ट प्रदर्शन दिइरहेका छन् ।

अहिलेसम्म अस्ट्रेलियाका शीर्षक्रमको ब्याकअपका रूपमा स्मिथले उत्कृष्ट भूमिका निर्वाह खेलेका छन् । विश्वकपमा ५ खेलमा तीन अर्धशतकसहित २ सय ४३ रन बनाएका स्मिथले शीर्ष रनकर्ताको सूचीमा सातौं स्थान ओगटेका छन् ।

प्रकाशित : असार ५, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?