कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

क्लिन फिडको विरोध : २४ घण्टा विदेशी च्यानल बन्द गरिने

विज्ञापन विधेयकलाई लिएर केबल टीभी व्यवसायी र विज्ञापन व्यवसायी दुई ध्रुवमा
विजय तिमल्सिना

काठमाडौँ — सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विधेयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरू आन्दोलित भएका छन् । केवल टीभी व्यवसायीहरूले क्लिन फिडको विरोधस्वरूप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् ।

केवल टीभी व्यवसायीहरूले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरू बन्द गर्ने घोषणा गरिएको छ ।


इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, इन्टरनेट सेवा प्रदायक एसोसिएसनका अध्यक्ष भोजराज भट्ट, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली र डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।


राष्ट्रिय सभामा छलफलका क्रममा रहेको विज्ञापन विधेयकको दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले सरकारले राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने प्रावधान राखिएको छ ।

सोही दफाको उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमले प्रसारण गर्दा डबिङ गरी प्रसारण गर्न नपाइने व्यवस्था

राखिएको छ ।


ऐनको यही विधेयकप्रति केवल टेलिभिजन व्यवसायीहरूले आपत्ति जनाएका हुन् । ‘नेपालमा प्रसारण हुने ८५ प्रतिशत टेलिभिजन विदेशी रहेको र इन्डियन ब्रोडकास्टर फोरमले नेपाललाई मात्रै क्लिन फिड दिन व्यावहारिक र व्यावसायिक रूपमा असमर्थ हुने उल्लेख गरेको,’ विज्ञप्तिमा भनिएको छ । ‘डिजिटलाइसेजनको क्रममा रहेको डिजिटल टीभी व्यवसायको अर्बौं रुपैयाँ लगानी डुब्ने र संविधानले दिएको मनोरञ्जनको हकबाट नेपाली जनता वञ्चित हुनेछन्,’ विज्ञप्तिमा भनिएको छ ।


क्लिन फिड लागू गर्दा नेपालमा लोकप्रिय रहेका भारतीय च्यानलहरू कलर्स टीभी, स्टार प्लस, जी टीभीजस्ता मनोरञ्जनात्मक च्यानलका साथै स्टार स्पोर्ट्स, सोनी टेनजस्ता खेलकुदसम्बन्धी च्यानलहरू प्रभावित हुने दाबी विज्ञप्तिमा गरिएको छ ।


यी च्यानल बन्द हुँदा खुला सिमानाको फाइदा उठाउँदै भारती डीटीएच र सेट अप बक्सहरू अवैध रूपमा जडान हुने केवल टीभी व्यवसायीको दाबी छ ।


नेपालमा सञ्चालन हुने विदेशी च्यानलमा क्लिन फिड लागू गर्ने विषय धेरै समयदेखि चर्चामा रहेको भए पनि हालसम्म लागू हुन सकेको छैन । प्रस्तावित विज्ञापन विधेयकमा पनि तत्कालै नभई राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै क्लिन फिड लागू हुने प्रावधान राखिएको छ ।


क्लिन फिड लागू भए नेपालमा प्रसारण हुने विदेशी च्यानलहरूले विज्ञापन बजाउन पाउने छैनन् । त्यसको साटो नेपालमै उत्पादित विज्ञापनहरू प्रसारण गर्नुपर्ने हुन्छ ।


यही विशेषता कारण नेपाली विज्ञापन व्यवसायीहरूले भने क्लिन फिडको समर्थन गर्दै आएका छन् । नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ क्लिन फिड लागू भए नेपाली विज्ञापन बजार करिब २ अर्बले बढ्ने बताउँछन् । ‘अहिले नेपालको विज्ञापन बजार १२ अर्ब जतिको छ,’ उनले भने, ‘क्लिन फिड लागू भए यसको आधार थोरैले बढ्छ ।’


क्लिन फिड नेपाली विज्ञापन व्यवसायीको बजार बढाउने नभई राष्ट्रियताको मुद्दा भएकाले विज्ञापन संघले यसको लागि पहल गरेको उनले बताए । ‘अरूले बनाएको विज्ञापन हामीले पैसा तिरेर किन हेर्ने ?’ उनी भन्छन् ।


केवल टेलिभिजन व्यवसायी मुद्दामा नछिरी आन्दोलनमा उत्रिएको उनको टिप्पणी छ । ‘उहाँहरूले व्यापार गर्ने हो,’ उनले भने, ‘व्यापार हुन्छ भन्दैमा राष्ट्रियता बेच्नु हुन्न ।’


२०७५ वैशाख २ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १५० वटा विदेशी च्यानलले डाउनलिंक अनुमति लिएका छन् । विदेशी च्यानल वितरणका लागि ५० बढी कम्पनीले सिग्नल वितरण अनुमति लिएका छन् ।


सरकारले गत साउनदेखि विदेशी च्यानललाई नेपालमा प्रसारणका लागि लाग्ने शुल्क वृद्धि गरेको थियो । सरकारी निर्णयअनुसार विज्ञापन समावेश नभएका निःशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्न अनुमति पत्रबापत प्रतिच्यानल १ लाख रुपैयाँ तिर्नुपर्छ ।

प्रकाशित : असार ५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?