कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

करार कर्मचारीको भरमा वायुसेवा निगम

मधु शाही

बाँके — नेपाल वायुसेवा निगम पश्चिमाञ्चल क्षेत्रीय कार्यालयले बाजुरा, जुम्ला, डोल्पा, सिमिकोट, ताल्चा, साँफेबगर, दाङ, रुकुम सल्ले र चौरजहारी गरी ९ वटा स्टेसन हेर्छ । तर यी सबै स्टेसन करार र दैनिक ज्यालादारी कर्मचारीको भरमा चलेका छन् । 

करार कर्मचारीको भरमा वायुसेवा निगम

जुम्लामा एक जना जुनियर सहायक कर्मचारीबाहेक अरू आठ स्टेसनमा करारका कर्मचारी नै इन्चार्जको भूमिकामा छन् । निगम केन्द्रीय कार्यालयले राजनीतिक पहुँच, नातागोता र आफूखुसी कर्मचारी नियुक्त गरेको निगमभित्रकै कर्मचारीको गुनासो छ । पछिल्लो ६ महिनामा पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गत एक जना करार र ६ जना ज्यालादारी कर्मचारी नियुक्त गरिएका छन् ।


नेपालगन्जस्थित निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयअन्तर्गत ६२ जना कर्मचारी छन् । १६ जना स्थायी, ३२ जना करार र १४ जना दैनिक ज्यालामा कार्यरत छन् । यस वर्षदेखि भने निगमले विज्ञापन खोलेर कर्मचारी नियुक्त गर्ने र स्टेसनमा खटाउने योजना बनाउँदै गरेको क्षेत्रीय प्रबन्धक प्रशान्तकुमार विकले बताए । ‘स्थायी कर्मचारी राख्न बैठकमा कुरा उठाइरहेका छौं,’ उनले भने, ‘करारका कर्मचारीबाट कामप्रतिको संवेदनशीलता त्यति नदेखिएको हुँदा कम्तीमा स्टेसनको इन्चार्ज स्थायी कर्मचारी राख्न जरुरी छ ।’


नेपालगन्ज कार्यालयमै सबैभन्दा बढी कर्मचारी करारमा छन् । एयरपोर्ट र कार्यालयका १६ कर्मचारीमध्ये ११ जना करारमा छन् भने ५ जना ज्यालादारीमा । कुनै कर्मचारी त २ दशकदेखि करारमा छन् । आफूहरूलाई आवश्यक तालिम र दक्षता अभिवृद्धिको विषयमा केन्द्रीय कार्यालय मौन रहेको कर्मचारीहरूको गुनासो छ । उडानसम्बन्धी काम गर्न कुनै तालिम नदिई सीधै कार्यक्षेत्रमा खटाउने गरिएको छ । ‘केन्द्रीय कार्यालयले लोड एन्ड ट्रिम सिट तालिम मात्रै दिने गरेको छ,’ कर्मचारीले एक स्वरमा भने, ‘सबै तालिम केन्द्रमै सीमित छ ।’


नेपालगन्ज कार्यालयमा लेखा अधिकृतसमेत छैनन् । दरबन्दी खाली छ । सहायकस्तरका एक जना लेखापालका भरमा लामो समयदेखि काम चलाइँदै आएको छ । प्रबन्धक विकले लेखा अधिकृतका लागि पटक पटक केन्द्रमा कुरा उठाउँदै आएको र अहिलेसम्म आश्वासन मात्रै पाएको बताए । उनले एयरपोर्टमा लोडरको अभाव रहेकोसमेत बताए । केन्द्रले जुनियर सहायक कर्मचारी मात्रै नियुक्त गर्दै आएको छ । ‘एमए ६०’ र ‘टिवनअटर’ एकैपटक ल्यान्ड गर्दा लोडर नपुगेर काममा ढिला हुने प्रबन्धक विकको भनाइ छ । नेपालगन्ज एयरपोर्टमा ५ जना मात्रै लोडर छन् । अझै ४ जना लोडर आवश्यक रहेको उनले सुनाए ।


पछिल्लो समय दुर्गम क्षेत्रमा सहजै फ्लाइट फ्रिक्वेन्सी बढ्न थालेको विकले दाबी गरे । एमए ६० ले नेपालगन्ज–काठमाडौं नियमित सेवा प्रदान गर्दै आएको छ । विगत ३ महिनामा कुनै दिन पनि उडान रद्द भएको छैन । यसले गर्दा टिकट लिन आउनेको घुइँचो थेग्न धौधौ छ । अहिले सातामा बुधबार र शनिबार गरी दुई दिन मात्र सञ्चालनमा आएको छ । त्यसैले कम्तीमा अरू दुईवटा थप उडान गर्नुपर्ने विकले बताए ।


काठमाडौंबाट रुकुम हुँदै नेपालगन्ज आउने सानो जहाज काठमाडौंबाट उडदा एयर ट्राफिक, रुकुमको मौसम र नेपालगन्जको मौसम, त्यसपछि दुर्गम क्षेत्रमा हुने मौसमको खराबीले उडानमा अवरोध सिर्जना हुने समस्या छ । यसको समाधानका लागि नेपालगन्जमा इन्जिनियरिङ बेस बनाएर २ वटा जहाज यहींबाट सुचारु गर्न जरुरी रहेको प्रबन्ध विकले बताए । उनका अनुसार यसो गर्न सके दुर्गम क्षेत्रका जनतालाई सहज रूपमा हवाई सेवा उपलब्ध गराउन सकिनेछ ।

प्रकाशित : असार ९, २०७६ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?