कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुवाछूत हटाउन होमस्टे

प्रताप रानामगर

दमौली — होमस्टे सञ्चालन केका लागि ? अधिकांशको जवाफ हुन्छ– पर्यटन प्रवद्र्धनबाट समुदायको आम्दानी बढाउन । व्यास–१३ आँपस्वाँराको दलित होमस्टेको कुरा भने अलि फरक छ ।

छुवाछूत हटाउन होमस्टे

‘यो छुवाछूत हटाउन हो,’ सामुदायिक दलित होमस्टे व्यवस्थापन समितिका अध्यक्ष रेशमबहादुर विकले भने, ‘दुई वर्ष भो हामीले चलाएको । छुवाछूतको विभेद हटाउन ठूलो काम गरेको छ ।’


आँपस्वाँराका दलित समुदायले पोखरास्थित पर्यटन कार्यालयमा दर्ता गरेर होमस्टे चलाएका हुन् । नौ घरबाट पाहुना राख्न सुरु गरेकामा अहिले १७ घरले होमस्टे चलाएका छन् । ‘आम्दानी सबैले गर्छन्,’ उनले भने, ‘मुख्य कुरा होमस्टे चलाएपछि जागरणको काम भएको छ ।’ खेतीकिसानीको सामान्य दैनिकीमा पनि हीनताबोध गर्ने समुदायलाई होमस्टेले आत्मबल बढाएको उनले बताए ।


होमस्टे सञ्चालनमा आएयता करिब तीन सय पर्यटक बास बसेको उनले सुनाए । अमेरिका, फ्रान्स, जर्मन, जापान, अस्ट्ेरलिया, इन्डोनेसिया, स्विट्जरल्यान्ड र फिनल्यान्डलगायत १८ मुलुकका पर्यटकले आँपस्वाँराको दलित होमस्टेको आतिथ्य लिइसकेका छन् ।


‘दलित समुदायको रहनसहन, जीवनशैली, पेसा र संस्कृति देखाउन पाउँदा हामी कमजोर छैनौं भन्ने आत्मबल बढेको छ,’ अध्यक्ष विकले भने, ‘पुख्र्यौली पेसा आरन, छालाको जुत्ता र नारा बनाउने, कपडा सिलाउने हो भनेर धक नमानी पर्यटकलाई देखाउने गरेका छौं ।’ दलितले परम्परादेखि गर्दै आएका पेसामा फेरबदल आए पनि पुराना कुरा देखाउनकै लागि जतन गरिएको उनले बताए ।


आरनमा हँसिया, कोदालो, फाली र खुकुरी बनाउँदा पर्यटकले आनन्द मानेर फोटो खिच्ने गरेका छन् । होमस्टेमा बस्दा उनीहरूले लोकल कुखुरा, गाउँकै सागपात, गुन्द्रुक र भटमासलगायत परिकार खान रुचाउने व्यवस्थापन समिति कोषाध्यक्ष मधुमाया विकले बताइन् ।


पाहुना आइरहन्छन् भनेपछि घरआँगन सफा राख्ने, आफू, लुगाफाटा र भान्सा सरसफाइमा ध्यान दिने बानी परेको उनले बताइन् । ‘आनीबानीमा ठूलो परिवर्तन छ,’ उनले भनिन्, ‘हामीलाई अरू समुदायले हेर्ने र गर्ने व्यवहार पनि फेरिएको छ ।’


पर्यटकलाई खैंजडी, मादल र बाँसुरी बजाएर स्वागत गरिन्छ । बेलुकी सांस्कृतिक कार्यक्रम देखाइने सञ्चालकमध्येकी विष्णु विकले बताइन् ।


सञ्चालकलाई पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले खानाका परिकार बनाउने प्रशिक्षण दिएको छ । दमौली बजारबाट ५ किमि दूरीमा पर्ने आँपस्वाँरा प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त गाउँ हो । यातायात सहज छ । यहाँबाट सूर्योदय, हिमशृंखला, सेती नदी, दमौली बजार र डाँडाकाँडा देख्न सकिन्छ । नजिकै प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिर पनि छ ।

प्रकाशित : पुस १७, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?