कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वैशाखमा नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने (कार्यतालिकासहित)

गोविन्द पोखरेल

काठमाडौँ — नेपालले अब आफ्नै स्याटालाइट ‘भू–उपग्रह’ उडाउने भएको छ । अगामी वैशाखमा नेपालले पहिले पटक आफ्नै भू–उपग्रह उडाउन लागेको हो । 

वैशाखमा नेपालले आफ्नै भू-उपग्रह प्रक्षेपण गर्ने (कार्यतालिकासहित)

‘बर्डस’कार्यक्रम अन्तर्गत जापानस्थित क्यूसु इन्स्टि्च्यूट अफ टेक्नोलोजी (क्यूटेक) सँगको सहकार्यमा आगामी अप्रिलमा भू–उपग्रह उडाउन लागिएको हो । ‘नेपस्याट–१’ नाम दिइएको यो स्याटालाइट निर्माणका लागि सरकारले नेपाल विज्ञान प्रविधि प्रतिष्ठान नाष्टलाई एक करोड ८२ लाख रुपैया दिएको नाष्टका प्रविधि विभागका प्रमुख प्रा डा रविन्द्र ढकालले जानकारी दिए ।

स्याटालाइटको नेतृत्व नेपालको तर्फबाट क्यूसेटमा स्पेस टेक्नोलोजी इन्जिनियिरिङमा विद्यावारिधि गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठले गरेका छन् । बर्डस् कार्यक्रम अन्तर्गत उनीहरु क्यूटेकमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् ।

विभागका प्रमुख ढकालले कान्तिपुरसँग भने, ‘भू–उपग्रह निर्माणको सम्पूर्ण कार्य सम्पन्न भएको छ । गत अगस्टमा इन्जिनियरिङ मोड्यूल तयार भएर डिसेम्बरमा वातवरणीय परीक्षण सम्पन्न भएको छ । अब पूर्ण रुपमा प्रक्षेपण गर्न सकिन्छ ।’ स्याटालाइटको सकिङ, तापक्रमको अवस्थाको परीक्षणहरु सबै सकिएको उनले बताए ।

यतिबेला स्याटालाइटको तथ्यांकहरु संकलनका लागि चाहिने ग्राउण्ड स्टेशन सम्बन्धि काम भइरहेको नाष्टले जनाएको छ । ग्राउण्डमा स्टेशनले भू–उपग्रहले पठाएको तथ्यांकहरुको विश्लेषण र संकलन गर्छ । यो स्टेशन नाष्टको कार्यालय परिसरमा निर्माण गरिने छ ।

यस्तै स्टेशनका लागि चाहिने आवश्यक प्रविधिक विवरण तयार गर्ने कार्य पनि द्रुत गतिमा अगाडि बढिरहेको ढकालले जानकारी दिए । त्यहाँ आवश्यक पर्ने उपकरण, पूर्वाधार, जनशक्ति र स्टेशनलाई मोनिटरिङ गर्नका लागि नाष्टले इन्जिनियर रोशन पाण्डेलाई त्यस सम्बन्धि प्रशीक्षणका लागि जापान पठाउँदैछ । प्रशिक्षण लिएर पाण्डे स्वदेश फर्किएपछि डाटा संकलन केन्द्र सञ्चालनमा ल्याइने नाष्टको कार्यतालिका छ ।

१० क्युबिक सेन्टिमिटर घनाकार (क्यूबोइड) आकारको उक्त स्टालाइट ‘नानो स्याटालाइट’ हो । छोटो समय र कम लागतमा तयार गर्न सकिने भएकाले पहिलो भू–उपग्रहमा ‘नानो स्याटालाइट’ प्राथमिकतामा पर्ने गर्छ । ‘मेगा स्याटालाइट’ बनाउन १० देखि १५ वर्ष लाग्नुका साथै धेरै अर्ब खर्च हुने हुँदा प्रक्षोपणका बेला जोखिम धेरै हुन्छ । व्यावसायिक रुपमा न्यानो स्याटालाइट निर्माण गर्दा ५ करोड लाग्ने हुँदा प्रक्षोपणका बेला हुने सक्ने सम्भावित क्षति कम हुने उनले बताए ।

स्याटालाइटले तापक्रम, आद्रता, वायुमण्डलीय चापका साथै भौगोलिक अवस्थाको तथ्यांक दिनेछ । यसले बादलको बहाव हेरेर मौसमको जानकारीसमेत दिने ढकालले बताए । यो स्याटालाइटको मुख्य काम भनेको ‘इमेजरी डाटा’ रहेको नाष्टले जनाएको छ । यसलाई ‘टाउन प्लानिङ’ मा पनि प्रयोग गर्न सकिने नाष्टको भनाइ छ ।

यसलाई अन्य धेरै नानो स्याटालाइटहरुसँग कम्युनिकेसन र नेटवर्किङ गर्न सके टेलिकम्युनिकेशन र इन्टरनेटको उपलब्धतामा नेपालले आफैले गराउन सक्ने वातवरण तयार गर्न सकिने ढकालको भनाइ छ,तर त्यो समय भने आइनसकेको देखिन्छ ।

यो स्याटालाइटले हिमनदीको अवस्था, हिमतालको विष्फोटन, हिमपहिरो, हिमाली तथा पहाडी क्षेत्रको जानकारी, भौगोलिक अवस्थाको जानकारीका साथै आगलागी भएको स्थानाहरु समेत पत्ता लगाउन सक्नेछ ।

भू–उपग्रह प्रक्षेपणको अनुभवबाट मुलुकमा भू–उपग्रह सम्बन्धि कानून निर्माणमा सघाउ पुग्ने समेत बताइएको छ ।

यस्तो छ प्रक्षेपण तालिका

नेपस्याट–१ नाम दिइएको यो भूउपग्रहमा नेपाल र नाष्टको लोगो अंकित स्टिकर टाँसिएको छ । फ्रब्रुअरी १८ मा भू–उपग्रह नाष्टले जापानको अन्तरिक्ष संस्था ज्याक्सालाई हस्तान्तरण गर्नेछ । वातावरणीय अवस्था हेरेर मध्य अप्रिलदेखि अप्रिलको् अन्तिम् सातासम्ममा स्याटालाइट प्रक्षेपण गर्ने तयारी छ ।

प्रक्षेपणको जिम्मेवारी अमेरिकी स्पेस कम्पनी अर्बिटल ए टीके अमेरिकाले लिएको छ । कम्पनीको सिग्नस रकेटले स्याटेलाइट उडाउनेछ । स्याटालाइट अन्तरिक्षमा पुगेपछि एक महिनासम्म इन्टरनेश्नल स्पेश स्टेसनमा रहेन छ । स्पेश स्टेशनमा रहेका अन्तरिक्ष यात्रीहरुले पुन: स्याटालाइटको परीक्षण गर्नेछन् ।

मेको अन्त्यमा स्पेश स्टेशनबाट भू–उपग्रहलाई पृथ्वीको कक्षमा छाडिनेछ । त्यसको दुईदेखि ३ तीन दिनपछि तथ्यांकहरु दिन सुरु गर्ने नास्टले जनाएको छ ।


स्याटालाइट पृथ्वीको भू–मध्ये रेखालाई ९० डिग्रीको कोण बनाएर परिक्रमा गर्नेछ भने भएर पृथ्वीको सतहभन्दा करिब ४ सय किलोमिटर माथि हुनेछ । एक दिनमा यो स्याटेलाइट नेपालमा १० मिनेटसम्म रहने ढकालको भनाइ छ । स्याटालाइटमा ४३७ मेघाहर्ज यूएचएफ ब्यान्ड प्रयोग गरिएको छ ।

बर्डस कार्यक्रम संयुक्त राष्ट्रसंघको युनेस्कोले भू–उपग्रह नभएका मुलुकहरुलाई लक्षित गरी सञ्चालन गरेको कार्यक्रम हो । जापानको क्यूटेकसँग सहकार्य गरी भू–उपग्रह निर्माणका लागि पहलकदमी गरेको छ ।


नेपाल सरकारले ६ महिनाअघि भू–उपग्रह निर्माणका लागि एक करोड ८२ लाख रुपैयाँ नाष्टमार्फत क्यूटेकलाई तिरेको थियो । सन् २०१९ मा नेपालको नेपस्याट–१, श्रीलंकाको राभना–१ र जापानको उगिसू भू–उपग्रह यो कार्यक्रम अन्तर्गत प्रक्षेपण गरिंदैछ ।

यसअघि अफ्रिकाका घाना, सेनेगल, नाइजेरिया, मंगोलिया र त्यसपछि थाइलेन्ड र भुटानले यो कार्यक्रम अन्तर्गत भू–उपग्रह प्रक्षेपण गरिसकेका छन् । बर्डस कार्यक्रम अन्तर्गत हरेक ‘ब्याच’ मा जापानले पनि आफ्नै भू–उपग्रह पठाउने गरेको छ ।

प्रकाशित : पुस १७, २०७५ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?