कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलित महिलाको सामूहिक खेती

विप्लब महर्जन

सल्यान — उनीहरू पहिला बालुवा संकलन गर्थे, गिट्टी कुट्थे । सल्यानको शारदा नगरपालिका–६, डौरेडाँडाका १० विपन्न दलित महिला आजभोलि तरकारी खेती गर्छन् । त्यो पनि अर्काकै जग्गामा । उनीहरू मिलेर १३ रोपनी जग्गा भाडामा लिएका छन् । 

दलित महिलाको सामूहिक खेती

पहिलो वर्षमै २ लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ । पहिला भने गिट्टी–बालुवा बिक्री गर्दा दैनिक ३ सय रुपैयाँ आउँथ्यो । तरकारी खेतीमा लागेसँगै दैनिक ५ सय हुने गरेको छ । स्थानीय सुन्तली बादीका अनुसार उनीहरूले जग्गाको भाडा वार्षिक ४५ हजार रुपैयाँ तिरेका छन् ।


५ वर्षका लागि प्रतिव्यक्ति एक रोपनी आठ आनाका दरले जग्गा बाँडेका छन् ।

डौरेडाँडा कबुलियती व्यावसायिक तरकारी समूहकी कोषाध्यक्षसमेत रहेकी सुन्तलीले एक सिजनमा ४० हजार रुपैयाँ कमाइन् । ‘जान्न त म केही जान्दिनँ, पढेकी पनि छैन, बाहिरका कुरा थाहा छैन,’ उनले भनिन्, ‘परिवारको खर्च आफैं धान्न सक्ने अवस्थामा बल्ल पुगेकी छु ।’


उनीहरूले बारीमा टमाटर, बन्दा, साग, आलु, केराउलगायत तरकारी फलाउन थालेका छन् । तरकारी २ महिनाभित्र बिक्रीका लागि तयार हुन्छन् । पतिको सिलाइकटाइ व्यवसायबाट साँझबिहानको छाक टार्न हम्मे हुन्थ्यो । ५० वर्षीया काली दमाईले भनिन्, ‘तरकारी खेतीमा लागेपछि पतिको भर पर्नुपरेको छैन ।’


कालीले अघिल्लो सिजनमा ६० हजार रुपैयाँ कमाएकी थिइन् । ‘रोजगारी खोज्दै बाहिर जानुनपर्ने रहेछ,’ उनी भन्छिन् ।


३६ वर्षीया मीना दमाईका पति मजदुरीका लागि भारत गएकाले तरकारीबाट घरखर्च टार्ने गरेकी छन् । उनले एक सिजनमा ४५ हजार रुपैयाँ हात पारिन् । ‘यो वर्ष पनि विभिन्न जातको तरकारी लगाएकी छु, धेरै कुरा सिक्दै छु,’ उनले भनिन् ।


सुशीलाका अनुसार सामूहिक तरकारी खेतीमा लागेपछि सबै दलित एकजुट भएका छन् ।


उनीहरूले तरकारी श्रीनगर बजारमा लगेर बिक्री गर्दै आएका छन् । ‘चार जनाको परिवार पाल्न अब ढुक्क भएँ,’ उनले भनिन् । उनीहरूको खेतीमा केही प्राविधिक कमजोरी भने छन् । कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत चोपनारायण खनालका अनुसार प्राविधिक कमजोरीका कारण तरकारी धेरै फस्टाउन सकेका छैनन् । मल पनि पुगेको छैन ।


‘अर्काको जग्गा लिएर भए पनि आत्मनिर्भर हुनु उदाहरणीय हो,’ उनले भने । महिलालाई दलित सेवा संघले सुरुमा केही सहयोग गरेको थियो ।

प्रकाशित : पुस १८, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?