कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलवायु सम्मेलन : देशैभर थरीथरी समस्या, समाधानका वैज्ञानिक पहलमा छलफल 

‘कार्यक्रम सोचेभन्दा राम्रो भयो’

गुफाडाँडा, सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु सम्मेलन आइपुग्न जिल्ला समन्वय समिति मुस्ताङको प्रमुख छिरिङ ल्हामो गुरुङलाई तीन दिन लाग्यो । उनी जब मेलम्चीबाट उकालो लाग्दै थिइन्, उनलाई कतै घर ढलेको, कतै पानीका पाइप यत्रतत्र छरिएको देख्दा अचम्म लाग्यो ।

जलवायु सम्मेलन : देशैभर थरीथरी समस्या, समाधानका वैज्ञानिक पहलमा छलफल 

सडकमा उड्ने धुलोले उनलाई खासै तानेन । तर जब २ हजार ५ सय मिटरको उचाइमा रहेको अग्लो डाँडा पुगिन् । वरिपरि नियालिन् । तर, उनले वरिपरि देखिने हिमाल मुस्ताङबाट देखिने हिमालभन्दा धेरै फरक पाइन् । मुस्ताङका हिमाल सेता थिए, यहाँका हिमाल काला । हिउँ थोरै, कालो पहाड धेरै ।’


‘जलवायु परिवर्तनको असर धेरै सिन्धुपाल्चोकमा परेको रहेछ,’ डाँडामा पुगेपछि उनले भनिन्, ‘यहाँबाट देखिने हिमाल हो कि पहाड, मैले त कालो पत्थर मात्र देखेँ ।’ उनका अनुसार मुस्ताङमा हिमाल छ । हिउँ निख्रिसकेको छैन । पहिलाको भन्दा परिवर्तन छ । तर उत्पादनमा असर परेको छ । बालीनाली राम्रो छैन । मुस्ताङ स्याउका लागि प्रख्यात जिल्ला हो । पहिला मार्फेली स्याउ भनिन्थ्यो ।


‘अहिले त स्याउ पनि तलबाट माथि हिमाली भेगतिर सर्दैछ,’ उनले भनिन्, ‘पहिला कात्तिकमै हिउँ पथ्र्यो, अहिले हिउँ नै देख्न छाडिसक्यो, हाम्रो सन्ततिको पालामा त हिउँ एउटा कथामा सीमित बन्लाजस्तो छ ।’ उवा, फापर राम्रो फल्थ्यो । पहिला रासायनिक मलको प्रयोग गर्नु पर्दैन थियो । अहिले रासायनिक मल नहाली बालीनाली सप्रन छाडेको छ । त्यति मात्र होइन, अहिले अपर मुस्ताङमा मच्छड लाग्न थालेको उनले सुनाइन् ।


‘त्यस्तो चिसो ठाउँमा कसरी मच्छड पुग्यो,’ उनले भनिन्, ‘कसरी हुन्छ, जलवायु परिवर्तन न्यूनीकरणमा ध्यान दिन जरुरी छ ।’ उनी मात्र होइनन्, तेह्रथुमका प्रमुख शिव ढुंगाना गुफाडाँडामा सेता हिमाल कालो भएको देख्दा आश्चर्यचकित भए । हिमाल हो कि पहाड । उनलाई छुट्याउन गाह्रो भयो ।


‘यहाँका हिमाल पूरै सुक्खा देखिए, यस्तो हिमाल कालो डाँडो बनेको पहिलोपटक देखेँ,’ उनले भने, ‘तेह्रथुमबाट देखिने हिमालमा अहिलेसम्म हिउँ देखिएको छ । यसलाई लामो समयसम्म टिकाइराख्न च्यालेन्ज छ ।’ समस्या यति मात्र होइन, तेह्रथुममा मूल सुक्ने समस्या धेरै छ ।


हिजोका मूलहरू छैनन् । खोला घट्दो छन् । बाटोघाटो डिजाइन नगरी खन्दा बाढीपहिरोको जोखिम बढी छ । आइतबारदेखि मंगलबारसम्म चलेको सम्मेलनमा ७७ जिल्लामध्ये ७५ जिल्लाका प्रमुख, उपप्रमुख र सदस्यहरूको उपस्थिति रहेको थियो । सम्मेलनले हरेक स्थानीय तहमा जलवायु मापन केन्द्र स्थापना गर्नेसहित १० बुँदे घोषणापत्रसमेत जारी गरेको छ । परिवर्तनको असरबारे वैज्ञानिक खोज अनुसन्धानलाई जोड दिने, जनचेतना बढाउने लगायत त्यसमा उल्लेख छ ।


धनुषाका प्रमुख रामदेव वनरैत यादव तराई मात्र नभई पहाड पनि कालो भएको देख्दा अचम्ममा परे । उनका अनुसार चुरे संरक्षण भएन भने धनुषालाई नोक्सान हुने छ । धनुषामा कोसीबाट पानी ल्याउनुपर्ने बाध्यता छ । रुखहरू सकिँदै गएका छन् । धेरै रुख काटिएका छन् । ‘पानीका मुहान सुक्ने, कम आउने गरेको छ,’ उनले भने, ‘पहिला २०/३० फिट खन्दा पानी निस्कन्थ्यो ,अहिले ५० फिट खन्दा पनि पानी भेटिँदैन ।’ ०७२ सालको भूकम्पपछि यस्तो समस्या आइपरेको हो ।


खोलाहरू सुकेका छन् । सिँचाइको राम्रो व्यवस्था नहुँदा धान, गहुँ लगाउन समस्या छ । यसमा बोरिङबाट पानी लगाउनुपर्ने बाध्यता छ । पहिला खोलाको पानीले हुन्थ्यो । मुख्य बालीको रूपमा रहेको धान, गहुँ, उखु सप्रिन्थ्यो । ‘अहिले राम्रो छैन, यही अवस्था रहे भोकमरी नलाग्ला भन्न सकिँदैन,’ उनले भने । यसलाई न्यूनीकरण गर्नेतर्फ सबैको ध्यान समयै जानुपर्ने उनले सुनाए ।


बाजुरा पनि जलवायु परिवर्तनबाट अछुतो छैन । बाजुराका जिल्ला समन्वय समिति प्रमुख नरेन्द्रकुमार रोकाय जिल्लामा जलवायु परिर्वतनले ठूलो असर गरेको बताउँछन् । गाउँमा हिउँ आयो भने सुविकाल आयो भन्ने प्रचलन छ । हिउँ पर्दा बाली राम्रो हुन्छ । राम्रो उत्पादन हुन्छ ।


रोगहरू लाग्दैन भन्ने चलन थियो । ‘तर हिजो आज गाउँमा हिउँ पर्न त परै जाओस् सेतै हुने हिमाल अहिले काला डाँडा देखिने गरेका छन्,’ उनले भने, ‘जिल्लाको पाण्डुसिंह, जुकोटमा प्रशस्त स्याउ फल्थ्यो, ती ठाउँमा अहिले फलिरहेको अवस्था छैन । स्याउ फलाउन हिमालको छेउछाउ जानुपर्ने अवस्था छ ।’


काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख शिव सुन्दरराज वैद्यका अनुसार जलवायु परिवर्तनले काठमाडौं सहर कंक्रिट सहरजस्तो बनेको छ । तापक्रम बढ्ने घट्ने क्रम जारी छ । प्रदूषण बढी छ । वनजंगल विनाश भइसकेको छ । खेतीयोग्य जमिन मासिएको छ । ‘यसले गर्दा बाढी आउँदा समस्या हुन्छ,’ उनले भने, ‘यो वर्ष काठमाडौं भक्तपुरमा बाढीको समस्या भयो, यसलाई न्यूनीकरणका लागि व्यवस्थित ढलको व्यवस्था गर्नुपर्छ ।’


काठमाडौंमा प्रदूषणको समस्या मुख्य हो । तुसारो देखिन छाडेको छ । जाडोमा हिमाल सेतै भएर टल्किन्थे । असर समग्र रूपमा हिमाली क्षेत्रमा बढी छ ।


‘कार्यक्रम सोचेभन्दा राम्रो भयो’



जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलन सिन्धुपाल्चोकको गुफाडाँडामा तीन दिन चल्यो । ७७ जिल्लामध्ये ७५ जिल्लाका समन्वय समितिका प्रमुख, उपप्रमुख, सदस्यको उपस्थिति रहेको थियो । ७७ जिल्लामध्ये २ जिल्लाका मात्र प्रमुख महिला थिए । अधिकांश जिल्लामा प्रमुख पुरुष थिए भने महिला उपप्रमुख । महासंघका अनुसार महिला प्रमुख भएका जिल्लामा स्याङ्जा र मुस्ताङ छन् । स्याङ्जाकी जिल्ला समन्वय समिति प्रमुख सीता सुन्दास जिल्ला समन्वय समिति महासंघकी केन्द्रीय अध्यक्ष हुन् । उनको नेतृत्वको टोलीले गुफाडाँडामा भव्य जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन गर्‍यो । उनै सीतासँग गरिएको कुराकानी :


जिल्ला समन्वय समिति भनेको के हो ?

स्थानीय तहमा निर्वाचित निकाय हो यो । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको जिम्मेवारी नभएको, समन्वय र अनुमगमनको काम गर्ने हो । यो ७७ वटै जिल्लामा रहनेछ । यसले समन्वय र अनुगमनको काम गर्नेछ भनेर संविधानमै स्पष्ट लेखिएको छ । समन्वय भनेको गाउँपालिका, नगरपालिकाबीचमा विकासका कामदेखि लिएर सबै काम गर्नका लागि स्थानीय तहमा समन्वय गर्ने, जिल्लास्थित सरकारी, संघसंस्था, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गर्ने हो । संघीय सरकार, प्रदेश र स्थानीय तहको बीचमा पनि समन्वयकारी काम गर्ने हो ।


जलवायु परिवर्तनसम्बन्धी सम्मेलन जिल्ला समन्वय समितिले नै गर्नुको कारण ?

समन्वय समितिले गर्ने काम भनेको राष्ट्रिय स्तरमा प्रभाव पर्ने काम नै हो । प्रभाव भनेको सकारात्मक सन्देश दिने काम हो । सबै निर्वाचित जन प्रतिनिधिहरूलाई हरेक कुरामा सचेत पार्न जरुरी छ । जनताको जीवनस्तर व्यवस्थित गर्न कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा सोच हुन जरुरी छ ।


यो जलवायुसम्बन्धी राष्ट्रिय सम्मेलन सिन्धुपाल्चोकको गुफाडाँडामा गरेका छौं । अहिले जलवायु परिवर्तनले प्राणीजगतमा पारेको नकारात्मक प्रभाव र यसले जीवन चक्रममा पर्न सक्ने असरका सम्बन्धमा प्राकृतिक रूपमा हुने परिवर्तनलाई रोक्न सकिँदैन । तर मानव निर्मित प्रदूषणलाई न्यूनीकरण गर्दै व्यवस्थापनका गर्नका लागि सरकारको संघ, प्रदेशदेखि स्थानीय तह सचेत हुन जरुरी छ । त्योअनुसारको जलवायु अनुकूलन हुने खालको कार्यक्रम कार्यनीति बनाउन जरुरी छ । अब बन्ने कार्यक्रममा स्थानीय तहका सरकारहरूले यो विषयमा गम्भीर ढंगले सोचेर त्यसअनुसारको योजना बनाएर अगाडि बढ्न जरुरी छ ।


हिजो संघसंस्थाले गरेका थिए होलान् । ती कार्यक्रमहरू होटलमा हुन्थे । साना कार्यक्रमको आयोजना हुन्थ्यो । कमैले थाहा पाउँथे । अहिले निर्वाचित बडी, त्यसमा जिल्ला समन्वय समिति गर्नुपर्छ भन्ने हो । प्रत्यक्ष स्थानीय सरकारसँग सरोकार राख्ने तह, जिल्ला समन्वय समिति हो । हामीले गर्ने काममध्ये यो महत्त्वपूर्ण थियो । जुन हामीले गर्‍याँै । आउने दिनहरूमा दोस्रो, तेस्रो सम्मेलन गर्दै जाने छौं ।


जलवायु परिवर्तनको असर देखिएको धेरै भयो, यस्तो कार्यक्रम गर्न ढिलाइ भएको होइन ?

ढिला भएकै हो । महासंघको चुनाव भएको एक वर्ष पुगेकै छैन । तर पनि हामीले यस्तो कार्यक्रम गर्न सक्यौँ । यो हाम्रो सुरुवात हो । हामी यस्तै सिर्जनशील काम गर्नेछौं ।


सिन्धुपाल्चोकलाई नै किन रोज्नुभयो ?

देशभर थुप्रै पर्यटकीयस्थल छन् । व्यवस्थित ढंगले अगाडि बढाउने थुप्रै सुन्दर ठाउँहरू छन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी योजना यही छ । जुगल हिमाल देखिने ठाउँ यही हो । यसको भोलिका सम्भावना धेरै छन् । यो कार्यक्रमले प्रचारप्रसार होस् भन्ने हो । यी हिमाल डाँडापाखा भनेको हाम्रा हीरा र सुन हुन् । त्यही भएर लुकेको ठाउँको प्रचार गर्न जरुरी छ । थुप्रै काम गर्नर्ुछ । तर हामीसँग बजेट छैन । सरकारसँग समन्वय गरेर अझै राम्रा काम गर्नेछौं ।


जलवायुसम्बन्धी कार्यक्रम अब के गर्नुहुन्छ ?

गाउँपालिका, नगरपालिकाको सभा हुँदै छ । त्यहाँ केही योजना नयाँ राख्न सल्लाह दिनेछौं । जहाँ जुन क्षेत्रमा जलवायु परिवर्तनले असर गरेको छ । त्यसको अनुकूलन हुने गरी योजना बनाउन सल्लाह दिनेछौं ।


प्रकाशित : पुस १८, २०७५ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?