१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

प्रभुको ‘प्रभाव’

द्वन्द्वकालमा मातृका यादवसँगै मधेसमा संगठन विस्तार गर्न खटिएका प्रभु साह अहिले पनि प्रभाव बलियो बनाउन सक्रिय छन् 
शिव पुरी

रौतहट — हत्या आरोपमा सर्वोच्चबाट सफाइ पाएर जेलबाट छुटेको ‘उपलक्ष्य’मा आइतबार नगरमा बिदा दिएपछि रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह देशभर चर्चामा आए ।

प्रभुको ‘प्रभाव’

उनले बिदा मात्रै दिएनन्, हेलिकप्टर चढेरै नगरमा पुगे । यसलाई उनले आफ्नो प्रभाव र प्रभुत्व देखाउन गरेको प्रयासका रूपमा चर्चा गरिएको छ । मेयर कुशवाहको यो ‘हर्कत’ सँगै चर्चामा तानिएका छन्, रौतहटका प्रभावशाली नेता प्रभु साह ।

नेकपाका प्रदेश २ अध्यक्ष एवं सांसद प्रभु साह जति चर्चित छन् त्यति विवादमा पनि आइरहन्छन् । मेयर कुशवाह कुनै बेला साहका स्वकीय सचिव थिए । यसैले उनको प्रभाव प्रदर्शनलाई साहसँग जोडेर हेरिएको हो । साहलाई सबभन्दा बढी विवादमा ल्याउने घटना थियो– २०६७ असार १२ मा वीरगन्जमा गोली प्रहारबाट भएको काशी तिवारीको हत्या । मेयर कुशवाह त्यही घटनाका लागि जेल परेका थिए ।


वीरगन्जको अशोक बाटिकास्थित शिव–पार्वती मन्दिर परिसरमा विश्व हिन्दु युवासंघ पर्साका अध्यक्ष तिवारीलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानी हत्या गरेका थिए । मोटरसाइकल चालक बाराको हरैयाका अमन कुशवाह पक्राउ परेपछि उनकै बयान आधारमा मेयर कुशवाह र तत्कालीन मन्त्री साह विवादमा तानिए । कुशवाह त्यतिबेला साहका स्वकीय सचिव थिए ।

साहले नैतिकताका आधारमा भन्दै मन्त्री पदबाट राजीनामा दिए । पछि महान्यायधिवक्ताको कार्यालयबाट सफाइ पाए । चार महिनाअघि पनि जंगलसैया–धन्सार सडक विस्तारक्रममा दायाँबायाँका झन्डै ५ सय काँचो सालका रूख काटिएपछि साह विवादमा परेका थिए । उनकै अगुवाइमा सडक चौडा पारिएको थियो । वन कार्यालयको सहमतिबिना सालका रूख काट्न साहका कार्यकर्ता सहभागी थिए ।

सडक उद्घाटनमा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नेता साहले बोलाए । उनकै हातबाट वन र सडकका प्रमुखलाई सम्मान गर्न लगाए । त्यसपछि सडक विस्तारमा सरोकारवालाले मुख खोल्न सकेनन् । सडक फराकिलो पार्ने नाममा काटिएका ठूला सालका रूख रातारात गायब गरिए ।

तत्कालीन वन अधिकृत दीर्घनारायण कोइरालाले त्यतिबेला ‘केही गर्न नसकेको’ बताएका थिए ।

कुशवाह सशस्त्र द्वन्द्वकालदेखि साहका विश्वासिला थिए । माओवादीले २०६७ वैशाख १८ गतेबाट आमहडताल सुरु गरेको थियो ।

त्यही क्रममा विश्व हिन्दु युवासंघका कार्यकर्ताले वैशाख २३ गते बिहान माओवादीको प्रदर्शनस्थल घण्टाघर घेरेर आक्रमण गर्न थालेपछि प्रहरीले बल प्रयोग गर्‍यो । त्यस क्रममा नेता साहसहित झन्डै ५ दर्जन कार्यकर्ता घाइते भए । त्यसबेला संघका अध्यक्ष तिवारी चर्चामा आए । प्रतिकार घटनाले तिवारी माओवादी निसानामा परेको धेरैले अनुमान गरे ।

तर, तिवारी हत्यामा आफ्नो कुनै संलग्नता नभएको उनको दाबी थियो । द्वन्द्वकालमा उनी मातृकाप्रसाद यादवसँगै मधेसमा माओवादी विस्तार गर्न खटिएका थिए । साह तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको विश्वासपात्र मानिन्थे ।

भट्टराई माओवादीबाट अलग भएपछि साह तटस्थ बसे । पछि उनी नेकपा अध्यक्ष दाहालनिकट भए । र, मन्त्री पनि बने । रौतहटमा प्रभाव बलियो बनाउने अभियानमा लागे । यतिबेला उनी नेकपाको प्रदेश २ अध्यक्ष बनेर झन् प्रभावशाली देखिएका छन् ।

साबिक मौलापुर गाविस घर भएका साहकी श्रीमती कविता साह मौलापुर नगरपालिकाकी मेयर हुन् । युद्धकालमा समेत उनी माओवादीको महिला संगठनमा कार्यरत थिइन् । प्रभु साहले श्रीमतीलाई मेयरको टिकट दिएको भन्दै नगरपालिकाका विद्यार्थी नेता धीरज पटेलले पार्टी त्यागेका थिए ।

पटेलले आफूमाथि राजनीतिक पूर्वाग्रह गरेकाले उम्मेदवार हुनबाट साहले वञ्चित गराएको आरोप लगाए । ‘साहले नातावाद र कृपावाद गरेर पाखा लगाउने काम गरे,’ उनले भने, ‘राजनीतिक वृत्तमा उनी हाबी हुन थालेपछि पार्टी परित्याग गरें ।’ त्यतिबेला माओवादीका पुराना नेता विन्देश्वर यादवले समेत पार्टी परित्याग गरेका थिए ।

माओवादीले विस्तार गरेको मधेसी राष्ट्रिय मुक्ति मोर्चाको तत्कालीन महासचिव भएपछि साहले माओवादी नेतृत्वसँग सम्बन्ध बलियो बनाए । उनलाई ‘राजनीतिक बदला लिन सक्ने नेता’ का रूपमा माओवादीमा हेरिन्थ्यो । मधेसमा अन्य दलको प्रतिरोध गर्न उनलाई अघि सारिन्थ्यो । साह पछिल्लो अवस्थाबारे बोल्न भने तयार छैनन् । ‘राजनीतिबारे कुरा नगरौं,’ उनले भने, ‘भेटेर केही भनुँला, अहिले केही भन्नु छैन ।’

युद्धका बेला सहकर्मी अशोक जैसवाल, सत्यनारायण भगत, विन्देश्वर यादवसँग सम्बन्ध बिग्रिएपछि केही समय जिल्ला राजनीति गर्न उनलाई कठिन परेको थियो । ‘पहिला जे भयो भयो, अहिले सम्बन्ध राम्रो छ,’ जैसवाल भन्छन्, ‘एउटै पार्टीमा बसेपछि सम्बन्ध नराम्रो हुने कुरा भएन । हामी दुईको सम्बन्धका बारेमा तपाईंलाई नै बढी थाहा होला ।’

माओवादी शान्ति वार्तामा आएपछि २०६७ चैत ७ गते अपराह्न गौरस्थित राइस मिलमा भएको सभामा मधेसी जनअधिकार फोरमका कार्यकर्तासित भएको झडपमा २७ माओवादी कार्यकर्ताको मृत्यु भएको थियो । त्यस बेला साह र भगत दुवैले एकअर्काविरुद्ध आरोपप्रत्यारोप गरे ।

दुवैबीच लामो समयसम्म वाकयुद्ध चल्यो । भगतले साह र साहले भगतका कारण घटना भएको बताए । एउटै पार्टीमा बसेर दुवैले एकअर्काप्रति शत्रुको व्यवहार गर्न थाले । अहिले भने उनीहरूबीच पहिलेजस्तो द्वन्द्व छैन । २०६४ को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट निर्वाचित साह ०७० को दोस्रो सविधानसभा र २०७४ को संसदीय निर्वाचनमा यही क्षेत्रबाट विजयी भए ।

उनी आफ्नो निर्वाचन क्षेत्रमा विकास गरेको भनेर पनि चर्चामा छन् । उनलाई ‘बाटो बचाउ’ अभियन्ताका रूपमा क्षेत्रमा हेरिने गरिएको छ । अस्पताल, बाटो, पुल निर्माणका लागि उनले आफ्नो क्षेत्रमा ठूला योजना ल्याएका छन् । यसले उनको प्रभाव झन् बढेको नेकपाका केन्द्रीय सदस्य युवराज भट्टराई बताउँछन् ।

प्रकाशित : पुस १९, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?