कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चर्खामा चेली

पर्वत पोर्तेल

झापा — स्थानीय महिलाहरू हरेक बिहान १० बजे मन्दिर पस्छन् । शिवपाञ्चायन परिसरमा भेला हुन्छन् । घरबाटै बोकेर ल्याएका चर्खा बिसाउँछन्, कतिले मन्दिरमै थन्काएको सामान निकाल्छन् । 
एक वर्षजति भयो सीमावर्ती गाउँ डाँगीबारीका २५ जना महिलाको नित्य दैनिकी चर्खामा चल्न थालेको छ । 

चर्खामा चेली

झापाको भद्रपुर नगरपालिका–९ का तीन जना महिला गतवर्ष बाह्र दिनका लागि काठमाडौं गएका थिए । चर्खा चलाउने तालिम लिएर फर्किए । तिनमा बन्दना भट्टराई पनि थिइन् । ‘हामीले सिकेर फर्केको सीप अरूलाई सिकाउन थाल्यौं,’ उनी भन्छिन् । सानोतिनो खेतीपाती भएका र घरगृहस्थी धान्दै आएका स्थानीय अधबैंसे महिलाहरूलाई मन्दिर आँगनमै रोजगारी भएको छ ।


बिहान घरभान्सा सकेर छोराछोरीलाई विद्यालय पठाएपछि उनीहरू मन्दिर धाउने दैनिकी बनिसकेको छ । एउटा चर्खा सहयोग गर्‍यो । हरेक महिलालाई सित्तैमा कपास पनि दिन्छ । धागो कातेपछि तौलेर पारिश्रमिक पनि उपलब्ध गराउँछ । कातेको धागो २ हजार ५ सय रुपैयाँ प्रतिकिलो पाउँछन्, त्यसका लागि महिलाहरू साँझ चार–पाँच बजेसम्म काम गर्छन् ।


एक किलो धागो कात्न दुई–चार दिन लागिहाल्छ ।


चर्खाले उनीहरूको जीवनशैली बदलिदिएको छ । ‘पहिला टीभी हेरेर, अनावश्यक गफ गरेर दिन काटिन्थ्यो,’ निर्मला पोखरेल भन्छिन्, ‘अहिले दिन पनि कट्छ, आम्दानी पनि हुन्छ ।’

सुरुमै तालिम लिन पाएकी बन्दनाले भनिन्, ‘सीप सिकेर गाउँमै आत्मनिर्भर हुन पाउनु हाम्रो सौभाग्य हो ।’


अर्की सहभागी सीता रेग्मीका अनुसार यसबाट परिवार चलाउन पनि सघाउ पुगेको छ । त्यस्तै बबिता आचार्य गाउँघरमै रोजगारी उपलब्ध हुनु राम्रो भन्छिन् ।


गाउँमै कमाइ हुने देखेपछि चर्खामा सहभागी हुन खोज्नेहरू बढ्ने उनीहरूको अनुमान छ । कपास नि:शुल्क दिने संस्थाले धागोको भने मूल्य दिन्छ भनेपछि उसले कुनै व्यापारिक लाभ त पाउला नै । आफूले कातेको धागो कुनै पस्मिना कारखानामा जान्छ कि भन्ने उनीहरूलाई लागेको छ । उनीहरूलाई सहयोग गर्ने त्यस्तो दातृसंस्था कुन हो त ? ‘यसबारे हामी नभनौं होला है,’ उनीहरू एकैस्वर गर्छन् ।

प्रकाशित : पुस २५, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?