कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छाउगोठ भत्के पनि प्रथा उस्तै

सुर्खेत, दैलेख र अछाम — असार दोस्रो साता सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि छाउगोठमै स्थानीय तीन युवाले बलात्कार गरे । बलात्कारपछि किशोरीको स्वास्थ्य अवस्था गम्भीर बन्यो । दुई साता उपचारपछि उनी घर फर्किइन् ।

छाउगोठ भत्के पनि प्रथा उस्तै
  • दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–६ की तुलसा शाहीको गत असारमै छाउगोठमा सुतेका बेला सर्पले डसेर मृत्यु भयो ।

त्यसअघि जेठमा सोही नगरपालिका–३ की लालसरा विकले गोठमै सर्पको डसाइले ज्यान गुमाइन् ।


छाउगोठ बस्दा यो वर्ष घटेका यी तीन प्रतिनिधिमूलक घटना हुन् । घटनाको केही समयसम्म गाउँबाट छाउपडी हटाउने विषयमा विभिन्न कार्यक्रम आयोजना गरिए । सबैको चासो यिनै घटनामा केन्द्रित भयो । अहिले यी गाउँमा छाउपडी कायमै छ । महिनावारी हुँदा घरदेखि टाढाको सानो छाप्रोमा कम्तीमा पाँच दिनसम्म बस्नुपर्ने बाध्यता छ । झ्यालढोका नहुने भएकाले छाउगोठ अत्यन्तै असुरक्षित मानिन्छ ।


मुक्त घोषणा गरिएका सुर्खेतका गुटु, बाबियाचौर, तातापानीलगायत आधा दर्जन गाउँमा छाउपडी प्रथा हटेको छैन । छाउगोठ बस्दा विभिन्न स्वास्थ्य समस्या आउने र महिला असुरक्षित हुने थाहा भए गाउँलेले नभत्काएको स्थानीय अगुवा खगेन्द्र पुन बताउँछन् । ‘किशोरी बलात्कृत भएको गाउँमा छाउगोठ कायमै छ,’ उनले भने, ‘अभियान हुन्छ, गोठ भत्किन्छन् । केही समयपछि नयाँ बन्छन् ।’ गोठ भत्काउने होइन, अन्धविश्वास तोड्न सक्नुपर्ने उनले बताए ।


चौकुने गाउँपालिका–६, भापरलाई चार वर्षअघि छाउपडीमुक्त घोषणा गरिएको थियो । त्यो एक वर्ष टिकेन । अभियानक्रममा गैरसरकारी र सरकारी निकायबाट करिब १० लाख रुपैयाँभन्दा बढी खर्च भएको थियो । साविकको गुटु गाविस कार्यालयले भत्काएको एक महिनामै स्थानीयले नयाँ छाउगोठ बनाए । २० घरधुरी रहेको भापरमा चारवटा छाउगोठ छन् । महिनावारी भएका बेला महिला ६ दिनसम्म छाउगोठमा बस्ने गरेको स्थानीय प्रतिमा वयकले बताइन् ।


‘छाउगोठ भत्काएर हाम्रो मन फेरिने हो र,’ उनले भनिन्, ‘वर्षौंदेखि मान्दै आएको रीतिलाई एकै दिनमा कसरी छोड्ने ?’ भापरका धर्मराज शर्माले आफ्नो सबै जग्गा ‘श्री बन्डाली देवताको गुठी’ को नाममा भएकाले पुराना प्रथाप्रति स्थानीयको बढी विश्वास रहेको बताए । ‘नजिकै बन्डाली देवताको मन्दिर छ,’ उनले भने, ‘महिनावारी भएका बेला छाउ नबसे अनिष्ट हुने हो कि भन्ने त्रास छ ।’ आफूहरूले पटकपटक प्रयास गर्दा पनि महिलाको मन परिवर्तन गर्न नसकेको उनले बताए ।


साविकको गुटु गाविसमार्फत सञ्चालन गरिएको छाउपडीमुक्त गाउँ घोषणा अभियानका संयोजक सरुण बडुवालले पुरानो मान्यता तोड्न नसकेकाले स्थानीयवासीले पुन: छाउगोठ बनाएको बताए । स्थानीय अगुवा झपेन्द्रबहादुर वयकका अनुसार महिनावारी भएका बेला महिला घरभित्र बस्न मान्दैनन् । ‘अभियानका बेला केही समय घरमै बसेका केही महिला बिरामी परे,’ उनले भने, ‘त्यसैले फेरि गोठमै बस्न थाले ।’


गुटुकी लक्ष्मीदेवी उपाध्यायले महिनावारी भएका बेला घरभित्र बस्दा देवीदेवताले अनिष्ट गर्ने भएकाले गोठमा बस्ने गरेको दाबी गरिन् । ‘हामीलाई पनि कष्ट सहेर बस्न रहर छैन,’ उनले भनिन्, ‘पुरानो थिति नमान्दा अनिष्ट हुन्छ कि भन्ने डर हुन्छ ।’ उनले सामूहिक र सुरक्षित छाउगोठ बनाउन गाउँपालिकासँग माग गरिन् ।


‘सुरक्षित घर बनाइदिए पुराना गोठ भत्काउँछौं,’ उनले भनिन् । चौकुने–६ का वडाध्यक्ष इन्द्रप्रसाद ढकालले सामाजिक विकृति रोक्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘अभिभावकको दबाबका कारण किशोरीहरूलाई छाउगोठ बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘यो वर्षदेखि सचेतना कार्यक्रमलाई अझै प्रभावकारी बनाउँछौं ।’


स्थानीय तहको प्राथमिकता कम

छाउगोठमै दुई महिलाले ज्यान गुमाएको चामुन्डा विन्द्रासैनी नगरपालिकाले छाउपडीविरुद्ध अभियानमा एक रुपैयाँ पनि छुट्याएको छैन । महिनावारी भएका महिला अहिले पनि पाँच दिनसम्म साँघुरा छाउगोठमा बस्छन् । अघिल्लो वर्ष राकममा छाउविरुद्ध अभियानमा लागेका महिला आफैं छाउगोठमा बस्न थालेका छन् ।


दैलेखका ११ वटै स्थानीय तहले छाउगोठविरुद्धको अभियानलाई प्राथमिकता दिएका छैनन् । स्थानीय सरकार गठन भएपछि छाउपडीविरुद्ध अभियान सेलाएको छ । जनप्रतिनिधिको प्राथमिकतामा नपर्दा समस्या ज्युँका त्युँ रहेको स्थानीय बास्ना थापाले बताइन् । ‘महिला निर्णायक तहमा हुँदा पनि समस्या घटेको छैन,’ उनले भनिन्, ‘छाउपडीविरुद्ध शीर्षकमा बजेट नहुँदा अभियान ओझेलमा परेको छ ।’


आठबिस नगरपालिका उपप्रमुख दीपा बोहराले पुरातन सोचका कारण यो प्रथा हट्न नसकेको बताइन् । ‘छाउपडी, बालविवाह, जातीय विभेद र लैंगिक हिंसा कायमै छन्,’ उनले भनिन्, ‘लामो समयदेखि विश्वास गरिँदै आएकाले हटाउन समय लागेको हो ।’


स्थानीय सरकार गठनपछि जिल्लाका ९० वटै वडामा छाउपडीविरुद्ध कार्यक्रम सञ्चालन गरिएको छैन । जिल्लामा चार सयभन्दा बढी छाउगोठ रहेको जिल्ला समन्वय समितिको तथ्यांक छ । चामुन्डा विन्द्रासैनीकी उपप्रमुख तारा शाहीले छाउपडी शीर्षकमा रकम नछुट्याए पनि लक्षित वर्गको रकमले अभियान सञ्चालन गर्ने दाबी गरिन् ।


गोठ भत्काएर छाप्रो

छाउगोठमुक्त घोषणा गरिएका अछामका साविक ७५ मध्ये ३१ गाविसका महिला अहिले झाडीमा स्याउला र त्रिपाल टाँगेर बस्न थालेका छन् । कतिपय ठाउँमा सामूहिक छाउगोठ निर्माण भइरहेको छ । महिलाले घरभित्र नबस्ने निर्णय गरेका छन् ।


बलाताकी नन्दा साउदले चार वर्षअघि गाउँका महिलाले महिनावारी हुँदा घरभित्र नबस्ने सल्लाह गरेकाले आफू मात्रै घरमा बस्दा गाउँ–समाजबाट अलग हुनुपर्ने अवस्था आउने बताइन् । ‘गोठ भत्काएपछि झन् दु:ख हुन थाल्यो,’ उनले भनिन्, ‘परम्परागत रीति छोड्न नसकिँदो रहेछ ।’


ढकारीकी सिर्जना योगीको माइती नेपालगन्ज हो । उनले माइतमा कहिल्यै छाउ (महिनावारी) बारिनन् । विवाह गरेर ढकारी आएपछि बार्न बाध्य भइन् । ‘माइती घरमा हुँदा छाउगोठमा बस्छन् भन्ने सुनेकी थिएँ,’ उनले भनिन्, ‘खुट्टा तान्न नमिल्ने सानो ठाउँ, सोचेभन्दा नितान्त फरक र अप्ठयारो । धेरै दिन रोएर बसेकी छु ।’


जनप्रतिनिधिलाई कानुनबारे बुझाउन नसक्दा छाउपडी प्रथा नियन्त्रणमा कठिनाइ भएको ढकारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी साउद बताउँछिन् । ‘टोलटोलमा जनप्रतिनिधि हुनुहुन्छ, उहाँहरूले मात्रै बोल्न सकेको भए धेरै परिवर्तन हुन्थ्यो,’ उनले भनिन्, ‘महिला जनप्रतिनिधिले नै प्रथा छोड्न सकेका छैनन् ।’


छाउगोठमै महिलाले ज्यान गुमाउनुपरेका कारण आएको कानुनलाई कार्यान्वयन गर्न चुुनौती देखिन छ । एक वर्षपहिले छाउपडी कुप्रथाविरुद्ध कानुन बनाउँदा खुसियाली मनाएका महिला अहिले उजुरी गर्न सकिने अवस्था नभएको बताउन थालेका छन् ।

प्रकाशित : पुस २६, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?