कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विवेकशील साझाले भन्यो, 'थापाले नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद'

काठमाडौँ — विवेकशील साझा पार्टीले संयोजक उज्ज्वल थापाले नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुखद् अवस्था भएको बताएको छ ।प्रवक्ता सूर्यराज आचार्य शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीमा रहेका मतभिन्नताहरुलाई सम्बोधन गर्न बोलाइएको केन्द्रीय समिति बैठकमा सहभागी नभई संयोजक थापाले नयाँ दल दर्ता प्रक्रिया थाल्नुले आश्चर्यचकित पारेको बताएका छन् ।

विवेकशील साझाले भन्यो, 'थापाले नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद'

'हामीलाई आशा एवं विश्वास थियो, आगामी बैठकमा संयोजक थापालगायत केन्द्रीय सदस्यले आफ्ना भनाइ राख्नुहुनेछ, केही असन्तुष्टि रहेका भए छलफल गर्नुहुनेछ र पार्टीलाई गतिशील र एकताबद्ध गर्न मद्दत गर्नुहुनेछ' विज्ञप्तिमा भनिएको छ, 'तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था हो ।' उनका अनुसार पार्टी केन्द्रीय समिति बैठक पुस ३० गतेलाई बोलाएको छ ।


पार्टी नेतृत्वप्रति असन्तुष्ट थापा समूहका १६ केन्द्रीय सदस्यले शुक्रबार निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । पार्टीका केही नेताहरु बाहिरिएपछि प्रवक्ता शर्माले वैकल्पिक पार्टी निर्माणको पवित्र उद्देश्यलाई घात भएको भन्दै प्रवक्ता आचार्यले पार्टी निर्माणमा लामो समयदेखि क्रियाशिल युवा र मतदाताप्रति पनि अन्याय भएको टिप्पणी गरेका छन् । थापा समूहले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्‍याएको आघात र धोकापूर्ण कार्यको इतिहासले मूल्यांकन गर्नेसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ।


प्रवक्ता आचार्यले विवेकशील साझा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजकहरू आ–आफ्नै जिम्मेवारीमा यथावत क्रियाशील रहेको प्रस्ट्याएका छन् । उनले आगामी बैठकले पार्टीको राजनीतिक तथा सांगठनीक अवस्थाको समग्र समीक्षा गर्नुका साथै केन्द्रीय समिति विस्तार गरी आगामी कार्ययोजना र रणनीति तयार गरेर अगाडि बढ्ने विश्वास दिलाएका छन् । उनले पार्टीको पछिल्लो विकसित घटनाक्रमबाट कत्ति पनि विचलित नभई जिम्मेवारीप्रति सचेत रहने विश्वासमेत व्यक्त गरेका छन् ।

प्रकाशित : पुस २७, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?